२०७९ मंसिर १२
November 28, 2022, Monday

महाधिवेशनले बढ्यो भृकुटीमण्डपको व्यापार

महाधिवेशनले बढ्यो भृकुटीमण्डपको व्यापार

काठमाडौं ।  भृकुटीमण्डपमा झण्डै एक दशकदेखि खाजा पसल चलाउँदै आउनुभएकी सीता थापालाई केही दिनयता भ्याइनभ्याइ छ । आजदेखि सुरुआत भएको कांग्रेस महाधिवेशनका कारण बिहानैदेखि नै पसल भीडभाड छ । 

सो स्थानमा अन्य समयमा बिहान र साँझ व्यापार हुने भए पनि दिउँसो सुनसान हुने गरेको उहाँले बताउनुभयो । उहाँले दैनिक रु १० देखि १५ हजारसम्मको व्यापार गर्दै आउनुभएकामा अहिले झण्डै रु ६० हजारसम्मको व्यापार भइरहेको छ । अरु समयमा लगानीबाट भाडा तिर्न र खान बस्न मात्रै पैसा हुने भए पनि मण्डपमा हुने कार्यक्रमले व्यापार बढेको उहाँले जानकारी दिनुभयो । कोभिडका कारणले यहाँ हुने कार्यक्रम घटेको भए पनि अहिले भइरहँदा उहाँ खुसी हुनुहुन्छ । उहाँले भन्नुभयो, “हामीलाई त हप्तैपिच्छे केही न केही भयो भने आम्दानी बढ्छ ।”

महाधिवेशन आइतबारसम्म जारी रहने छ । महाधिवेशनको उद्घाटन सुरु हुनुभन्दा एक साता पहिलेबाट नै महाधिवेशनस्थलमा भने भीडभाड बढ्न थालेको थियो । जिल्लाजिल्लाबाट आएका त कतिपय काठमाडौँमा नै भएका प्रतिनिधि र शुभेच्छुक आपसमा भेटघाटका लागि आइरहेका थिए । हिजोअस्तिभन्दा आज बिहानैदेखि भीडभाड बढेको देखिन्छ । 

सो स्थानमा नै खाजा पसल चलाउँदै आउनुभएका मातृकाप्रसाद राई महाधिवेशनले गर्दा आफ्नो व्यापार झण्डै चार गुणाले बढेको बताउनुभयो । एक साता पहिलेबाट नै यहाँ आवतजावत बढ्न थाले पनि बुधबारबाट बाक्लो भएको उहाँले बताउनुभयो । बिहीबार भीडभाड बढेको थियो । आज त उहाँलाई बिहानैदेखि भ्याइनभ्याइ भएको देख्न सकिन्थ्यो । राजनीतिक आस्थाभन्दा पनि व्यापार बढ्ने हुँदा उहाँलाई महाधिवेशन औधी रमाइलो लागेको छ । उहाँले भन्नुभयो, “यस्तो चुनाव त हाम्रो लागि दसैँ नै हो ।”

महाधिवेशन, आमसभालगायतका कार्यक्रम हुँदा र व्यापार र अरु मेला पर्व हुँदा यहाँको व्यापार बढ्ने गरेको छ । गत साता भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन हुँदा चार दिनमा राम्रो व्यापार भएको उहाँले बताउनुभयो । अरु समयमा दैनिक झण्डै रु १० हजारदेखि १५ सम्मको व्यापार गर्ने भए पनि अहिले रु ६५ हजारसम्मको व्यापार भइरहेको उहाँले बताउनुभयो । खानाभन्दा खाजा खान आउनेको सङ्ख्या धेरै छ । उहाँले भन्नुभयो, “सबैभन्दा बढी चिया त्यसपछि चना, अण्डा, चाउमिन खान आउने छन् ।” 

सो स्थानमा नै बसेर व्यापार गर्ने मात्रै होइन महाधिवेशनका कारण डालोमा वा साइकलमा व्यापार गर्ने पनि राम्रो व्यापार गरिरहेको देख्न सकिन्छ । केही वर्षदेखि नियमितरुपमा नयाँ बसपार्कमा बदाम बेच्ने गरे पनि महाधिवेशनका कारण महाधिवेशनस्थल नजिक आइपुगेको सुरेश लामाले बताउनुभयो । प्रदर्शनी मार्ग नजिकै भेटिनुभएका उहाँ चुनाब नसकिएसम्म नियमित आउने बताउनुभयो । उहाँले भन्नुभयो, “यस्तै कार्यक्रममा हामीले अरु बेलाभन्दा दोब्बर आम्दानी गर्न सक्छौँ ।” रासस

Related News

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
  • २०७८ मंसिर २४, शुक्रबार १५:०५ गते

जनकपुरधाम, विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडीदेखि नै जनकपुरधाममा रामजानकी विवाहपञ्चमीको तयारी सुरु हुने गर्छ। पछिल्ला २/३ वर्षदेखि कोरोनाको संक्रमणको भयका...

बिदाइ भए प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरी
बिदाइ भए प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरी
  • २०७८ मंसिर २४, शुक्रबार १५:०५ गते

काठमाडौ, प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि भर्ना गरिएको म्यादी प्रहरीको बिदाइ गरिएको छ । चुनाव सकिएसँगै नतिजा पनि आइसकेकोले म्यादी...

चुनावमा कलाकारको कन्तबिजोग
चुनावमा कलाकारको कन्तबिजोग
  • २०७८ मंसिर २४, शुक्रबार १५:०५ गते

काठमाडौ, निर्वाचन घोषणा गरेसँगै थुप्रै कलाकारको राजनीतिक यात्राबारे चर्चा भयो। चर्चा भएका कतिले दलको टिकट पाए, केही स्वतन्त्र उम्मेदवारका रूपमा...

TOP