२०८० मंसिर २०
December 6, 2023, Wednesday

भोट हाल्न छाडेर खाडी र कोरिया उड्न विमानस्थलमा लाइन

भोट हाल्न छाडेर खाडी र कोरिया उड्न विमानस्थलमा लाइन

काठमाडौ, आम निर्वाचनको २ दिनअघि मात्र पूर्वी नवलपरासीका हेमबहादुर महतो रोजगारीका लागि दक्षिण कोरिया उड्दै छन्।

नेपालको नीति र थिति कस्तो बनाउने भनी निर्धारण गर्ने निर्वाचनभन्दा महतोलाई कोरियामा जागिरको चिन्ता छ।

उनले चाहेको भए पहिला नै २–३ दिनपछिको टिकट काट्न सक्थे। तर विगतमा भोट हाल्दा पनि केही फरक महशुस नभएकाले यसपटक उनले भोट हाल्न छाडेर कोरियाको टिकट काट्ने निर्णय लिए।

‘कोरियन भाषा पास गरी ४ वर्षअघि कोरिया गएको थिएँ’, शुक्रबार कोरिया उड्नुअघि महतोले भने, ‘५ वर्ष बस्न पाउने भएपनि कोभिडको कारण १ वर्ष थप बस्न भिसा दिएको छ। विदा सकिन लागेकाले निर्वाचनअघि नै जान थालेको।’

उनलाई निर्वाचनको विषयमा बढी ध्यान छैन। आफ्नो क्षेत्रमा को को उम्मेदवार छन् छ भन्ने जानकारी नै छैन।

‘हाम्रोमा २ वटा निर्वाचन क्षेत्र छन्। फेरि प्रदेश पनि छन्’, उनले थपे, ‘मैले क–कसलाई भोट हाल्नुपर्ने हो थाहा छैन। घरमा चुनावको कुनै माहोल नै देखिनँ।’

स्थानीय तहको निर्वाचनमा भने बढी माहोल देखेको र उम्मेदवार पनि चिनेको उनको भनाइ छ।

‘पहिला २ पटक भोट हालेको हो। पुराना पार्टीलाई नै भोट दिएको थिएँ’, उनले भने, ‘अहिले स्वतन्त्र पनि छन् रे१ तर उम्मेदवार को छ चिनेको छैन।’

पहिला भोट अनि विदेश

चुनाव निश्चित भएपछि निर्वाचन आयोगले पहिला भोट हाल्ने अनि विदेश जाने भिडियो सन्देश सामाजिक सञ्जालमा राखेको थियो।

चुनावमा सहभागी हुन जनतालाई सुसूचित गर्ने उद्देश्यले आयोगले भिडियो राखे पनि विदेशिनेहरुका लागि त्यो केवल ‘मनोरञ्जन सामग्री’ जस्तै भएको छ।

आयोगको उक्त सन्देश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षको भीडलाई ‘मजाक’ लाग्छ।

देशलाई कस्तो बनाउने, शासनसत्ता कसलाई सुम्पिने, कुन नेतृत्व ठीक छ भनेर जनताले नेता छान्न पाउने दिन भए पनि मंसिर ४ को निर्वाचनप्रति विदेशिनलागेका युवा आशावादी देखिँदैनन्।

आफूले अनुमोदित गर्ने बेला विदेश उड्न लागेका धेरैलाई भोट हाले पनि देश सुध्रेला भन्ने नै लाग्दैन।

दुवईमा जाने आउने गरेका पोखरा महानगरमै घर भएका एक जनाले विमानस्थलमै आक्रोशित हुँदै भोट हालेर फाइदा नभएको सुनाए।

‘पहिला पार्टीको झोला बोकेरै हिँडेको हो। उम्मेदवारको पनि प्रचार गर्न गएँ’, उनले भने, ‘निर्वाचित भए पनि एक पटक पनि हाम्रो क्षेत्रमा फर्किएनन्। अरु के गर्छन् ?’

उनले नेपालमै रोजगारी दिने भए विदेश नगई आफू यतै बस्न तयार रहेको बताए। ‘रोजगारी पाएको भए दुवईमा काम गर्न जाने रहर हुन्थ्यो ररु’, उनी भन्छन्, ‘कोही नेताले नेपालीको लागि केही गर्दैनन्।’

वैदेशिक रोजगारीमा जानलागेका अधिकांश युवाहरु नेपालको राजनीति र निर्वाचनको विषयमा बोल्नै चाहँदैनन्। बोले पनि नाम बताउन चाहँदैनन्। मिडियामा बोल्दा पछि आफूलाई अप्ठ्यारो पर्नसक्ने बुझाइ उनीहरुको छ।

मलीन अनुहारमा विदेश उड्छन् युवा

बोर्डिङ पास लिन लाइनमा बसेका अधिकांश युवा मलीन अनुहार बनाएरै भित्र छिर्छन्। आफन्त डाँको हालेर रुन्छन्। युवाहरुलाई विदेश जानु रहर नभई बाध्यता बनेको छ।

‘पहिलो कुरा त नेपालमा काम गरेर खान्छु भने पनि जागिर पाइँदैन। जागिर पाइहाले यहाँको महँगीअनुसार धान्नै सकिँदैन’, कतार जानलागेका सुनसरीका एक युवा मतदाताले भने, ‘नेताको चिन्ताभन्दा हामीलाई खाने र लगाउनेकै चिन्ता छ।’

विदेश जानैपर्ने भए पनि भोट हालेरै जानुपर्छ भन्ने गरी निर्वाचनले उनीहरुलाई उत्साहित नपारेको विमानस्थलको माहोलले देखाउँछ।

बाहिरिने सबैको एकै आशय छ, ‘जसलाई भोट हाले पनि एकै व्यक्ति मन्त्री र प्रधानमन्त्री बन्ने चिन्ता छ। जो मन्त्री र नेता भए पनि हामीलाई विदेशै जानुपर्छ।’

विदेशिने युवाहरु देशको रोजगारी, बढ्दो महँगी र बस्न नसकेको थितिबारे गुनासो गर्दै देश छाड्नुको विकल्प नरहेको बताउँछन्।

‘युवालाई रोजगारी, महँगी र एउटा सिस्टम बसाले विदेश किन जान्थ्यौँ र ? ’, काठमाडौंमा केही समय टेम्पो चलाएर फाइदा नदेखेपछि शुक्रबार साँझ साउदी अरेबिया हानिन विमानस्थल आइपुगेका अर्का युवाले भने, ‘मुख्य रोजगारी नै हो।

त्यसपछि महँगी नियन्त्रण हुनुपर्छ।’ नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो ३ महिनामा मात्रै वैदेशिक रोजगारीमा जाने करिब २ लाख छन्। जसमा १ लाख ४७ हजार नयाँ र ५७ हजार फेरि जानेहरु छन्।

पछिल्लो ३ महिनामा वैदेशिक रोजगारीमा जाने देशमा सबैभन्दा बढी मलेसिया, कतार, दुवई, कुवेत र साउदी अरेबिया छन्।

मतदान गर्दाको फाइदा जनतालाई नभई नेतालाई मात्रै भएको उनीहरुको बुझाइ छ।

Related News

अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
  • २०७९ मंसिर ३, शनिबार ०७:४८ गते

औषधी  व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी...

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ मंसिर ३, शनिबार ०७:४८ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
  • २०७९ मंसिर ३, शनिबार ०७:४८ गते

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...

TOP