२०७९ चैत्र १३
March 27, 2023, Monday

आज जितिया पर्वको मुख्य दिन ‘उपवास’ बसिँदै

आज जितिया पर्वको मुख्य दिन ‘उपवास’ बसिँदै

काठमाडौँ, थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितिया पर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।

यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपवास’ (व्रत) र नवमीको दिनलाई ‘पारन’ (व्रत समाप्त) भनिन्छ ।

सप्तमीको दिन शनिबार महिला बिहानै उठेर नुहाई धुवाइ गरी सफा र चोखो कपडा लगाइ बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरू झाम्टा र गीत गाउँदै यो पर्व मनाएका छन् ।

उनीहरूले भाद्र कृष्ण अष्टमी (आज) को दिनमा जितिया मनाउँछन् । थारू अगुवा शिखाराम थनेतले जितियामा सामूहिक नाचगान र पूजाआजा हुने बताए ।

उनले अविवाहिताले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको जानकारी दिए ।

हिन्दू नेपाली महिलाले मनाउने तीज पर्वजस्तै थारू समुदायको जितिया पर्व रहेको उनको भनाइ छ । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन रहेको छ । यस्तै जितियामा कोसेली (पहुरा) पुर्याउने चलन पनि छ ।

सप्तमीको दिनमा दर खाएपछि अष्टमीको दिनमा महिला बिहानै उठेर नुहाई धुवाइ गरी सफा र चोखो कपडा लगाइ दिनभर पानी पनि नखाइ (निराहार) ‘उपास’ व्रत बस्ने मध्य विन्दू नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले बताएन् ।

बर्तालु महिला आज बेलुकीपख पुनः खोला, नदी तथा तलाउमा गई पिनाले नुहाएर पातमा पिना बगाउँछन् । त्यसपछि साँझपख सबै बर्तालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रहँदै आएको उनको भनाइ छ ।

भाद्र अष्टमी अर्थात् जितियाको मुख्य दिनमा रुखको चारैतिर बर्तालु महिला फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्ने उपप्रमुख चौधरीको भनाइ छ ।

विगतका वर्षमा गाउँको कुनै एक भद्र पुरुषले जीत वाहनको कथा (जितिया व्रत कथा) घण्टौँ लगाएर सुनाउने गर्ने प्रचलन रहेको भएपनि बिस्तारै त्यो परम्परा हराउँदै गएको जनाइएको छ । कथा सकिएपछि सबै जना घर गएर फराहर (फलफूल तथा मिठो चोखो खाने) गर्थे ।

जितियाको तेस्रो तथा अन्तिम दिन नवमीमा सबेरै सबै बर्तालु महिला खोलामा नुहाएर निराकार प्रतिमूर्ति ( ‘गरग्वाङ’) बनाएर मासको गेडाले पूजा गर्छन् ।

खोलाबाट घर आइसकेपछि बर्तालुले दही चिउरा, केरालगायतका खानेकुरा खान बस्छन् । तर, खानुभन्दा अगाडि गुइँठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ ।

यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ । हिन्दू धर्मावलम्बी नेपाली महिलाले मनाउने तीजजस्तै थारू समुदायले यो जितिया पर्वलाई महत्त्वका साथ मनाउने गरेका नगर उपप्रमुख चौधरीले बताए । पछिल्लो समय जितिया पर्वको रौनकता हराउँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

“पुरानो पुस्ताले मनाउने गरेको जसरी अहिले जितिया मनाउने प्रचलन हराउँदै गएको छ”, उपप्रमुख चौधरीले भनिन, “यो पर्वको संरक्षणमा सम्पूर्ण थारू समुदायसहित सरकारले पनि चासो दिनुपर्छ ।”

पछिल्ला दिनहरूमा जितिया पर्वमा विकृति भित्रिँदै पार्टी प्यालेसमा मनाउने प्रचलनसमेत बढ्दै गएको उनले बताए ।

रासस

Related News

नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
  • २०७९ आश्विन २, आईतवार ०८:४० गते

काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...

जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ मनाइँदै
जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ मनाइँदै
  • २०७९ आश्विन २, आईतवार ०८:४० गते

जनकपुरधाम, जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
  • २०७९ आश्विन २, आईतवार ०८:४० गते

काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...

TOP