२०८० आश्विन १२
September 29, 2023, Friday

पशुपति क्षेत्रमा भक्तजनको भीड, बाला चतुर्दशी मेलाको तयारी पूरा

पशुपति क्षेत्रमा भक्तजनको भीड, बाला चतुर्दशी मेलाको तयारी पूरा

काठमाडौं । दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ ।

बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् । पशुपति क्षेत्रमा सहजरुपमा बत्ती बालेर बस्ने स्थान पाउन मुस्किल हुने गरेको तेह्रथुमबाट बत्ती बाल्न आउनुभएका श्याममणि ढुङ्गानाले गुनासो गर्नुभयो ।

मार्गशीर्षकृष्ण त्रयोदशीको बेलुकी पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप वाग्मतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छरिन्छ । यसो गरेमा दिवङ्गत पितृको सद्गति हुनुका साथै शान्ति पाउने धार्मिक विश्वास छ । पशुपति क्षेत्रमा बाला चतुर्दशी मेलाका सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले आज बिहानदेखि पशुपति क्षेत्रमा सुरक्षाका सबै व्यवस्थापन गरेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । यसका लागि भकुण्टोलस्थित कारपार्कमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर खडा गरिएको छ ।

पशुपति क्षेत्रको मुख्य भागस्थित शतबीज मार्ग र बत्ती बाल्ने स्थानमा आवश्यकताअनुसार सुरक्षाकर्मीको परिचालन गरिएको छ । सुरक्षाकर्मीले पशुपति क्षेत्रमा मांस, मदिरा एवं नशालु पदार्थको सेवन तथा बिक्री वितरण पूर्णरुपमा निषेध गरेको छ । यसका लागि अनुगमन गर्न प्रभावकारी संयन्त्र निर्माण गरिएको कोषले जनाएको छ ।

शतबीज छर्न विशेषरुपमा भक्तजनको भीड लाग्ने मृगस्थली क्षेत्रमा पनि कोषका सुरक्षाकर्मीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटाइएको छ । भुवनेश्वरीअघि शङ्कराचार्य मठको पश्चिम बाटोमा सामुदायिक प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ । खोजखबर केन्द्र पनि त्यस क्षेत्रमा सञ्चालन गरिँदैछ ।

पालको व्यवस्था

काठमाडौँ महानगरपालिकाको सहयोगमा कोषले घुम्ती शौचालयको व्यवस्था पशुपति क्षेत्रमा गरेको छ । बत्ती बाल्ने भक्तजनका लागि वनकाली, शङ्कराचार्य मठ, चार शिवालय एवं अन्य स्थानमासमेत नेपाली सेना, सशस्त्र र प्रहरीको सहयोगमा पाल टाँगिएको छ ।

बत्ती बाल्न एवं शतबीज छर्न आउने भक्तजनका लागि तिलगङ्गा र भण्डारखालमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । मेलाका लागि महानगरी ट्राफिक प्रहरी प्रभाग गौशालाबाट ट्राफिक एवं सवारी व्यवस्थापनको काम गर्ने गरी जिम्मेवारी तोकिएको छ । मन्दिर तथा त्यसअघिको मुख्य क्षेत्रमा पराल लैजान कोषले निषेध गरेको कार्यकारी निर्देशक खतिवडाले सुनाउनुभयो ।

मूल मन्दिरको पश्चिमढोका र दक्षिणढोका अघि भक्तजनलाई बत्ती सल्काउने व्यवस्था मिलाइएको छ । श्री पशुपतिनाथ अमालकोट कचहरीबाट दाउराको व्यवस्था गरी कैलाश चउर, हंशमण्डप, चार शिवालय आदि स्थानमा जाडोबाट बच्न धुनी जगाउने व्यवस्था मिलाइएको छ । दाउरा नपुग भएमा दि टिम्बर कर्पोरेशन पशुपतिबाट पछि भुक्तानी गर्ने गरी कोषको सिफारिसमा लैजाने व्यवस्था मिलाइएको छ ।

Related News

युवा संघद्वारा `राष्ट्रिय श्रम अभियान´ को सुरुवात
युवा संघद्वारा `राष्ट्रिय श्रम अभियान´ को सुरुवात
  • २०७८ मंसिर १६, बिहीबार १२:५१ गते

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) निकट युवा संघ नेपालले `राष्ट्रिय श्रम अभियान´ को सुरु गरेकोछ। आज...

डा.बिजयको टोलिले मृगौला प्रत्यारोपणमा सफलता हासिल गर्दै
डा.बिजयको टोलिले मृगौला प्रत्यारोपणमा सफलता हासिल गर्दै
  • २०७८ मंसिर १६, बिहीबार १२:५१ गते

काठमाडौ ! एकैपटक चारजना ब्यक्तिको मृगौला साटासाट गरि सल्यक्रिया गर्नु भनेको निकै चुनौती पुर्ण कार्य हो । गत साता सुमेरु...

काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी, एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट
काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी, एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट
  • २०७८ मंसिर १६, बिहीबार १२:५१ गते

काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । चन्द्रागिरि नगरपालिका(११ मा रहेको...

TOP