२०७९ चैत्र १९
April 2, 2023, Sunday

पशुपतिनाथमा रातभर धनुर्मास पूजा, आज मन्दिर बन्द

पशुपतिनाथमा रातभर धनुर्मास पूजा, आज मन्दिर बन्द

काठमाडौं । प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ ।

धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण पनि सहभागी हुने विधि छ । पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, श्रृङ्गार, श्री चक्रको पूजा, धुप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ । धनुर्मास पूजाका क्रममा अमालकोट कचहरीका तर्फबाट खिचडी भोग दिइएको द्वारे पूर्ण डङ्गोलले राससलाई जानकारी दिनुभयो ।

पशुपतिनाथमा महाभोगका लागि ब्राह्मणले दुईवटा खँडकुलामा खिचडी बनाउँछन् । एउटामा सख्खरसहितको र अर्कोमा चिनीसहितको खिचडी बनाउने गरिन्छ । अरु बेलामा पशुपतिनाथमा लगाइने भोगमा नुनिलो सामग्री हुन्छ । आज गुलियो र चिल्लो सामग्री चढाउने विधि रहेको पशुपति क्षेत्रका मूर्त अमूर्त संस्कृतिका बारेमा विशेष खोज गरिरहनुभएका कर्मचारी बरुण खतिवडाले जानकारी दिनुभयो । पुस महिनाभर सूर्यनारायण धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा बढी भीडभाड नहुने दिनको साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ ।

चान्द्रमास र सौरमास दुवै पुस महिनामा पारेर धनुर्मास पूजाको साइत निकालिन्छ । पहिले पुस महिनामा नौपटकसम्म धनुर्मास पूजा गर्ने गरिएकामा त्यो परम्परा अहिले लोप भइसकेको छ । त्यसबेला भक्तजनले पनि आफ्नो खर्चमा पनि धनुर्मास पूजा गर्न पाउँथे । यो परम्परा पनि अहिले लोप भइसकेको छ । धनुर्मास पूजा गर्नुअघि सोमबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको थियो ।

बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।

सोमबार रातभर धनुर्मास पूजा गरेपछि आज पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । आज बिहानैदेखि बेलुकीसम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गरिन्छ । बिहान १२ बजेसम्म एउटा ढोका भने खोलिन्छ । उपवासका दिन बिहानै महादेव कैलाश एवं शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्नुहुने धार्मिक विश्वाससमेत परम्परादेखि रहेको छ । यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाउने परम्परा सुरु भएको हो ।

महादेवडाँडामा घाम तापेर बस्ने विश्वासमा कैलाशमा दिनभर खिचडी बनाएर खाने परम्परा भने विगत १६ वर्षदेखि लोप भएको खोजकर्ता खतिवडा बताउनुहुन्छ । बेलुकी भने महादेव कैलाश, शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा नियमित आरती गरिन्छ । बुधबार बिहानदेखि भने नियमित पूजा आराधना गरी भक्तजनका लागि मन्दिर खुलाइने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।

Related News

सरकार र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
  • २०७८ पुष १३, मंगलवार ०९:२० गते

काठमाडौ, सरकारी वार्ता टोलि र मिटरव्याज विरुद्धको संघर्ष समिति, नेपालबीच शनिबार साँझ गृहमन्त्रालयमा पाँचबुदे सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले...

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७८ पुष १३, मंगलवार ०९:२० गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

पश्चिमी वायु सक्रिय, सोमबारसम्म देशैभर पानी र असिनाको सम्भावना
पश्चिमी वायु सक्रिय, सोमबारसम्म देशैभर पानी र असिनाको सम्भावना
  • २०७८ पुष १३, मंगलवार ०९:२० गते

काठमाडौं, नेपालमा पश्चिमी वायु सक्रिय भएको छ । पश्चिमी वायु सक्रिय भएकै कारण देशको पश्चिमी र मध्य क्षेत्रको मौसम बदली...

TOP