२०८० आश्विन १४
October 1, 2023, Sunday

प्रा डा. केसीको आन्दोलन : छिटो सहमति गरेर अनशन तोडाउने प्रयास

प्रा डा. केसीको आन्दोलन : छिटो सहमति गरेर अनशन तोडाउने प्रयास

काठमाडौँ, असोज २३
सरकारले बुधबार गठन गरेको वार्ता टोली र अनशनरत प्रा डा गोविन्द केसीपक्षीय प्रतिनिधिमण्डल सकेसम्म छिटो सहमति गरेर अनशन तोडाउने प्रयासमा जुटेका छन् । प्रा डा. केसीको मागका विषयमा सहमति जुटाउन दुवै वार्ता टोलीबीच बिहीबार बिहान १०ः३० बजेदेखि वार्ता भएको थियो । दिनभरजसो नै दुई टोलीबीच प्रा डा केसीका मागका विषयमा बुँदागत रुपमा छलफल गरिएको वार्ता टोलीका एक सदस्यले जानकारी दिनुभयो । राति अबेरसम्म भएको वार्ताले निकास ननिकाले पनि सकारात्मक दिशातर्फ अघि बढेको र आज पुनःवार्ता बस्ने गरी टुङ्गिएको थियो ।

प्रा डा. केसीका तर्फबाट वार्ता टोलीमा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले आज वार्ता बस्ने तय भए पनि समय निश्चित नभएको राससलाई जानकारी दिनुभयो । “हिजो दुई पक्षबीच जे निष्कर्ष निकालिएको थियो, माथिल्लो तहमा रिपोर्टिङ गरेर आज पुनःवार्ता बस्ने सहमति भएको थियो तर सरकारी टोलीबाट अहिलेसम्म कुनै जानकारी आएको छैन, हामी वार्ताको तयारीका साथ बसेका छौँ”, अधिवक्ता अर्यालले भन्नुभयो । अर्यालले सकेसम्म छिटो निकास निकालेर अनशन तोडाउने पक्षमा दुवै टोली रहेको जानकारी दिनुभयो । सरकारले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीका संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

सरकारी टोलीमा सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलीप शर्मा सहभागी हुनुहुन्छ । सरकारले टोली गठन गरेलगत्तै प्रा डा केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको थियो । उक्त टोलीमा डा अञ्जनीकुमार झा, अधिवक्ता अर्याल र नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की सहभागी हुनुहुन्छ । चिकित्सा शिक्षा सेवा सुधारका लागि प्रा डा केसीले भदौ २९ गते जुम्लाबाट आफ्नो १९औँ अनशन शुरु गर्नुभएको थियो । प्रा डा. केसीले चिकित्सा शिक्षा सुधारका विषयमा ६ बुँदे माग प्रस्तुत गर्नुभएको छ ।

अनशन शुरु भएको आठौँ दिनमा उहाँलाई सरकारले काठमाडौँ ल्याएको थियो । उहाँले निःशुल्क र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँच, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायत शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन शुरु गरिनुपर्ने, प्रदेश नं २ र गण्डकी प्रदेश तथा विभिन्न विकट जिल्लामा अस्पताल र मेडिकल कलेज स्थापना गर्नुपर्नेलगायत माग राख्नुभएको छ । प्रा डा. केसीको जीवनरक्षाको माग गर्दै मुलुकका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेको छ भने चिकित्सकहरुसमेत आन्दोलित छन् ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७७ आश्विन २३, शुक्रबार ११:३३ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७७ आश्विन २३, शुक्रबार ११:३३ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
  • २०७७ आश्विन २३, शुक्रबार ११:३३ गते

नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...

TOP