२०८१ बैशाख ६
April 18, 2024, Thursday

आज जितिया पर्वको मुख्य दिन ‘उपवास’ बसिँदै

आज जितिया पर्वको मुख्य दिन ‘उपवास’ बसिँदै

काठमाडौँ, थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितिया पर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।

यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपवास’ (व्रत) र नवमीको दिनलाई ‘पारन’ (व्रत समाप्त) भनिन्छ ।

सप्तमीको दिन शनिबार महिला बिहानै उठेर नुहाई धुवाइ गरी सफा र चोखो कपडा लगाइ बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरू झाम्टा र गीत गाउँदै यो पर्व मनाएका छन् ।

उनीहरूले भाद्र कृष्ण अष्टमी (आज) को दिनमा जितिया मनाउँछन् । थारू अगुवा शिखाराम थनेतले जितियामा सामूहिक नाचगान र पूजाआजा हुने बताए ।

उनले अविवाहिताले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको जानकारी दिए ।

हिन्दू नेपाली महिलाले मनाउने तीज पर्वजस्तै थारू समुदायको जितिया पर्व रहेको उनको भनाइ छ । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन रहेको छ । यस्तै जितियामा कोसेली (पहुरा) पुर्याउने चलन पनि छ ।

सप्तमीको दिनमा दर खाएपछि अष्टमीको दिनमा महिला बिहानै उठेर नुहाई धुवाइ गरी सफा र चोखो कपडा लगाइ दिनभर पानी पनि नखाइ (निराहार) ‘उपास’ व्रत बस्ने मध्य विन्दू नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले बताएन् ।

बर्तालु महिला आज बेलुकीपख पुनः खोला, नदी तथा तलाउमा गई पिनाले नुहाएर पातमा पिना बगाउँछन् । त्यसपछि साँझपख सबै बर्तालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रहँदै आएको उनको भनाइ छ ।

भाद्र अष्टमी अर्थात् जितियाको मुख्य दिनमा रुखको चारैतिर बर्तालु महिला फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्ने उपप्रमुख चौधरीको भनाइ छ ।

विगतका वर्षमा गाउँको कुनै एक भद्र पुरुषले जीत वाहनको कथा (जितिया व्रत कथा) घण्टौँ लगाएर सुनाउने गर्ने प्रचलन रहेको भएपनि बिस्तारै त्यो परम्परा हराउँदै गएको जनाइएको छ । कथा सकिएपछि सबै जना घर गएर फराहर (फलफूल तथा मिठो चोखो खाने) गर्थे ।

जितियाको तेस्रो तथा अन्तिम दिन नवमीमा सबेरै सबै बर्तालु महिला खोलामा नुहाएर निराकार प्रतिमूर्ति ( ‘गरग्वाङ’) बनाएर मासको गेडाले पूजा गर्छन् ।

खोलाबाट घर आइसकेपछि बर्तालुले दही चिउरा, केरालगायतका खानेकुरा खान बस्छन् । तर, खानुभन्दा अगाडि गुइँठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ ।

यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ । हिन्दू धर्मावलम्बी नेपाली महिलाले मनाउने तीजजस्तै थारू समुदायले यो जितिया पर्वलाई महत्त्वका साथ मनाउने गरेका नगर उपप्रमुख चौधरीले बताए । पछिल्लो समय जितिया पर्वको रौनकता हराउँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

“पुरानो पुस्ताले मनाउने गरेको जसरी अहिले जितिया मनाउने प्रचलन हराउँदै गएको छ”, उपप्रमुख चौधरीले भनिन, “यो पर्वको संरक्षणमा सम्पूर्ण थारू समुदायसहित सरकारले पनि चासो दिनुपर्छ ।”

पछिल्ला दिनहरूमा जितिया पर्वमा विकृति भित्रिँदै पार्टी प्यालेसमा मनाउने प्रचलनसमेत बढ्दै गएको उनले बताए ।

रासस

Related News

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
  • २०७९ आश्विन २, आईतवार ०८:४० गते

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार...

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदै
सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदै
  • २०७९ आश्विन २, आईतवार ०८:४० गते

काठमाण्डाै – वर्षा र सहकालका देवताका रूपमा पुजिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदैछ । दरबारमार्गमा रहेकाे तीनधारा पाठशालाबाट शुरु...

भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
  • २०७९ आश्विन २, आईतवार ०८:४० गते

काठमाडौँ, वैशाख ४ गते । काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोलि (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने...

TOP