काठमाडौं,कार्तिक २९
वरिष्ठ आख्यानकार रमेश विकलको पूर्ण कदको सालिकको शनिबार अनावरण गरिएको छ । गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले विकलको ९२औँ जयन्तीको अवसरमा उनको पूर्ण कदको सालिकको अनावरण गरेका हुन् ।
गोकर्णेश्वर नगरपालिकाको १५ लाख रुपैयाँ आर्थिक सहयोगमा कलाकार लक्ष्मण भुजेलद्वारा निर्मित सालिक गोकर्णेश्वर-९ स्थित रमेश विकल साहित्य प्रतिष्ठान प्रांगणमा राखिएको छ । सालिक अनावरणपछिको कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले साहित्यिक विकासका लागि नगरपालिकाले उदाहरणीय काम गरिरहेको जानकारी दिए ।
आगामी दिनमा पनि नगरपालिकाभित्र रहेका साहित्यिक संघसंस्थाहरूको सुदृढीकरणका लागि सहयोग जारी राख्ने प्रतिबद्धता नगरप्रमुख चालिसेले व्यक्त गरे। गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाललगायतका वक्ताहरूले नगरपालिकाले साहित्यलगायतका विविध क्षेत्रमा गरिरहेको कामबारे प्रकाश पारे ।
रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार रोचक घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष के।के। कर्माचार्य, स्रष्टाहरू डाक्टर विदुर चालिसे, शान्ति रिसाल, महेन्द्र चालिसे, विमल अर्याललगायतले नेपाली साहित्यमा विकलको योगदानबारे चर्चा गरेका थिए ।
प्रतिष्ठानका महासचिव विजय चालिसेले साहित्यसँगै संगीत, चित्रकला तथा समाजसेवामा स्थापित रमेश विकलको स्मृतिलाई चिरस्थायी बनाउन प्रतिष्ठान स्थापना गरिएको बताए । सोही अवसरमा अभिनव साहित्य समाजले केही समय आयोजना गरेको विकल बाल प्रतिभा कविता प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो।
प्रतियोगितामा क्रमशः विभूति अधिकारी, इन्दिरा थापा र सदिस्मा अधिकारी पहिलो, दोस्रो र तेस्रो भएका थिए । यसअघि आरुबारी चोकमा रहेको चालिसेको अर्धकदको सालिकमा प्रतिष्ठानका पदाधिकारीहरूसहित स्थानीय बुद्धिजीवी तथा साहित्यप्रेमीहरूले माल्यार्पण गरेका थिए ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...
नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...