बुटवल, २४ वैशाख ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कोरोना संक्रमित बिरामीको उपचारको लागि आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिण्डरको व्यवस्था मिलाउन अक्सिजन सिलिण्डर सहजीकरण तथा व्यवस्थापन समिति गठन गरिएको छ । नगरस्तरीय कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबारको बैठकले नगर उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा राजनीतिक दल, व्यवसायिक संघ-संस्थाका प्रतिनिधि, कर्मचारी सहभागी रहेको समिति गठन गरेको हो । समितिको सदस्यहरुमा मोहन चापागाईं, हरिलाल पाण्डेय, लक्ष्मण खनाल, गुणानिधी भण्डारी, बाबुलाल भुसाल, सत्यव्रत ज्ञवाली, केशव भट्टराई र माधव प्रसाद पोखरेल रहेका छन् ।
नगरप्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा बसेको सीसीएमसीको सचिवालय बैठकले आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न नगर क्षेत्रभित्र रहेका उद्योगी, व्यापारी, संघ-संगठनहरुलाई संस्थागत हिसाबले अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले कोरोना संक्रमण समुदायस्तरमा तीव्र रुपमा फैलिरहेको अवस्थामा विवाह, ब्रतबन्ध, पूजाआजा, भोज-भतेर जस्ता क्रियाकलापबाट कोरोना संक्रमण जोखिम उच्च हुने भएकोले अहिलेको विषम परिस्थितिमा यस्ता क्रियाकलाप नगर्न/नगराउन सम्पूर्ण नगरबासीलाई आग्रह गरेको छ ।
नगर क्षेत्रभित्र कोरोनाको जोखिमा रहेका व्यक्तिहरुको परीक्षणलाई छिटोछरितो गराउन नगरपालिकाबाट एन्टिजेन र भीटीएस खरिद गर्ने, नगरमा निषेधाज्ञालाई थप प्रभावकारी बनाउन थप सुरक्षाकर्मी परिचालनको लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।
बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नको लागि प्रकोप व्यवस्थापन कोषमा स्वच्छिक रुपमा आर्थिक सहयोग गर्न संघ-संस्था, उद्योगी, व्यवसायी लगायत सबैमा अनुरोध समेत गरेको छ । नगरपालिकाले शंकरनगरमा ४० बेड क्षमताको एक तहको अस्पतालको सुविधा रहेको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ भने वडा नम्बर ९ को केवलानीमा थप ६० बेडको आइसोलेशन सेन्टर बनाउन तयारी थालेको छ ।
तिलोत्तमा नगरप्रमुख तथा उपप्रमुखले आफूले चढ्दै आएको गाडी कोरोना संक्रमित बिरामी बोक्ने काममा लगाएका छन् । तिलोत्तमा नगरपालिका उपलब्ध सबै साधनस्रोतको अधिकतम प्रयोग गरी कोरोना संक्रमित बिरामीको उपचार र उद्धारमा लागेको छ ।
काठमाडौ, सुनको मूल्य बुधबार फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई सय रुपैयाँका दरले मूल्य बढेको...
काठमाडौ, नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दैछ । पोखरामा बस्ने क्यान बैठकमा नेपाल टी–२० लिग विवाद र...
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट ऐतिहासिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन् । उनले सदनमा उपस्थित सदस्य सङ्ख्याको दुई तिहाइभन्दा...