२०८० मंसिर २१
December 7, 2023, Thursday

चितवनको चुनावमा सुरेन्द्रको ट्याक्टिस : विकासमा आफ्नै ब्रान्डिङ, विश्वविरुद्ध आक्रामक अभिव्यक्ति

चितवनको चुनावमा सुरेन्द्रको ट्याक्टिस : विकासमा आफ्नै ब्रान्डिङ, विश्वविरुद्ध आक्रामक अभिव्यक्ति

चितवन, सुरेन्द्र पाण्डेले आफ्नो क्षेत्रका धेरै मतदातालाई व्यक्तिगत रुपमा नै चिन्छन्। नामले चिनेनन् भने थरले चाहिँ पक्का चिन्छन्। विश्व पौडेल यहीँकै भए पनि उनले त्यसरी मतदातालाई चिन्दैनन्।

चुनावी माहोल बुझ्न पत्रकारको टिम चितवन पुग्दा यसरी सहज रुपमा बुझाउने व्यक्ति भने नेपाली कांग्रेसका एकजना पुराना कार्यकर्ता नै हुन्। उनले गुण र दोषका आधारमा जे व्याख्या गरे, त्यो हाम्रा लागि चुनावी ग्राउन्ड जिरोको प्रस्थानविन्दु नै थियो।

सुरुमै उनले हामीलाई भनेका थिए, पूर्वी चितवनमा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट र धादिङका मानिसहरुको बसोबास छ। त्यस क्षेत्रमा पाण्डे अत्यन्तै बलिया छन्।

पाण्डेको परिवार धादिङबाट चितवन झरेको हो। उनले हामीलाई दिएको प्रारम्भिक जानकारी एकाध घन्टामै पुष्टि भइसकेको थियो। सुरेन्द्र पाण्डे कुन ठाउँमा होलान् त ? हाम्रो टोली उनलाई क्याम्पेनिङ स्पटुमै भेट्ने तयारीका साथ पुगेको थियो। सुरेन्द्र कमरेड पिठुवाको सरस्वती टोलमा छन्। खबर मिलेपछि हामी लाग्यौं त्यतै।

विकासको प्रतिस्पर्धामा सिंगो चितवन मुलुकका अन्य जिल्लाभन्दा तीब्र गतिमा अगाडि बढिरहेको सहजै अनुभूति हुने रहेछ यहाँ आइपुग्दा।

स्थानीय निकाय होस् या संसदीय क्षेत्र ( विकासको जस लिने होड जारी छ। त्यसका लागि केही न केही काम गर्नैपर्‍यो।

विकासमा पूर्वी र पश्चिम चितवनबीच फराकिलो अन्तरको पनि चर्चा चितवनवासीबीच चलिरहेको पाइयो। त्यसैले क्षेत्र नम्बर १ को संघीय निर्वाचनको पृष्ठभूमिमा दुई हेभी वेटबीचको चुनावी प्रतिस्पर्धा रोचक बन्ने निश्चित छ।

चितवनको पहिचान नै बनेका राजनीतिक हेभीवेट सुरेन्द्र पाण्डे र अर्थशास्त्री विश्व पौडेल दुवै आइकनु नै रहेछन्। तर, यी दुईमध्ये एक जनामात्र संसद् छिर्नेछन्।

पूर्वअर्थमन्त्री रहिसकेका पाण्डे नेकपा (एमाले) का उपाध्यक्ष हुन् भने पौडेल योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थशास्त्री। राजनीतिक वृत्तमा जति हाइट पाण्डेको छ पौडेल त्यत्तिकै उचो मानिन्छन् वौद्धिक क्षेत्रमा।

दुवैबीच यतिखेर चितवनका जनतासँग कसरी धेरै नजिकिन सकिन्छ भन्ने होडबाजी चलिरहेको छ। पूर्वअर्थमन्त्री र योजना आयोगका पूर्वउपाध्यक्षबीचको चुनावी रस्साकस्सी राष्ट्रिय रुपमा नै हेर्नलायक छ।

जहाँ भेटिए पाण्डे

हामी पिठुवाको सरस्वती टोल पुग्यौं। टोलको एक घरमा औपचारिक रुपमा मौन धारण चलिरहेको थियो। देवकुमारी तिवारीको शोकमा रहेको परिवारलाई समवेदन दिन पाण्डे उनीहरुको घरमा पुगेका थिए। शोकको बेला सान्त्वनाको मूल्य तुलनायोग्य हुँदैन। त्यो पनि चुनावको मुखैमा ?

‘अहिले मान्छे नयाँ निर्माणमा हाम्रो पुस्ताको कति भूमिका हुन्छ बिर्सिरहेका छन्। यो गलत हो। तपाईँको दुस्खमा हामी साथमै छौं। हुन त पीडा तपाईँहरुलाई नै बढी छ।

तर, पनि यस्तो बेलामा सान्त्वनाको पनि ठूलो भूमिका हुन्छ,’ पाण्डेले शोकाकुल परिवारलाई सम्बोधन गर्दै भने।

उनले फोटोफ्रेमसहितको समवेदनापत्र थमाए र लागे घरदैलोतिर। निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि प्रचारको समय तय गरेको भए पनि यसरी नै सबैतिर सुरुवात भइसकेको आकलन गर्न हामीलाई कुनै कठिन थिएन।

जतिखेर सुरेन्द्र पाण्डे मानवीय संवेदनालाई लिएर मतदाताको साथ दिँदै थिए त्यतिखेर उनका प्रतिस्पर्धी पौडेल काठमाडौंमै थिए।

सुरेन्द्रको शैलीभन्दा विपरीत विश्वसामु चुलिएको चुनौती

सबैतिरबाट बसाईँ सरेर आउने भएकाले ७८औं जिल्लाका रुपमा चितवनको पहिचान जसरी स्थापित भएको छ – ठीक त्यसैगरी नेपाली कांग्रेसभित्रको अन्तर्घातको केन्द्रका रुपमा नामाकरण हुँदै आएको छ।

यसपाला कांग्रेसका नेता तथा कार्यकर्ताले कांग्रेसी उम्मेदवारविरुद्ध अभियान नचलाएको स्थितिमा एमालेको गढ जोगाउनु चुनौती पाण्डेसामु छ।

उनलाई पछि पारेर पौडेल संसदमा डेब्यु गर्न चाहन्छन्। राजनीतिमा पाण्डे र पौडेलबीच पुस्तान्तर नै विशाल छ। २०५४ सालमा राष्ट्रियसभा सदस्य भएर संसदमा अढाइ दशक अघि नै इन्ट्री गरेका हुन् पाण्डेले।

२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा ५१ हजार ८० मत ल्याएर निर्वाचित भएका उनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका राजेन्द्रप्रसाद बुर्लाकोटीलाई ३५ हजार ३६० मतमा सीमित गराएका थिए – माओवादीको मतभार सहित। यसपटक सत्ता गठबन्धनले कांग्रेसका तर्फबाट बुर्लाकोटीलाई दोहोर्‍याएन।

२०३१ सालबाटै राजीतिमा सक्रिय सुरेन्द्र २०५४, २०६४, २०७० र २०७४ गरी चार पटक सांसद भइसके। २०६५ मा अर्थमन्त्रीको कार्यभार समेत सम्हालिसकेका छन् उनले।

पटकपटक सांसद बनेका पाण्डे मतदाताबीच परिचित हुनुलाई नै जित निकाल्न सक्ने आधार मान्छन् चितवनवासी। तर, जित सोचेझैं सजिलो भने छैन।

एमालेको विभाजनको चोट पाण्डेका सामु पनि देखिन्छ। गठबन्धनको बलले उनको शक्ति क्षय गराएको स्वभाविक रुपमा अनुमान गर्न सकिन्छ।

पौडेलको कमजोरीमाथि पाण्डेको प्रहार

अरु पेशाबाट राजनीतिमा आएका र प्राज्ञिक क्षेत्रबाट आएकाबीच कति अन्तर हुन्छ भन्ने प्रष्ट देखिएको छ चितवनका चुनावी गतिविधिमा। पाण्डेले जति सहज रुपमा पौडेलका कमजोरी खुट्याए त्यति सजिलै पौडेलको टिमले पाण्डेमाथि आलोचना गर्न सकेको छैन।

चुनावी प्रचारमा पाण्डेको अनुभव उनका अभिव्यक्तिबाट प्रसार भइरहेको देखिन्थ्यो। पाण्डे आशौचमा रहेका किरियापुत्रीलाई मात्र भेट्दै थिएनन्, आगलागी पीडितकहाँ पनि पुग्न भ्याइसकेका थिए।

‘स्थानीय तह र पार्टी कमिटीका माध्यमबाट तत्काल राहतको व्यवस्था गरिएको छ। उहाँहरूको पीडामा साथ दिन सबैलाई आग्रह पनि गर्दछु,’ आगलागी पीडितसामु पाण्डेको आश्वासन थियो।

संसदीय राजनीतिका खप्पिस खेलाडी पाण्डे प्रचारमा किन पछि पर्थे ररु आफू अर्थमन्त्री भएका बेलामा गरेका काम ‘सेल’ मात्रै गरेका छैनन्, चितवनको विकास नै आफ्नो कारणले भएको दावी गरिरहेका छन्।

‘म अर्थमन्त्री हुनुभन्दाअघि बजेट जाने जिल्लाहरुमा चितवन ३०औं स्थानमा थियो। मैले अर्थमन्त्री भएर बजेट हाल्न थालेपछि १०औं स्थानमा आयो। त्यसपछि हो चितवनमा बजेट आउन थालेको,’ पाण्डेले हामीसँग आफ्नो दाबीको बलियो आधार पेश गरे।

पहाडी मतको फ्याक्टर

चितवन (१ को चुनावी ब्याटलसँग जोडिने महत्त्वपूर्ण विषय हो बसाईँसराई। काठमाडौं उपत्यकासँग जोडिएका पहाडी समुदायको मत आफ्नो पोल्टामा पार्न सक्नेले चुनाव जित्ने प्रचारमा खटिरहेका नेतारकार्यकर्ताको बुझाइ छ।

एमाले व्यवस्थापनमा अरु दलभन्दा अब्बल सावित हुँदै आएको छ। चितवनको सौराहमा भएको १०औं महाधिवेशन होस् या काठमाडौंमा घोषणापत्र सार्वजनिक समारोह –व्यवस्थापन एमालेले अलग छवी कायम राखेकै छ।

व्यवस्थापनको मामिलामा कांग्रेस निक्कै पछाडि छ। गठबन्धनबीच नै तालमेलको नमिलेको दृश्य हामीले यसै क्षेत्रमा देख्यौं।

गत बुधबार रत्ननगरको चुनावी अभियनमा विश्व पौडेल उपस्थित थिए। ‘चुनावी माहोल नलागेको हो। तपाईँहरुका समस्या के छन् म कहाँ लिएर आउनुस्,’ रत्ननगरका मेयर तथा कांग्रेस नगर सभापति प्रलाद सापकोटाले चुनावी अभियानमा नमिलेको रिदमुलाई सुधार्न खोजिरहेका थिए।

विश्वले स्वर्णिम वाग्लेलाई रोकेको विषयमा चितवन कांग्रेसका कार्यकर्ताबीचको असन्तुष्टि भुसको आगोझैं फैलिएको छ। विश्वलाई स्वर्णिमले साथ दिएको नदेखिए त्यो आगो सहजै निभ्ने सम्भावना छैन।

पौडेलमाथि पाण्डेको तिर

पौडेल र पाण्डेको हाउभाउ त फरक छ नै। आरोप प्रत्यारोपमा पाण्डे जति कन्फिडेन्ट देखिए त्यति नै नर्भस पाइए पौडेल। पाण्डेले पौडेलको कमजोरी भेटाइसकेका थिए।

पौडेलले चुनावी अभिव्यक्तिका रुपमा सुरेन्द्र पाण्डेमाथि दिएका केही अभिव्यक्तिलाई हामीले कोट्यायौं। सन्दर्भ थियो चेपाङ मार्गको।

‘सुन्दैमा हाँसो लाग्ने कुरा। चेपाङ मार्ग नाम सन्नु भो उहाँ (विश्व पौडेल) ले अहिले। १२ वर्ष अगाडि २०६६ सालमा म अर्थमन्त्री भएपछि चेपाङ मार्ग नाम राखेर त्यो बाटो अगाडि बढ्यो,’ पौडेलमाथि पाण्डेको आरोप थियो।

यतिसम्म कि पाण्डेले विश्व पौडेललाई बजेट निर्माणको प्रकृया नै थाहा नपाएको व्यक्तिका रुपमा टिप्पणी गर्न भ्याए।

आफैँलाई ब्राण्डिङ गरिरहेका छन् पाण्डे

आरोप प्रत्यारोपको श्रङ्खला चल्नु चुनावका बेला सामान्य नै हो। पौडेलको कमजोरीमाथि आक्रमण गर्दै चितवनको विकासको ‘क्रेडिट’ आफूबाहेक कसैलाई दिन चाहेका छैनन् उनले। सांसद बनेपछि केके गरेँ भन्ने दावीसहितको फेहरस्ती नै सुनाए पाण्डले।

‘६० करोड भरतपुर हस्पिटललाई दिएँ। माडीको विद्युतीकरणमा १२ करोड राखेँ। नारायणी तटबन्धमा २० करोड राखेँ। ठिमुराको पुल, दासढुंगाको पुल बनाएँ।

पूर्वी चितवनका थुप्रै आयोजनामा पैसा हालिसकेपछि बजेट आउने जिल्लामा शीर्ष १० भित्र पर्‍यो चितवन। अर्थमन्त्री भएर सब पैसा चितवनमा खन्यायो भन्ने आरोप पनि लाग्यो,’ पाण्डेले हामीसँग दावी पेश गरे।

मतदाताबीच मीठो बोल्ने पाण्डे असहज प्रश्नमा पनि सहजताका साथ प्रस्तुत भइरहे। सतहमा पाण्डे निक्कै बलियो देखिए पनि चुनावी राजनीतिमा अदृश्य खेलहरु धेरै हुन्छन्।

कांग्रेसीबीच पनि सकारात्मक छवि बनाएका उनी तिनै खेलमा कति प्रभावी हुन्छन् निर्वाचनले देखाउने नै छ। एमालेको गुट राजनीति र विपक्षी गठबन्धन दुवैलाई परास्त गर्न सके उनले पुनस् चितवनबाट संसद प्रवेश गर्न सक्छन्।

Related News

राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
  • २०७९ कार्तिक २०, आईतवार ११:०३ गते

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ कार्तिक २०, आईतवार ११:०३ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ कार्तिक २०, आईतवार ११:०३ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

TOP