२०८० आश्विन १४
October 1, 2023, Sunday

कोरोनाको उपचारमा नीजि क्षेत्रलाई सरकारले प्रतिबद्धता अनुसार साथ दिएन

कोरोनाको उपचारमा नीजि क्षेत्रलाई सरकारले प्रतिबद्धता अनुसार साथ दिएन

काठमाडौं,असोज ३०

विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले गएको भदौ ४ गतेबाट नै कोरोना संक्रमितको उपचार सुरु गरेको छ । अस्पतालले साधारण लक्षण देखिएका संक्रमितको उपचार गर्नका लागि ६० शैयाको होल्डिङ सेन्टर समेत बनाएर उपचार सुरु गरेको छ ।

अस्पतालमा २० शैयाका आइसीयु छन् । ति मध्ये १२ वटा भेन्टिलेटर सहितका रहेको अस्पतालले जनाएको छ । हाल अस्पतालको जनरल वार्डमा दैनिक एक सय ५० कोरोना संक्रमितको उपचार हुने गरेको अस्पतालका डाईरेक्टर अफ कम्युनिकेशन एण्ड मार्केटिङ (हेड अफ ओपिडी) आभास श्रेष्ठले बताए ।

हाल २ जना कोराना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको र १५ जना संक्रमितलाई आइसीयुमा राखेर उपचार गरिरहेको श्रेष्ठको भनाइ छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अस्पताल बिच कोरोना संक्रमितलाई उपचार गर्न सम्झौता भएपछि भदौ २२ गतेबाट कोरोना संक्रमितको निःशुल्क उपचार थालिएको हो ।

सरकारसँगको सम्झौता अनुसार कोरोना संक्रमित बिरामीको हेरचाह, उपचार तथा स्वास्थ्य अनुकूल खानपान समेत निःशुल्क रहेको छ । अस्पतालले कोरोना संक्रमितको स्याहार(सुसार र उपचारमा कुनै कमी हुन नदिएको श्रेष्ठले दाबी गरे । ‘कोरोना संक्रमितहरुको तहगत केस अनुसार अस्पतालले उपचार तथा स्याहार–सुसार गरेको छ ।’

यद्यपि, श्रेष्ठले कोरोना संक्रमितको उपचार गरे वापत सरकारले आर्थिक सहायता दिने सम्झौता भएपनि हालसम्म सरकारको तर्फबाट कुनै प्रतिक्रिया नआएको बताए । उनले भने, ‘सरकारसँग गरेको सम्झौता अनुरुप अहिलेसम्म कोरोना संक्रमित बिरामीहरुको उचित हेरचाह साथै उपचारमा अस्पतालको तर्फबाट कुनै कमि हुन नदिए पनि सरकारबाट भनेजस्तो साथ र सहयोग पाइएको छैन ।’

अहिलेसम्म संक्रमित बिरामीहरुको उपचारमा अस्पतालले तीन करोड खर्च गरिसकेको छ । कोरोना संक्रमितको उपचारमा लागेको खर्चमा सरकारले साथ दिने प्रतिबद्धता जनाए पनि हालसम्म सरकार मौन रहेको उनको भनाइ छ ।

नीजि क्षेत्रमा विराट मेडिकल कलेजले पहिलो पटक कोरोना संक्रमित बिरामीको उपचारका लागि वार्ड सञ्चालनमा ल्याउँदा सरकारले जुन हौसला र प्रतिबद्धता दिएको थियो अहिले त्यो प्रतिबद्धता हौसलामै सिमित भएको अस्पतालको भनाइ छ ।

अस्पताल कोभिड अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरुको स्वास्थ्यप्रति सजग छ । त्यसका लागि विशेष सावधानी अपनाएर रुटिन बनाइएको छ । ‘कोभिड अस्पतालमा स्वास्थ्यकर्मी खटिने अवधि दुई हप्ताको हुन्छ, त्यसपछि उहाँहरु काम गर्ने सिलसिलामा संक्रमित हुनुभयो भने आइसोलेसनमा बस्नुहुन्छ, सुरक्षित भए घर फर्कनुहुन्छ । संक्रमित भएको अवस्थामा पनि हामीले उहाँहरुको स्वास्थ्योपचारका लागि यथोचित व्यवस्थापन गरेका छौँ,’ श्रेष्ठले भने ।

अस्पतालले कोरोना संक्रमितको उपचारका लागि खटिने स्वास्थ्यकर्मीहरुलाई इच्छाविपरित कहिल्यै खटाएको छैन । चिकित्सक, नर्स तथा कर्मचारीहरुको इच्छा अनुसार मात्र काममा लगाइएको छ ।

कोरोना संक्रमित बिरामीको उपचार, रेखदेखमा खटिएका कर्मचारीको आत्मबल बढाउन समयमा नै पारिश्रमिक, अतिरिक्त भत्ता र सुविधा दिनुपर्दछ, साथै पिपिइ, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरु पनि उपलब्ध गराउनुपर्ने हुन्छ । तर, सरकारी तवरबाट नीजि क्षेत्रलाई सहयोग नहुँदा भने सकस पर्न जान्छ ।

कोरोनाका बिरामीहरुको हेरचाहकालागि खटिने चिकित्सक, कर्मचारीहरुलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु अहिले नीजि क्षेत्रको लागि चुनौतिको विषय हो । ‘यो चुनौतीपूर्ण अवस्थामा स्वास्थ्यकर्मी, कर्मचारीहरुको मनोबल बढाउँदै काम गर्न सरकारसँगको सहकार्य अपरिहार्य छ तर, सरकारी तवरबाट हामीहरुले भनेजस्तो हौसला र साथ पाएनौँ ।’ श्रेष्ठ भन्छन् ।

अस्पतालले पछिल्लो समय कोरोना संक्रमित बिरामीको उपचारका लागि एन्टि भाइरल औषधीको प्रयोगबाट उपचार गरिरहेको छ । उक्त रेमडिसिभिर औषधी नेपालमा उपलब्ध नभएकाले भारतबाट मगाउनुपर्ने अवस्था छ ।

उक्त एन्टि भाइरल औषधी नेपालमा उपलब्ध भएदेखि नेपालको सम्पूर्ण कोभिड अस्पतालकालागि सहज हुने श्रेष्ठको भनाइ छ । उनले भने, ‘अहिले हाम्रोमा एन्टि भाइरल औषधी रेमडेसिभिरको सप्लाई सकिएको छ, आफ्नै नीजि फार्मेसीबाट जसोतसो मिलाइरहेका छौँ ।’

उक्त औषधीको सप्लाई र मूल्यको कुनै ठेगान भएकोले सरकारले यस्तो संवेदनशील विषयलाई ध्यानमा राखेर उचित मूल्य निर्धारण गरेर सप्लाई गरिदिए संक्रमित बिरामीहरुको उपचारका लागि राहत हुने अस्पतालको भनाइ छ ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७७ आश्विन ३०, शुक्रबार ०७:४५ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७७ आश्विन ३०, शुक्रबार ०७:४५ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
  • २०७७ आश्विन ३०, शुक्रबार ०७:४५ गते

नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...

TOP