२०८१ बैशाख ६
April 18, 2024, Thursday

उम्मेदवार बनेका कलाकारको निराशाजनक नतिजा

उम्मेदवार बनेका कलाकारको निराशाजनक नतिजा

काठमाडौ, आमनिर्वाचनको मतगणना कतिपय स्थानमा सकिएको छ भने कतिपय स्थानमा जारी छ । विगतका निर्वाचनमा झै यो पटक पनि नेपाली कलाक्षेत्रका थुप्रै कलाकर्मी विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्रबाट प्रतिनिधिसभा तथा प्रदेशसभा उम्मेदवार बनेका थिए ।

अभिनेत्री रेखा थापा, गायिका कोमल वली, अभिनेता तथा निर्माता रोज राणा, अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठ, निर्देशक बसन्त पोखरेल, गायक तथा कलाकार मुरलीधर, कलाकार मधुसुदन पाठक, अभिनेता राज तिमिल्सेना, गायक संजय श्रेष्ठ, अभिनेता तथा वितरक करण श्रेष्ठ, निर्देशक मनोज पण्डित, गायक दर्पण कुसुम्या, अभिनेता सम्राट सापकोटा, हिमेश पन्त लगायत उम्मेदवार बनेका थिए ।

उम्मेदवार बनेका यी कलाकारमध्ये केही प्रतिनिधिसभा सदस्य र केही प्रदेशसभा सदस्यको उम्मेदवार थिए । दुई उम्मेदवार ९रोज राणा र मदुकुमार श्रेष्ठ० बाहेक अन्यले विजय हासिल गर्न भने सकेनन् ।

प्रदेशसभामा २ कलाकारको जीत, ४ पराजित

निर्वाचनमा यो पटक प्रदेशसभा सदस्यतर्फ ६ कलाकर्मी उम्मेदवार बनेका थिए । तीमध्ये दुई जनामात्र विजयी भए । अभिनेता तथा निर्माता रोज राणा र मदुकुमार श्रेष्ठले प्रदेशसभा सदस्यमा विजय प्राप्त गरेका हुन् ।

रोज प्यूठान प्रदेशसभा ‘ख’ बाट विजयी भएका हुन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका राणाले २२ हजार ५१८ मतका साथ विजय प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरि रिजालले २० हजार ८०७ मत पाएका थिए । राणा कांग्रेसको प्यूठान क्षेत्र नं. २ का क्षेत्रीय सभापति पनि हुन् ।

त्यस्तै अभिनेता मदुकुमार धादिङ–१ को प्रदेश (क) बाट विजयी भएका हुन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनले एमाले उम्मेदवार रमेश आचार्यलाई पछि पार्दै जीत हासिल गरेका हुन् ।

मदुकुमारले १७ हजार ८३२ मत प्राप्त गर्दा रमेशले १६ हजार ५३८ मत प्राप्त गरेका थिए ।

मदुकुमारले केही फिल्म निर्माण तथा केहीमा अभिनय गरेका छन् भने रोजले ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘टक्कर दुई मुटुको’ लगायत आधादर्जन फिल्म निर्माण र निर्देशन गरेका छन् ।

प्रदेशसभातर्फ अभिनेता तथा फिल्म वितरक करण श्रेष्ठ ‘क्रेजी’, अभिनेता तथा निर्माता राज तिमिल्सेना, गायक दर्पण कुसुम्या र अभिनेता सम्राट सापकोटा उम्मेदवार बने पनि सफल हुन सकेनन् ।

करण लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट काठमाडौं–१ को प्रदेश ‘ख’ को उम्मेदवार बनेका थिए भने राज हाम्रो नेपाली पार्टीको तर्फबाट काठमाडौं–२ प्रदेश (क) बाट उम्मेदवार बनेका थिए ।

त्यस्तै गायक दर्पण बर्दिया–२(क) बाट प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका थिए ।

सम्राट काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश (क) मा नेपाल सुशासन पार्टीबाट उम्मेदवार बनेका थिए । प्रदेशसभा तर्फ उम्मेदवारको रुपमा देखिएका ६ उम्मेदवारमध्ये पराजित भएका चार जनाले सम्मानजनक मतसमेत प्राप्त गर्न सकेनन् ।

प्रतिनिधिसभामा ८ कलाकर्मी उम्मेदवार, विजयी शून्य

कलाकर्मीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको रुपमा राम्रै उपस्थिति रह्यो । अभिनेत्री रेखा थापा, गायिका कोमल वली, निर्देशक बिसन्त पोखरेल, गायक तथा कलाकार मुरलीधर, कलाकार मधुसुदन पाठक, गायक संजय श्रेष्ठ, निर्देशक मनोज पण्डित, कमेडियन हिमेश पन्त गरेर ८ कलाकर्मी उम्मेदवार थिए ।

यीमध्ये अभिनेत्री रेखा थापाबाहेक सबै पराजित भएका छन् । रेखा थापा उम्मेदवार बनेको मोरङ क्षेत्र नम्बर ३ को मत गणना अझै सकिएको छैन । तर मत परिणाममा उनी धेरै पछि छिन् ।

गायिका तथा नेकपा एमालेकी नेतृ कोमल वली दाङ–३ बाट उम्मेदवार बनेकी थिइन् । एमालेबाट उम्मेदवार बनेकी कोमल नेपाली कांग्रेसका दिपक गिरीसँग पराजित बनिन् ।

वलीले २९ हजार ३२ मत प्राप्त गर्दा दीपक ३६ हजार ८४२ मतका साथ विजयी भए । निर्देशक बसन्त पोखरेल ‘एकीकृत शक्ति नेपाल’ पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका थिए । उनी पनि पराजित भए ।

हाँस्य शृंखला ‘सक्किगो नि’ मा ‘सीते बा’ को भूमिका निर्वाह गर्दै आएका कलाकार मधुसुदन पाठक काठमाडौं–५ मा उम्मेदवार बनेका थिए । काठमाडौं–५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी भए ।

लोकप्रिय गायक सञ्जय श्रेष्ठ काठमाडौं–६ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए । काठमाडौं–६ मा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन् । लामो समय राप्रपामा रहेका संजयलाई स्वतन्त्रका रुपमा जनताले नपत्याएको देखिन्छ ।

फिल्म निर्देशक मनोज काभ्रेपलाञ्चोक–२ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए । एमालेका गोकुल बास्कोटालाई हराउने उद्देश्यले स्वतन्त्र उम्मेदवार बनेका उनको उद्देश्य पूरा भएन । यो क्षेत्रमा एमालेका गोकुल बास्कोटा नै विजयी भए ।

चर्चित गायक तथा कलाकार मुरलीधर सिरहा क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् । यो क्षेत्रको मतगणना अझै जारी छ ।

अहिलेसम्मको मत गणनामा सो क्षेत्रमा राजकिशोर यादव अगाडि छन् । मुरलीधर भने प्रतिस्पर्धामा निकै पछाडि परेका छन् ।

कमेडियन हिमेश पन्त धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका पन्तको क्षेत्रमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले विजय प्राप्त गरे ।

यो क्षेत्रबाट आफ्नो मत परिणाम राम्रो नभएपछि पन्तले सामाजिक सञ्जालमार्फत त्यहाँका मतदातालाई अपमानजनक टिप्पणीसमेत गरेका छन् ।

पार्टीमै सक्रियले जिते, चर्चित अनुहारले हारे

निर्वाचनमा कलाकर्मीबाट उम्मेदवार बनेकामध्ये पार्टीको सक्रिय राजनीतिमा पहिले देखिनै रहेकाले विजय प्राप्त गरेका छन् भने चर्चित अनुहार र विभिन्न पार्टी चहार्दै हिँड्ने कलाकर्मी पराजित भएका छन् । यो पटक नाम चलेका कलाकारलाई नै दर्शकले नपात्याएको देखियो ।

निर्वाचनमा प्रदेशसभातर्फ निर्माताद्वय रोज राणा र मदुकुमार श्रेष्ठ विजयी भए । नायक तथा निर्माताको रुपमा फिल्म क्षेत्रमा परिचित यी दुवै नेपाली कांग्रेस पार्टीबाट उम्मेदवार बनेका थिए ।

दुवै लामो समयदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा छन् । उनीहरुको आफ्नो क्षेत्रका मतदाताको मन जित्न सफल भए ।

उम्मेदवार बनेका चर्चित अनुहारमध्ये अभिनेत्री रेखा थापा, गायिका कोमल वली, गायक संजय श्रेष्ठ लगायत भने पराजित भए ।

रेखाले १० हजार पनि मत कटाउन सकेकी छैनन् । उनी माओवादीबाट राप्रपामा प्रवेश गरेकी हुन् ।

यस्तै कोमल वली पनि पराजितको सूचीमा थपिएकी छन् । उनी राप्रपाबाट एमालेमा छिरेकी थिइन् । गायक संजयले पनि राप्रपामा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यी बाहेक उम्मेदवार बनेका कलाकर्मीको राजनीतिमा खासै योगदान देखिन्न ।

Related News

नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
  • २०७९ मंसिर १०, शनिबार ०८:५५ गते

काठमाडौं, वैशाख ६ गते। नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति...

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७९ मंसिर १०, शनिबार ०८:५५ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

बस र सुमो ठोक्किँदा सात घाइते
बस र सुमो ठोक्किँदा सात घाइते
  • २०७९ मंसिर १०, शनिबार ०८:५५ गते

बनेपा, वैशाख ६ गते । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका –२ बेलामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा सात जना यात्रु...

TOP