काठमाडौं । पञ्चेश्वर गाउँपालिका वडा नं १ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनः निर्माण नहुँदा खुल्ला आकाशमुनि पठनपाठन भइरहेको छ । गत असोज पहिलो साताको अविरल वर्षासँगैको पहिराले विद्यालय भवन भत्किएको हो ।
विद्यालय भवन भत्किएपछि गएको तीन महिनादेखि खुल्ला आकाशमुनि पठनपाठन गर्न विद्यार्थी बाध्य भएका प्रधानाध्यापक निर्मला चन्दले बताउनुभयो । विद्यालयको सात कोठे भवन पहिराले भत्काएपछि निकै समस्या भएको र विद्यार्थी खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका छन् । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा अहिले ७८ विद्यार्थी अध्ययनरत छन् । विद्यालय भत्केको ठाउँमा चौर समेत नभएकाले झण्डै एक किलोमिटर टाढाको खोला किनारको चौरमा पठनपाठन भइरहेको हो ।
बालबालिकालाई खुला चौरमा राखेर पढाउनुपर्दा पठनपाठन कार्य समेत प्रभावित हुने गरेको छ । प्रधानाध्यापक चन्दले भन्नुभयो, “विद्यार्थीलाई पढाउनका लागि ह्वाइट बोर्ड राख्ने ठाउँ छैन, बालबालिकालाई घामपानी परेको बेला ओत लाग्ने ठाउँ छैन, विद्यालयमा भएका सबै फर्निचर, कुर्सीलगायत सामग्री पनि पहिराले पुरिएका छन् ।” दिनभरि घाम नलाग्ने उक्त ठाउँमा पनि घाम नलागेको बेला चिसो हुने गरेको छ ।
पहिराले विद्यालयको सात कोठे भवन भत्काएको विषयमा गाउँपालिका र शिक्षा विकास तथा समन्वय एकाइमा पत्राचार गरेर विवरण बुझाइएको भए पनि तीन महिनासम्म पहल नभएको प्राधानाध्यापक चन्दको गुनासो छ ।
गाउँपालिका र शिक्षा विकास तथा समन्वय एकाइले भने विद्यालय पुनः निर्माणका लागि पहल भइरहेको जनाएको छ । गाउँपालिका उपाध्यक्ष वीना भट्टले विद्यालय पुनः निर्माणका लागि पहल भइरहेको र छिट्टै विद्यालय भवन निर्माण थालिने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय भवन भत्किँदा समस्या भएकोबारे हामीलाई जानकारी आएको छ, गाउँपालिकासँग पर्याप्त बजेट नभएकाले प्रदेश र सङ्घ सरकारसँग माग गरेका छौँ ।”
यस्तै शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी पुष्कर शर्माले पनि क्षतिको विवरणबारे माथिल्लो निकायमा जानकारी गराइसकेको बताउनुभयो । रासस
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
पोखरा, पोखराबाट काठमाडौँ जाने काम परेपछि आइतबार मैले एउटा टिकट काटेको थिएँ । टिकट बिहान ९ बजेर ४० मिनेटको थियो...
दोलखा, दोलखाको सदरमुकाम चरीकोट स्थितको भीमेश्वर नगरपालिकाले लागत साझेदारीमा गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको छ । नगरभित्रका एकल...