२०८० चैत्र १६
March 29, 2024, Friday

चितवन १ र २ जित्छौँ, ३ मा दिनेश कोइराला जिताउँछौँ : रामप्रसाद न्यौपाने (अन्तर्वार्ता)

चितवन १ र २ जित्छौँ, ३ मा दिनेश कोइराला जिताउँछौँ : रामप्रसाद न्यौपाने (अन्तर्वार्ता)

हरेक निर्वाचनमा चर्चामा आइरहने जिल्ला हो चितवन। यस पटक पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण चितवन चर्चामै रह्यो। २०७४ मा नेकपा एमालेको साथ लिएर चितवन क्षेत्र नम्बर ३ बाट जितेका उनी यस पटक गोरखा २ तिर लागेका छन्। यस्तोमा उनले छाडेका चितवन ३ मा अझै राजनीतिक घटनाक्रम रोचक भएको छ।

जहाँ नेकपा एमालेले यस पटक आफ्ना उम्मेदवार रामप्रसाद न्यौपानेलाई ब्याक गराएर नेपाली कांग्रेसबाट विद्रोह गरेका दिनेश कोइरालालाई सघाएको छ। अध्यक्ष केपी शर्मा ओलीले कोइरालालाई बालकोट बोलाएर प्रतिनिधिसभाको टिकट थमाए। अर्कातिर एमालेको टिकट लिएर बसेका रामप्रसाद न्यौपाने जिल्लिए।

टिकट खोसिएका उनै न्यौपाने एमालेका चितवन जिल्ला अध्यक्ष पनि हुन्। टिकट खोसिएपछि चितवनमा ३ मा रहेको असन्तुष्टि मथ्थर पार्ने जिम्मा पनि उनकै काँधमा छ। अहिले न्यौपाने चितवनमा तीनै क्षेत्रबाट एमालेलाई जिताउने अभियानमा छन्। प्रचण्डले चितवन छाडेर गोरखा गएको परिस्थितिमा चितवनको चुनावी चहलपहल र एमालेको अवस्थामाबारे उनै न्यौपानेसँग गरेको कुराकानीको सम्पादित अंश

निर्वाचन आइसक्यो, चितवनमा एमालेको नतिजा कस्तो होला? 
निर्वाचनको सन्दर्भमा चितवन क्षेत्र नम्बर १ र २ मा हाम्रै उम्मेदवार छन्। क्षेत्र नम्बर ३ मा कांग्रेसबाट विद्रोह गरेका स्वतन्त्र उम्मेदवारलाई सघाएका छौँ। निर्वाचन घोषणा भइसकेपछि सूर्यध्वजावाहक उम्मेदवार जनताको बीचमा छन्। एमालेप्रतिको आकर्षण बडेको छ। हामी क्षेत्र नम्बर १ का संघीय र प्रदेश दुवैमा बलियो अवस्थामा छौँ । स्थानीय निर्वाचन परिणाम र बाहिरिएका साथीहरुलाई पनि ल्याएर बलियो छौँ

१ र २ बलिया क्षेत्र हुन्। हामी सहज रुपमा जित्छौँ। ३ नम्बर क्षेत्रमा हामीले गठबन्धनका बागीलाई सघाएकाछौँ। हामीले समर्थन गरेको उम्मेदवारलाई जिताउने गरी लागेका छौँ। पार्टीबाहिरकालाई दिँदा केही गुनासो थियो। असन्तुष्टि भए पनि सघाउँछौँ

दिनेश कोइरालालाई सघाउनुको कारण के त?

कारण यही भन्दा पनि राष्ट्रिय राजनीतिमा जुन विषय उठिरहेका छन्। नेपाली कांग्रेसभित्र जुन विवाद देखिएको छ। शेरबहादुर देउवाले जुनखालको गठबन्धन र राज्यसंयन्त्रमा भइरहेको ब्रह्मलुट रोक्न पनि कांग्रेसभित्रबाटै विद्रोह गर्नेलाई सघाएका हौँ । यो देशमा सहजताको अवस्था निर्माण गर्न पनि भएको निर्णय हो।

स्थिरताको राजनीतिलाई अघि बढाउन कांग्रेसभित्रको एउटा शक्तिलाई ल्याउनुपर्ने पनि चुनौती छ। त्यसकारण पनि गठबन्धनभित्रको विद्रोहलाई सघाएको हो। केन्द्रीय अध्यक्षले पनि त्यही धारणा बनाएपछि हामीले समर्थन गरेर जिताउन लागेका छौँ ।

तपाईंको उम्मेदवारी स्थगन गरेर दिनेशजीलाई सघाउँदा कार्यकर्ता रिसाएनन्?
यो पटक क्षेत्र नम्बर ३ मा एमालेले चुनाव जित्ने अवस्था थियो। किन पनि थियो भने प्रचण्डजीलाई २०७४ सालमा हामीले समर्थन गरेर जिताएका थियौँ। त्यो परिस्थितिमा यो पटक चितवनबाट भागेर गोरखा जानु भयो। यस्तोमा माओवादी केन्द्रमा लामो समय अध्यक्ष रहनु भएका यामबहादुर परियारसहितका टोली एमालेमा प्रवेश गर्यो। माओवादीबाट क्षेत्र नम्बर ३ मा र जिल्लामै पकड भएको यो टोली प्रचण्डसँग निकट भएर काम गरिरहेको थियो। त्यो टोली नै एमालेमा प्रवेश गरेपछि हामीले जित्ने पक्का जस्तै थियो। त्यो परिवेशमा एमालेको उम्मेदवार भइदिए हुन्थ्यो भन्ने परिस्थिति थियो। त्यो अवस्था नबन्दा स्वभाविक रुपमा आक्रोशत, निराश पैदा भयो। तर एमाले विकास र समृद्धिलाई बोकेको पार्टी भएकाले एउटा क्षेत्र छाड्दैमा निराश हुनुपर्ने अवस्था होइन। 

त्यसकै आधारमा पार्टीले सधैँ गलत गर्यो भन्न पनि हुँदैन। मुलुकको आवश्यकतालाई महत्व राख्दा मेरो उम्मेदवारी रहनु नरहनु दोस्रो कुरा हो। यो निर्वाचन क्षेत्रमा जनताले मत हाल्न नपाउँदा अन्याय भयो। तर त्यसको क्षतिपूर्ति हामीले सरकार बनाएर गर्न सकिन्छ। ३ नम्बर क्षेत्रलाई अन्याय भएकोमा सबैलाई न्याय गरिने अध्यक्षले बताउनु भएको छ। ३ नम्बर क्षेत्रलाई केन्द्रीय योजनाअनुरुप ध्यान दिने कुरा अध्यक्षबाट भएको छ। मलाई पनि तपाईंले चिन्ता नगर्नु त्यहाँका जनतालाई सम्झाउनु भन्नु भएको छ। त्यसो भएर हामीले समर्थन गरेको उम्मेदवार जिताएर पठाएर एमालेविरुद्धको घेराबन्दी तोड्न सकिन्छ। हामीले त्याग गरेर पनि नेपाली जनतालाई जिताउने अभिभारा पूरा गर्दैछौँ।

यहाँबाट प्रचण्डलाई जिताउनु भएको हो। तर, प्रचण्डलाई हराउनकै लागि तपाईंहरुले दिनेश कोइरालालाई सघाउने योजना बनाएको भन्ने छ नि? 
प्रचण्डजी नेपाली कम्युनिष्ट आन्दोलनलाई विस्तार गर्ने कुराको बाधक हुनुभयो। नेकपाको सरकार बन्दाखेरी नै उहाँले प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र गर्नुभयो, गतिविधि गर्नुभयो। गणतन्त्र आइसक्दा पनि उहाँले सरकारलाई पाँच वर्ष टिक्न नदिने काम गर्नुभयो। अहिले जारी अस्थिरताको मूल नाइके नै प्रचण्ड हो। 

नेपाली जनताले पनि यही बुझेका छन्। प्रचण्ड यदि चितवन ३ मा आएका एमाले एक्लै हराउन सक्षम थियो। तर अन्य साथीहरुलाई पनि साथमा लिएर हराउन सकिने निष्कर्षसहित छलफल थालेका थियौँ। त्यहीकारण हामी प्रचण्डलाई रोक्ने तयारीमै थियौँ। हाम्रो मिसन भनेको गठबन्धनका नाममा यो १८ महिना राष्ट्रलाई बन्धक बनाउनेविरुद्ध हो। परमादेशी र कम्फरटेबल सरकारका कारण देश कंगाल बन्दैछ। बैंकको साढे ८ प्रतिशतको व्याजदर १४ प्रतिशतमा पुगेको छ। दुई छाक टार्न पनि मुस्किल पर्ने अवस्था छ। यो सरकारका कारणले यो सबै संकट आएको हो। प्रधानमन्त्रीलाई कुर्सीमा टाँसिइरहने बाध्यता छ। प्रचण्डलाई आफ्नो परिवारको सुखसयल भए पुग्यो। आफू सुरक्षित हुन पाए पुग्छ। यो गठबन्धनलाई पराजित गर्नैपर्छ। 

प्रचण्ड यहाँ हुँदा चितवनको राम्रो विकास भयो भनिन्छ। अब उता गएपछि त कुरो बिग्रियो नि? 
खै त नारायणी तटबन्ध बन्यो? जसलाई एमाले सरकारले अघि बढाएको थियो। रेवा तटबन्ध पनि अघि बढेन। राप्ती करिडोरमा कुनै काम भएन। निकुञ्जपीडित जनताले कुनै राहत पाउन सकेनन्। राष्ट्रिय नेता भएर पनि प्रचण्डले कुनै काम गर्नुभयो भन्ने छैन। उहाँले माडीको जंगल पार गर्न आकाशे पुलको कुरा गर्नुभएको थियो। खै त्यो बन्यो? कुनै योजना अघि बढेका छैनन्। प्रचण्डजीबाट चितवन र ३ नम्बर क्षेत्रमा विकासका कुनै योजना अघि बढ्न सकेनन्। प्रचण्ड यहाँ आउँदा विकास हुन्छ भन्ने कुरा नै खण्डित भइसकेको छ। नेपालको मध्यभागमा पर्ने भएकाले चितवनको विकास नगरी सुखै छैन। गठबन्धनसँग विकासको मोडलको कुनै योजना छैन। 

एमालेसँग विकासको योजना छ। हामीले महानगमा पनि यदि जित्यौँ भने हरेक वडालाई ५ करोड दिन्छौँ भनेका थियौँ। महानगरमा ६ अर्बको बजेट हुँदा पनि वडामा डेढ करोड जाँदैन। हामीले सुरुमै हरेक वडामा ५ करोड दिन्छौँ भनेका हौँ। एमालेसँग त विकासको भिजन छ नि! हामीले आफ्नो गाउँ आफैं बनाऊँ योजना ल्यायौँ। अहिले पालिकामा करोडौँ बजेट जान्छ। भरतपुरमै केन्द्रबाट २ अर्बभन्दा धेरै बजेट आउँछ। त्यो सबै एमालेका भिजनका कारण सम्भव भएको हो। विकासका नीति र बजेट तलसम्म पुर्‍याउने काम एमालेले गरेको हो। अहिले राष्ट्रिय बजेट खर्च हुन सकेको छैन। गठबन्धनका कारण बजेट तलसम्म वितरण हुनै सकेन। यस्तो अवस्थामा प्रचण्डजी चितवनमा नहुँदा नै चितवनले विकासको गति लिन्छ। 

तपाईंहरुले एउटा गोलीले दुई शिकार गर्न खोज्नु भयो, एउटा गठबन्धन तोड्न विद्रोहीलाई समर्थन। अर्को प्रचण्डलाई हराउने चक्रव्यूह रच्नु भयो। त्यो थाहा पाएर प्रचण्डजी गोरखा जानु भयो। यसले के फाइदा बेफाइदा भयो? 
प्रचण्डजी यो संसदमा जाने कुराले देशलाई अस्थिरतामै लैजान्छ। गठबन्धनमा हेर्नुस् न, गगनजी, प्रकाशमानजी पनि प्रधानमन्त्री बन्ने भन्नुहुँदैछ। शेरबहादुर देउवाजी त प्रधानमन्त्री नै हुनुहुन्छ। देउवा नभए आरजु पनि कस्सिरनहुन भएको छ। 

प्रचण्ड पनि कांग्रेसलाई मिलाएर खेलो फड्को गरेर प्रधानमन्त्री हुने दौडमा हुनुहुन्छ। उहाँलाई हामीले अध्यक्ष बनायौँ तर उहाँ आफ्नो सरकार ५ वर्ष टिकाउने भन्दा असफल बनाउन लाग्नु भयो। पार्टी फुटाउनेतिर लाग्नु भयो। प्रचण्डजी अस्थिरताको प्रतीक हो, अस्थिरताको नायको हो। त्यसकारण हामी उहाँलाई चितवनबाट हराउँथ्यौँ, त्यसमा दुई मत नै छैन। अब उहाँलाई गोरखाली जनताले पनि देशका लागि न्याय गर्नेछन्। प्रचण्डजीलाई बिदा गरेर देशको राजनीतिलाई पनि संग्ल्याउनु जरुरी छ। यो मुलुक र व्यवस्थाको फाइदा हो। म गोरखाली जनतालाई आग्रह गर्छु, प्रचण्डजीलाई हराउनुस्, यो देशका लागि फाइदाको कुरा हो।

अनि एमालेजनले दिनेशजीलाई दिन्छन् त मत? 
मलाई विश्वास छ एमालेको मत दिनेशजीलाई जान्छ। पार्टी निर्णय भए पनि कठिनाइ हुन्छन्। तर कठिनाइ किन सहने भन्ने जनताले बुझ्नु हुन्छ। चितवन ३ को कठिनाइ हामी सहन्छौँ। दिनेशजी गठबन्धनविरुद्ध आएकाले हामीले साथ दिएका थियौँ। देउवाले विधि सके थिति सके, बीपीको सिद्धान्त सके भनेर मैदानमा आएकाले एमालेले सघाएको हो। 

दिनेशजीलाई हामीले एमालेको विकास र समृृद्धिको एजेन्डामा सहयोगी भूमिका खेल्ने गरी सघाएका हौँ। दिनेशजीले देउवालाई प्रधानमन्त्री बनाउन सघाउनु हुन्न। उहाँले कांग्रेस सुधार्ने भन्नु भएको छ। त्यो उहाँको आन्तरिक लडाइँ हो। तर, गठबन्धनको गैरजिम्मेवारीविरुद्ध उहाँले आफूलाई मैदानमा उतारेकाले एमालेले साथ दिएको हो। 

नेपालखबर

Related News

‘सहकारी क्षेत्रमा सुशासनसहितको शुद्धीकरणलाई प्राथमिकता दिएर अगाडि बढ्छौं’
‘सहकारी क्षेत्रमा सुशासनसहितको शुद्धीकरणलाई प्राथमिकता दिएर अगाडि बढ्छौं’
  • २०७९ कार्तिक २२, मंगलवार १६:४७ गते

बचत तथा ऋण सहकारी संस्थाहरूको राष्ट्रिय महासंघ अर्थात् नेफ्स्कुन (नेसनल फेडरेसन अफ सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ्स अफ नेपाल) को पुस...

वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठग्ने घटना बढे
वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठग्ने घटना बढे
  • २०७९ कार्तिक २२, मंगलवार १६:४७ गते

पछिल्लो समय अपराधका स्वरूप बदलिन थालेका छन् । अन्य अपराधका घटनाका तुलनामा आर्थिक अपराधको संख्या बढी रहेको प्रहरीको तथ्याङ्क छ...

रामचन्द्र दाइले अघि बढाएका योजना डोर्‍याउन उत्तराधिकारीको रूपमा म आएको छु : गोविन्द भट्टराई
रामचन्द्र दाइले अघि बढाएका योजना डोर्‍याउन उत्तराधिकारीको रूपमा म आएको छु : गोविन्द भट्टराई
  • २०७९ कार्तिक २२, मंगलवार १६:४७ गते

आगामी १० वैशाखमा हुने तनहुँ–१ को उपनिर्वाचनमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ । उक्त क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवारका...

TOP