काठमाडौं, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले बिहीबार मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने छन्।
निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ।
सोही अनुरुप बिहीबार मध्यरातदेखि उम्मेदवारहरूले मत माग्न पाउने छैनन्। दल तथा उम्मेदवारले चुनाव प्रचार कात्तिक १७ मा सुरु गरेका थिए।
निर्वाचन आयोगले बिहीबार मध्यरातपछिको अवधिलाई विशेष समयका रूपमा व्याख्या गरेको छ।
विगतमा यसलाई मौन अवधि भनिए पनि कानुनमा मौन अवधि नरहेकाले शून्य समय पनि भनिएको थियो। तर, ४८ घण्टा भनेको स्थिर समय भएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।
आइतबार बिहान ७ बजे मतदान सुरु हुने भएकाले बिहीबार राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार निषेध हुने उनले जानकारी दिए।
यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाउने छैनन्।
निर्वाचन आचारसंहिताअनुसार बिहीबार मध्यरातदेखि सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन।
मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ।
निर्वाचन सुरक्षाका लागि भन्दै निर्वाचन हुनु ७२ घण्टाअघि अर्थात् बुधबार राति १२ बजेदेखि मुलुकका सबै नाका बन्द गरिने भएको छ।
बन्द नाका मतदान सकिएपछि मात्रै खुला गर्ने अभ्यास छ। मुलुकको सुरक्षा अवस्था र निर्वाचन सुरक्षा तयारीबारे सुरक्षा निकायले निर्वाचन आयोगका पदाधिकारीलाई जानकारी गराइसकेका छन्।
प्रतिनिधिसभाका १ सय ६५ सिटमा २ हजार ४ सय १२ र सातै प्रदेशका ३ सय ३० सिटका लागि ३ हजार २ सय २३ उम्मेदवार छन्।
१ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताका लागि आयोगले १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र तोकेको छ।
सम्बन्धित कर्मचारीलाई बिहीबारसम्म मतदान केन्द्रमा पुगिसक्न आयोगले निर्देशन दिएको छ। आयोगका अनुसार निर्वाचनमा २ लाख ४७ हजार कर्मचारी खटिनेछन्।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...