२०८० जेष्ठ २२
June 5, 2023, Monday

जलवायु परिवर्तनको असरः पुसमै फुल्यो लालीगुराँस

जलवायु परिवर्तनको असरः पुसमै फुल्यो लालीगुराँस

काठमाडौं । चैत वैशाखमा फुल्ने लालीगुराँस पुसदेखि नै फुलेर म्याग्दीका ग्रामीण जङ्गल रातै देखिन थालेका छन् । त्यस्तै काफल, ऐसेलुजस्ता जङ्गली फल पनि बेमौसममा नै फल्न सुरु भएको छ ।

फागुनको मध्यतिरबाट कोपिला लाग्न सुरु हुने लालीगुराँस पुसमा नै फुल्नु र जङ्गली फलहरुको मौसमीचक्र परिवर्तन हुन थालेपछि विश्वमा बढ्दै गएको तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण यस्तो भएको वातावरणविद्को भनाइ छ ।

सधैँजसो फागुन महिनाको तेस्रो सातातिरै फुल्ने लालीगुराँस यसवर्ष पुस दोस्रो सातादेखि नै पश्चिम र उत्तरी म्याग्दीका जङ्गलमा फुलेको स्थानीयवासी बताउँछन् । लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ । “लालीगुराँस फूल फागुन–चैत महिनामा फूल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ”, ज्यामरुककोटका ६८ वर्षीय रामबहादुर खत्रीले भन्नुभयो । लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमासमेत यसको प्रभाव देखिएको बेनी नगरपालिका–५ का प्रेम शाहीले बताउनुभयो ।

“अहिले पुसमा काफल पाकेको र गुराँस फुलेको पाइएको छ”, वातावरणविद् सुरज सापकोटाले भन्नुभयो, “पुसमा गुराँस फुल्नु र बेमौसमी फलफल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो ।” विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् । उहाँका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामासमेत धेरै परिवर्तन देखिएका छन् । त्यसैगरी गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भू–भागमा पनि पाइन थालेका छन् ।

समयको अन्तरालमा पृथ्वीको वायुमण्डल, हावाको गति र मौसममा भएको परिवर्तनका कारण पृथ्वी तथा यसको कुनै भागको औसत मौसममा आएको परिवर्तनलाई नै जलवायु परिवर्तन भनिन्छ । जलवायु परिवर्तनका कारण मौसममा फेरबदल हुने, वर्षा समयमा र नियमित नहुने, मौसमी फलफूल तथा तरकारीमा फेरबदल हुने, हिमगलन, अतिवृष्टि, अनावृष्टि, हुरीबतास हुनेजस्ता असर देखा पर्छन् । जलवायु परिवर्तनकै कारण महत्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन् ।

यसरी कहिले अत्यधिक वर्षा भई धनजनको विनाश हुने त कहिले पानी नै नपरी खेतीबाली तथा वन जङ्गलनै सुक्ने अवस्था आइरहेको छ । जलवायु परिवर्तनकै कारण नयाँ–नयाँ रोग देखिएका छन् । जुन विश्वकै लागि एक प्रमुख चुनौतीको विषय हो । यसको असर बढ्दै जाँदा नेपालको हिमाली क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी यार्सागुम्बालगायत वनस्पति पनि लोप हुने खतरा छ । रासस

Related News

काठमाडौं उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
काठमाडौं उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
  • २०७८ पुष १४, बुधबार १५:४६ गते

काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको छ। महानगरपालिकाले आज सूचना जारी...

गोदाममा आगलागी हुँदा लाखौँको क्षति
गोदाममा आगलागी हुँदा लाखौँको क्षति
  • २०७८ पुष १४, बुधबार १५:४६ गते

दाङको घोराहीमा रहेको एक इलेकट्रोनिक पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । घोराही उपमहानगरपालिका –१५ को शहीदगेट...

जन्मदर्ता अभिलेख हराएकाे गौशाला-२६ को जिल्ला अदालत काठमाडौँलाई जवाफ
जन्मदर्ता अभिलेख हराएकाे गौशाला-२६ को जिल्ला अदालत काठमाडौँलाई जवाफ
  • २०७८ पुष १४, बुधबार १५:४६ गते

नेपाली क्रिकेट राष्ट्रिय/ टोलीका पूर्व क्रिकेटर सन्दीप लामिछाने आरोपित रहेको बालिका बलात्कार घटनाकी पीडित गौशाला-२६ को जन्म दर्ता अभिलेख वडा...

TOP