२०७८ माघ ८
January 22, 2022, Saturday

बाढीपहिरामा परी डोटीमा १२ को मृत्यु

बाढीपहिरामा परी  डोटीमा १२ को मृत्यु

काठमाडौँ।  आइतबार साँझदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरामा परेर डोटीमा १२ जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार पहिरामा परी मृत्यु हुनेमा बोगटान फुड्सिल गाउँपालिका–५ उपल्ला गाउँका इन्द्रबहादुर नेपालीकी श्रीमती चन्द्रा नेपाली र सायल गाउँपालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरुवा विक रहेका छन् । योसँगै बाढीपहिरामा परेर मृत्यु हुनेको सङ्ख्या जिल्लामा १२ पुगेको हो । 

उहाँका अनुसार बाढीपहिरामा परेर घाइते हुनेको सङख्या आठ पुगेको छ । त्यस्तै गएराति नै छत्रेश्वर खोलाले बगाउँदा बेपत्ता भएका सायल गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकाया मृत फेला परेका छन् ।

यस्तै लगातारको वर्षापछि घर भत्किँदा र पहिरामा पुरिएर मङ्गलबारसम्म नौजनाको मृत्यु भएको थियो । सो घर भत्किँदा जोरायल गाउँपालिका–४ सयगडामा एकैघरका चार जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर विक, उहाँका १८ वर्षीय छोरा मोहन विक र १२ वर्षीया छोरी पवित्रा विक रहेका छन् । सोही घरमा मामाघर आएका १६ वर्षीय रवीन विकको पनि मृत्यु भएको छ । यस्तै जोरायल गाउँपालिका–४ मा पनि पहिराले घर च्यापिँदा ६२ वर्षीय जोगी सार्कीको पनि मृत्यु भएको छ ।

 घाइते अवस्थामा रहेका उहाँकी ६१ वर्षीया श्रीमती झुपरी सार्कीको पनि उपचारका क्रममा मङ्गलबार राति नै मृत्यु भएको छ । यस्तै पहिरासँगै आएको ढुङ्गा लागेर शिखर नगरपालिका–११ की ३६ वर्षीया मन्धरी बलायरको मृत्यु भएको छ । यस्तै सोमबार रातिको पहिराले घर च्यापिँदा सायल गाउँपालिका–६ का वीरबहादुर कुञ्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुञ्जेडाको मृत्यु भएको थियो । सोही घटनामा परी तीन जना घाइते भएका थिए । यसैगरी केआइसिंह गाउँपालिका–४ मा पहिराका कारण विस्थापित भएका १६० जनालाई गाउँपालिका र स्वरोजगारको कार्यालय,  प्रहरी चौकी वायल तथा स्थानीय मन्दिरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 यसैगरी पहिराको जोखिममा परी विस्थापित भएका दिपायल सिलगढी नगरपालिका–८ पाङरिका २० घरपरिवारलाई दुर्गा आधारभूत विद्यालयमा राखिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो । रासस     

Related News

लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई सहयोग
लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई सहयोग
  • २०७८ कार्तिक ३, बुधबार ०८:४०

काठमाडौं । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी...

त्रिशूली अस्पतालमा सेवा प्रभावित
त्रिशूली अस्पतालमा सेवा प्रभावित
  • २०७८ कार्तिक ३, बुधबार ०८:४०

काठमाडौं । त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट सङ्क्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले स्त्री...

ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या
ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या
  • २०७८ कार्तिक ३, बुधबार ०८:४०

काठमाडौँ ।  जिल्लाको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत्...

TOP