२०७९ चैत्र १०
March 24, 2023, Friday

पेट्रोलियम प्रयोग गर्ने सवारीको आयात रोक्न अध्ययन हुँदै, २०३० पछि विद्युतीय सवारी साधन मात्रै

पेट्रोलियम प्रयोग गर्ने सवारीको आयात रोक्न अध्ययन हुँदै, २०३० पछि विद्युतीय सवारी साधन मात्रै

काठमाडौँ, सरकारले पेट्रोलियम सवारी साधनको प्रयोग रोक्ने विषयमा अध्ययन सुरु गरेको छ ।

पेट्रोलियम पदार्थको प्रयोग गर्ने सवारीको बढ्दो प्रयोगका कारण ठूलो रकम बाहिरिएको भन्दै कति समयमा यसको आयात रोक्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

बिहीबार राजधानीमा सुरु भएको नाडा ईभी एक्स्पोको उद्घाटन गर्दै उनले भने “राजस्व सचिवको नेतृत्वको एउटा समितिले यसबारे अध्ययन गर्दै छ ।”

विद्युतीय सवारीसाधनको प्रयोग र प्राथमिकताका सन्दर्भमा सरकार विद्यमान नीतिबाट पछाडि नहट्ने भएकाले ढुक्क भएर व्यवसाय गर्न उहाँले आग्रह गर्नुभयो । सन् २०३० पछि सबै सवारीसाधन विद्युतीय मात्रै हुने गरी वातावरण निर्माण गर्नेतर्फ सरकार लागिरहेको पनि उहाँले जानकारी दिनुभयो । अहिले वार्षिक तीन खर्ब चार अर्ब रुपियाँको पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारीको आयात भएको अर्थमन्त्री शर्माले जानकारी दिनुभयो ।

पेट्रोलियम पदार्थ र सवारीसाधन आयातकै कारण विदेशी मुद्रा सञ्चिति घटेको निष्कर्ष निकाल्दै सरकारले विगत छ महिनादेखि मोटरसाइकल, कार, जीप र भ्यानजस्ता सवारीसाधनको आयातमा प्रतिबन्ध पनि लगाएको छ ।

यो प्रतिबन्ध असोज २८ गतेसम्मका लागि कायम छ । अर्थमन्त्री शर्माले अब हाइड्रोजनबाट चल्ने सवारीसाधन प्रयोगलाई पनि प्राथमिकतामा राख्नुपर्ने अवस्था आएको बताए ।

कार्यक्रममा मन्त्री शर्माले निर्यात बढाएर मात्र आयात खोल्ने सरकारको योजना रहेको बताए । बजेटमार्फत घोषणा गरिएको निर्यातमा अनुदान चालू आर्थिक वर्ष सुरु भएदेखि नै लागू हुने उनले स्पष्ट पारे । “कार्यविधि बन्दै छ तर अनुदानका लागि कार्यविधि नै कुर्नुपर्दैन,” उनले भने ।

उत्पादन वृद्धिलाई संस्कृतिका रूपमा लिनुपर्नेमा मन्त्री शर्माको जोड थियो । बाहिरबाट खोलेर नेपालमा ल्याएर जोडेर ‘भ्यालु एड’ नहुने भएकाले त्यस्तो अवस्थामा छुट दिन नसकिने उनले बताए ।

“यसरी एसेम्बल उद्योग चलाएर हँुदैन । उद्योग चलाउन छुट कति चाहिन्छ भन्नुस् तर राज्यलाई फाइदा हुनुपर्छ । छुट मात्रै लिएर हँदैन,” उनले भने ।

कार्यक्रममा मन्त्री शर्माले बढ्दो ब्याजदर नियन्त्रणका लागि अर्थ मन्त्रालयले थप पहल गरिरहेको सङ्केत गरे । ब्याजदरको समस्या समाधान गर्न आगामी हप्ता मन्त्रालयले सरोकारवाला सबैसँग छलफल गर्न लागेको समेत उनले जानकारी दिए ।

मुद्दती खातामा १३÷१४ प्रतिशत ब्याजदरमा पैसा राखेर देशमा उद्योग विकास हुन नसक्ने उनको भनाइ थियो ।

सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले केही नीतिका कारण अर्थतन्त्र समस्यामा परेको र आफ्नो जीवनमा पहिलो पटक यति ठूलो आर्थिक चुनौती भोग्नुपरेको बताए ।

पछिल्लो समय विपे्रषणकै कारण मात्र मुलुकको अर्थतन्त्र चलायमान भएको उनको दाबी थियो । बैङ्क तथा वित्तीय संस्थाले तरलता अभावलाई अवसरका रूपमा उपयोग गरेको भन्दै उनले यसमा अर्थ मन्त्रालयले नियमन गर्नुपर्ने भनाइ राखे ।

आयातमा राखिएको शतप्रतिशत मार्जिनको व्यवस्थाबाट बैङ्कको नाफा बढाउने काम मात्रै भएको र यसले आयात नघटेको उनले बताए । आयात रोक्ने सरकारको नियमले निजी क्षेत्र सशङ्कित भएको उनको भनाइ छ ।

नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष धु्रव थापाले एक सय किलोवाट माथिका विद्युतीय सवारीसाधनमा कर बढाउनु उपयुक्त नभएको बताए ।

यसले व्यवसायीलाई निरुत्साहित गर्ने भएकाले दुई सय किलोवाट क्षमतासम्मका सवारीसाधनलाई पुरानै कर कायम गरिदिन उनले आग्रह गरे ।

नेपालमै सवारी एसेम्बल गर्न सरकारको स्थिर नीति आवश्यक रहेको र त्यस्तो अवस्थामा नेपालमै पार्टपुर्जा उद्योगसमेत खोल्न तयार रहेको उनले जानकारी दिए ।

Related News

मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
  • २०७९ आश्विन ७, शुक्रबार ०८:४४ गते

काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...

सुनको भाउ १२ सयले बढ्दा एक लाख सात हजार आठ सयमा कारोबार
सुनको भाउ १२ सयले बढ्दा एक लाख सात हजार आठ सयमा कारोबार
  • २०७९ आश्विन ७, शुक्रबार ०८:४४ गते

काठमाडौं, नेपाली बजारमा सुनको भाउ आज १२ सय रुपैयाँले बढेको छ। हिजो प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँमा...

यातायात कार्यालयमा भ्रष्टाचार अभियोगमा तीन उपसचिवलाई आठ वर्ष कैद
यातायात कार्यालयमा भ्रष्टाचार अभियोगमा तीन उपसचिवलाई आठ वर्ष कैद
  • २०७९ आश्विन ७, शुक्रबार ०८:४४ गते

काठमाडौँ, विशेष अदालतले राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका ११ कर्मचारीको सजाय निर्धारण गरेको छ । यातायात...

TOP