काठमाडौं,असोज ३०
प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवद्र्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैँ चियाको तथ्याङ्क ऋणात्मक हुने गथ्र्यो तर यस वर्षको शुरुवातसँगै चियाको निकासी १४७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क छ ।
गएको आर्थिक वर्ष २०७६-७७ को (साउन-भदौ) मा रु ६४ करोड २३ लाख एक हजार बराबरको चिया निकासी भएकामा यस आव (साउन-भदौ) मा रु एक अर्ब ५८ करोड ६६ लाख ५७ हजार मूल्य बराबरको चिया निकासी भएको व्यापार तथा निकासी प्रवर्धन केन्द्रले जनाएको छ ।
केन्द्रको तथ्याङ्कअनुसार गएको आव २०७६-७७ मा २३ लाख ५० हजार ७९० किलो चिया निकासी भएकामा यस आवमा बढेर ५३ लाख १७ हजार ५८२ किलो चिया निर्यात भएको छ । चियाको निकासी र आम्दानी ह्वात्तै बढ्नुका कारण भने भारतमा चिया उत्पादन कम हुनु भएको सरोकारवालाको भनाइ छ ।
कोरोना र मौषमले भारतमा चिया उत्पादन घटेकाले भारतमा नेपाली चियाको माग बढेको नेपाल टी एशोसिएशनका अध्यक्ष कमल मैनाली बताउँछन् । उनी भन्छन्, ‘भारतमा २५ प्रतिशत चिया उत्पादन घटेको छ । त्यसैले चियाको निकासी नेपालमा बढेको हो ।’
मैनालीका अनुसार नेपालका चिया किसानले चियाको उल्लेखीय मूल्य पाएकाले बढी निकासी भएको हो । निकासी बढे पनि नेपालमा चियाको उत्पादन भने नबढेको सरोकारवालाको भनाइ छ । गएको आर्थिक वर्ष कोरोनाका कारण निकासी नभएको चिया पनि यस आव निकासी हुँदा तथ्याङ्क बढेको हुनसक्ने अनुमान गरिएको छ ।
चियाको निकासी सधैँ अस्थिर रहने भएकाले पनि घटबढ भइरहन्छ । तर यस वर्षको शुरुमा भने अत्यन्त बढी अन्तर आएको छ । जुन अन्तरका कारण नेपालमा निकासी हुने वस्तुको दोस्रो बढी निकासी हुने वस्तुमा चिया परेको छ । वर्षको शुरुमा अन्तर बढे पनि वर्षभरको तथ्याङ्कमा फरक नपर्ने बताउनुहुन्छ, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार आव २०७४-७५ मा एक करोड ५६ लाख ८४ हजार ५४४ किलो चिया निर्यात भएकामा गत आव २०७५-७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ किलो निर्यात भएको तथ्याङ्कले देखाउँछ । यसरी हेर्दा गत आवमा ६४ हजार ७४८ किलो चिया निकासी कम भएको देखिन्छ ।
घट्यो अलैंची, अदुवामा सामान्य सुधार
आर्थिक वर्षको शुरुमा अलैंचीको निकासी गएको वर्षको तुलनामा घटेको छ भने अदुवाको तथ्याङ्क भने सामान्य बढेको छ । गत आव २०७६-७७ ९साउन–भदौ० मा रु ११ करोड ८३ लाख ५० हजार मूल्यको अदुवा निकासी भएकामा यस आव ९साउन–भदौ० मा रु १३ करोड ८४ लाख ७२ हजारको अदुवा निकासी भएको छ ।
केन्द्रको तथ्याङ्कअनुसार गत आव (साउन–भदौ)मा २२ लाख ५९ हजार ४३१ किलो अदुवा निकासी भएकामा यस आव ९साउन–भदौ० मा २८ लाख ७९ हजार १०० किलो निकासी भएको छ । अदुवाले गत आवको तुलनामा १७ प्रतिशत आम्दानी वृद्धि गर्दै कूल निकासीको शून्य दशमलव सात प्रतिशत ठाउँ ओगट्न सफल भएको छ ।
यता अलैंचीको तथ्याङ्कमा भने सामान्य सुधार भए पनि गएको आवको तुलनामा घटेको देखिन्छ । गएको आव २०७६–७७ (साउन–भदौ) मा रु एक अर्ब दुई करोड ५९ लाख ८९ हजारको अलैंची निकासी भएको छ भने यस आव २०७७-७८ मा रु ९६ करोड सात लाख १६ हजार मूल्यको निकासी भएको देखिन्छ ।
गत आर्थिक वर्ष २०७६–७७ ( साउन-भदौ)मा १२ लाख ७५ हजार २९४ किलो अलैंची नेपालमा निर्यात भएकामा यस आव २०७७-७८ (साउन–भदौ) मा १२ लाख ८४५ किलो अलैंची निर्यात भएको केन्द्रको तथ्याङ्कले देखाउँछ । विभिन्न समस्याले अलैंचीको भाउमा गिरावट आएकाले पनि परिमाण र आम्दानी खुम्चिएको सरोकारवालाको भनाइ छ ।
कोरोनाका कारण किसान र व्यवसायीसँग भण्डारणमा रहेको पुरानो अलैँची बाहिरी देशमा निकासी नभएकाले घटेको अलैंची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीको भनाइ छ । गत वर्षको अलैँची निकासी नभएको र यस वर्षको अलैंची उत्पादन भइसकेकाले पनि अलैँची सुधार नभएको अध्यक्ष कार्की बताउँछन् ।
यस्तै वर्षेनी अलैँचीको भाउमा गिरावट आएकै कारण पनि आम्दानी घटेको अलैंची व्यवसायी महासङ्घका केन्द्रीय सचिव मातृका घिमिरेको भनाइ छ । पाँच वर्षअघि अलैंचीको मूल्य रु एक लाखप्रति मन (४० किलो) भएकामा अहिले प्रतिमन रु २० देखि ३० हजारको अनुपात छ ।
यसरी अलैंचीको बिक्री मूल्य घटेकाले पनि आम्दानी घटेको घिमिरेको भनाइ छ । यस आर्थिक वर्षमा कृषिजन्य पदार्थले कूल ३२ दशमलव छ प्रतिशत ओगटेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...
नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...