२०८० आश्विन १२
September 29, 2023, Friday

मनसुनजन्य घटनाः सबैभन्दा ठूलो मानवीय क्षति

मनसुनजन्य घटनाः सबैभन्दा ठूलो मानवीय क्षति

काठमाडौं,असोज २१
नेपालमा मनसुनजन्य घटनाका कारण यसवर्ष दशककै सबैभन्दा बढी मानवीय क्षति हुन पुगेको छ । कोरोना कहरका बीच आएको भारी वर्षासँगैको बाढी, पहिरो, डुबान र चट्याङले ठूलो मानवीय क्षति गराएको हो । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालका ४९ जिल्ला प्राकृतिक विपद्बाट प्रभावित बन्न पुगे ।

कूल बाढीरपहिराका मात्रै ५८० घटना भए । प्रारम्भिक विवरणअनुसार कूल ५१४ घरमा क्षति पुगेको जनाइएको छ । सरकारले प्रभावितका लागि झण्डै रु सात करोड राहत वितरण गरेको छ । मुख्यगरी भेल पहिराले ठूलो क्षति पु¥याएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

पहिराले सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति पुर्यायो भने बाढीले बाग्लुङमा बढी क्षति गर्यो । सिन्धुपाल्चोकमा सबैभन्दा बढी ७२ को मृत्यु भएको छ भने ३९ अझै बेपत्ता छन् । गृहमन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मनसुनजन्य विपद्बाट मुलुकका ४९ जिल्लामा ४०२ ले ज्यान गुमाएका छन्, १०१ जना बेपत्ता रहेका र ४४६ घाइते भएका छन् । प्रारम्भिक प्रतिवेदनअनुसार कूल ५१४ घर क्षति भएको जनाइएको छ ।

त्यसमध्ये पहिराले ठूलो मानवीय क्षति गरायो । वैशाखयता पहिराबाट मात्रै २९५ जनाले ज्यान गुमाए । पहिरामा परेर ६४ बेपत्ता भए भने २२३ जना घाइते भएका छन् । बाढीबाट ४२ को मृत्यु, ३७ बेपत्ता र ११ घाइते भए । यस्तै चट्याङबाट ६५ को मृत्यु र २१२ जना घाइते भएको तथ्याङ्क छ ।

मुख्यगरी गत जेठ ३० बाट नेपालमा मनसुन सक्रिय भएको थियो । अधिकांश घटना मनसुन सक्रिय भएपछि नै भएका छन् । यसपाली यो समयमा औषतभन्दा धेरै वर्षा भएकाले पहिराका घटना बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जेठ ३० पछि अहिलेसम्म विपद्बाट ३६७ को मृत्यु भएको तथा १०० जना हराइरहेका तथ्याङ्क छ । कूल ३२४ जना घाइते भएका छन् ।

मनसुनपछिको पहिरामा परेर २९३ को मृत्यु, ६४ बेपत्ता र २२२ घाइते भए । बाढीबाट ३९ को मृत्यु, ३६ बेपत्ता र नौ घाइते भए । चट्याङबाट ३५ को मृत्यु र ९३ जना घाइते भएको विवरण छ । विपद् जोखिम व्यवस्थापन विज्ञ कृष्ण देवकोटा पानीको निकासमा भएको अवरोध र वातावरणमैत्री विकास हुन नसक्नु नै विपद्जन्य घटनाको प्रमुख कारण रहेको बताउँछन् ।

जताततै डोजरको प्रयोग गर्दा त्यसले बाढी÷पहिराको जोखिम बढाएको छ । यस्तै एकै ठाउँमा अतिवृष्टि भएकाले पनि कतिपय भेल पहिरो आएको पाइएको भूगर्भविद्को भनाइ छ । प्राधिकरणका प्रमुख पोखरेल पर्वत, सिन्धुपाल्चोकका केही ठाउँ र अन्य केही जिल्लामा छोटो समयमा एकै ठाउँमा धेरै पानी पर्दा डाँडो नै सोहोरिएर भेल पहिरो खसेको बताउँछन् ।

गण्डकी प्रदेशमा ठूलो क्षति

प्राधिकरणबाट प्राप्त विवरणअनुसार यसपाली मनसुनजन्य विपद् ९बाढीपहिरो० का कारण सात प्रदेशमध्ये गण्डकी प्रदेशले ठूलो क्षति बेहोरेको छ । उक्त प्रदेशमा बाढी र पहिरामा मात्रै १२२ जनाले अकालमा ज्यान गुमाएका छन् । प्रदेश नं १ र २ बाहेक अन्य प्रदेशमा भने धेरै मानवीय क्षति भएको छ । चट्याङका घटनाबाहेक प्रदेश नं १ का झापा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा धनकुटा, सुनसरी, मोरङ र ताप्लेजुङगमा गरी छ जनाको मृत्यु, १२ बेपत्ता र १५ जना घाइते भएका छन् । विपद्जन्य घटनाबाट १४ घरमा क्षति पुगेको छ ।

यस्तै प्रदेश नं २ मा सर्लाही, धनुषा, रौतहट र सिराहामा विपद्का घटना भएका छन् । विपद्बाट उक्त प्रदेशमा एक बेपत्ता र चार जना घाइते भएका छन् । दुई घरमा क्षति पुगेको जनाइएको छ । वाग्मती प्रदेशका सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, मकवानपुर र काभ्रेपलाञ्चोकमा विपद्जन्य घटना भए । सिन्धुपाल्चोकमा मात्रै ७१ जनाको मृत्यु भयो भने अझै ३८ जना बेपत्ता छन् । वाग्मती प्रदेशमा मात्रै ८५ जनाको मृत्यु, ४० बेपत्ता र १९ घाइते भए । कूल १३० बढी घरमा क्षति भएको प्राधिकरण प्रमुख पोखरेलले बताए ।

गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा पहिरो गएर क्षति पुर्याएको छ । उक्त प्रदेशका पर्वत, कास्की, गोरखा, तनहुँ, म्याग्दी, नवलपुर, स्याङ्जा, लमजुङ, बाग्लुङ र मुस्ताङमा क्षति पुगेको छ । गण्डकीको सबैभन्दा बढी बाग्लुङमा ३४ जनाले ज्यान गुमाएका छन् भने अझै १७ जना हराइरहेका छन् । त्यसपछि म्याग्दीमा ३१ जनाको मृत्यु भएको छ । उक्त प्रदेशमा कूल १२२ जनाले ज्यान गुमाए । अझै २४ जना हराइरहेका छन् भने ५७ जना घाइते भए । त्यहाँ कूल १८४ घरमा क्षति पुगेको छ ।

लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, रोल्पा, प्यूठानमा गरेर ३२ जनाको मृत्यु, दुई बेपत्ता र १९ जना घाइते भएका छन् । कूल १२ घरमा क्षति पुगेको जनाइएको छ । कर्णाली प्रदेशमा दैलेख, जाजरकोट, सुर्खेत, सल्यान, रुकुमपश्चिम, डोल्पा र कालिकोटमा विपद्जन्य घटना भएका छन् । उक्त प्रदेशमा कूल ५९ ले ज्यान गुमाएका छन् । अझै १२ बेपत्ता रहेका र ३२ जना घाइते भएका छन् । कूल ३८ घरमा क्षति पुगेको जनाइएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका दार्चुला, बझाङ, डोटी, बाजुरा, कैलाली, बैतडी र अछाममा विपद्जन्य घटना भए । उक्त प्रदेशमा ३३ को मृत्यु भयो भने ११ जना हराइरहेका छन् । कूल २८ जना घाइते भएका छन् । त्यहाँ ११२ घरमा क्षति पुगेको जनाइएको छ । प्राधिकरणले अझै विवरण पूर्ण अध्यावधिक हुन बाँकी रहेको जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापाले भौतिक क्षतिको विवरण अझै धेरै रहेको बताउँदै अध्यावधिक गर्न निर्देशन दिएका छन् । गृहमन्त्रालयले अन्य मन्त्रालयलाई क्षतिको विवरण उपलब्ध गराउन १५ दिनको समयसीमासमेत दिएको छ । (रासस)

Related News

कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
  • २०७७ आश्विन २१, बुधबार ११:५७ गते

नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...

स्यार्पु पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव शुरु, मुख्यमन्त्री शर्माद्वारा उट्घाटन
स्यार्पु पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव शुरु, मुख्यमन्त्री शर्माद्वारा उट्घाटन
  • २०७७ आश्विन २१, बुधबार ११:५७ गते

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ को बीचमा रहेको स्यार्पु तालको पर्यटन पवर्द्धन गर्नका लागि स्यार्पु पर्यटन...

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
  • २०७७ आश्विन २१, बुधबार ११:५७ गते

करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण...

TOP