काठमाडौं,मंसिर ७
पश्चिम नवलपरासीमा १५ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कारको घटनामा मिलापत्र गर्न दबाब दिन थालिएको छ । दबाब दिनेमा राजनीतिक दलका स्थानीय नेता पनि भएको पीडित परिवारजनले बताएका छन् ।
पाल्हीनन्दन गाउँपालिका–२ की १५ वर्षीया बालिकामाथि २७ कात्तिकमा सामूहिक बलात्कार भएको थियो । प्रहरीका अनुसार राति करिब ९ बजेतिर घरभन्दा केही टाढा रहेको नलमा पानी भर्न जाँदा दुईजनाले मुख छोपेर नियन्त्रणमा लिएका थिए । त्यसपछि घरबाट तीन सय मिटर टाढाको बगैँचामा लगेर सातजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बालिकाले दिएको बयानका आधारमा दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत राजीव श्रेष्ठले बताए । पक्राउ पर्नेमा पाल्हीनन्दन गाँउपालिका–२ का १७ वर्षीय किसन केवट र १६ वर्षीय कृष्ण तेली गुप्ता रहेका छन् । ‘बालिकाले दुईजनालाई मात्रै चिनेको र रातिको समयमा अन्य पाँचजनालाई चिन्न नसकेको बताएकी छिन्,’ श्रेष्ठले भने, ‘पहिचान भएका दुवैलाई पक्राउ गरेका छौँ, अन्यको खोजी भइरहेको छ ।’
अहिले पक्राउ परेकालाई छुटाउन र घटनामा मिलापत्र गर्न आरोपितका आफन्तजनले दबाब दिन थालेका हुन् । मिलापत्र गर्न राजनीतिक दलका स्थानीय नेताले पनि दबाब दिइरहेको पीडित परिवारले बताएको छ । ‘अपराधमा संलग्नलाई कारबाही गर्नुको सट्टा नेताले पनि मिलापत्र गर्न दबाब दिइरहेका छन्,’ बालिकाकी आमाले नयाँ पत्रिकासँग भनिन् ।
बलात्कारको आरोपमा पक्राउ परेकाहरू गाउँकै हुन् । त्यसैले गाउँका मानिसले पनि पैसा लिएर मिल्न दबाब दिन थालेका छन् । ‘गाँउघरको कुरा हो, केही गल्ती भएको छ, तर आपसी सहमतिमा कुरा मिलाउनुपर्छ भन्दै दबाद दिइरहेका छन्,’ उनले भनिन् । कहिले स्थानीय बासिन्दा र कहिले राजनीतिक दलका स्थानीय नेताले फोन तथा भेटेरै दबाद दिइरहेको पीडितका आफन्तजनले बताए ।
जिल्ला प्रहरी कार्यालयले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ । किटानी जाहेरी आएको र दुईजना पक्राउ परिसकेकाले फरार रहेका पाँचजना पनि छिटै पक्राउ पर्ने श्रेष्ठले बताए ।
काठमाडौँ, राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र...
काठमाडौँ, शहीद दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँको लैनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जलि सभा कार्यक्रममा पुगेर श्रद्धाञ्जलि अर्पण गरेका...
काठमाडौं– नेपाल भ्रमणमा रहेकी अमेरिकी उप–विदेशमन्त्री भिक्टोरिया नुल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन्। प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटवार्तामा दुई...