२०८० मंसिर २१
December 7, 2023, Thursday

दुवै गठबन्धन सम्पर्कमा छन्, सरकारमा जान सक्छौँ : सीके राउत (अन्तर्वार्ता)

दुवै गठबन्धन सम्पर्कमा छन्, सरकारमा जान सक्छौँ : सीके राउत (अन्तर्वार्ता)

एकाधबाहेक प्रतिनिधिसभाको सबै क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ। समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा छ। केही दिनभित्रै परिणाम सर्वाजनिक हुँदैछ। तर सार्वजनिक भएका मतपरिणामले दुवै गठबन्धनमध्ये कुनैलाई पनि सरकार बनाउन सहज नहुने देखाएको छ। ५ दलीय गठबन्धनमा रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पाटी(लोसपा) र जनमोर्चाले जितेका क्षेत्रका साथै समानुपातिकमा अहिले आइरहेको परिणामलाई आधार मान्दा सरकार बनाउन आवश्यक संख्या जुटाउन हम्मे पर्ने देखिन्छ। 

यस्तै नेकपा एमाले–जनता समाजवादी पार्टी (जसपा) गठबन्धनलाई पनि सरकार बनाउन सहज छैन। दुवै गठबन्धनलाई सरकार बनाउन कठिन हुने भएपछि साना दल तान्ने कोसिस भएको छ। संघीय सरकार बनाउन डा. चन्द्रकान्त राउत (सीके) नेतृत्वको जनमत पार्टीले निर्णायक भूमिका निर्वाह गर्न सक्ने देखिएको छ। जनमतले १ प्रतिनिधिसभा क्षेत्रमा जित्नुका साथै समानुपातिकमा पनि थ्रेस होल्ड कटाएर राष्ट्रिय दल बन्ने पक्का भएको छ। राष्ट्रिय दल बनेकाले जनमतले समानुपातिकमा केही सांसद पाउने भएको छ। सरकार बनाउन दलहरुबीच छलफल बाक्लिएको समयमा जनमत पार्टीलाई दुवै पक्षको तर्फबाट अफर आएको हो। यसका साथै मधेश प्रदेश सरकार बनाउन समेत दुवै गठबन्धनलाई जनमत पार्टीकै भर पर्नुपर्ने देखिएको छ। जनमत पार्टी संघ सरकार र प्रदेश सरकारमा जान्छ या जाँदैन? निर्वाचनमा राम्रो परिणाम आएपछि जनमतको आगामी रणनीति के होला? यी लगायत विषयमा पार्टीका अध्यक्ष डा. सीके राउतसँग गरिएको कुराकानीको सम्पादित अंश :

जनमत पार्टीले पहिलो प्रयासमै यति ठूलो सफलता पाउला भन्ने सोच्नु भएको थियो?
हो,  यो निर्वाचनमा हामीले सफलता प्राप्त गरेका छौँ। तर जनतामाझ हामी पहिलो पटकमा गएका भन्ने होइन। १०/११ वर्षदेखि निरन्तर हामी जनताबीच रहेर संघर्ष गरिरहेका छौँ। उनीहरुको सुखदुःखमा हामी साथमै थियौँ। निर्वाचनमा पहिलो पटक हो, जनतामाझ गएको। जनताकैबीचमा रहेर पहिल्यैदेखि नै काम गर्दै आएकाले यहाँका मतदाताले हामीलाई अवसर दिएका हुन्।

निर्वाचनअघि १० प्रतिनिधिसभा क्षेत्रमा जित निकाल्ने दावी गर्नुभएको थियो, तर प्रत्यक्षमा एक सिटमै सीमित हुनुभयो नि?
स्वच्छ र भयरहित निर्वाचन हुन नसकेकाले परिणाम हामी अनुकुल रहन सकेन। निर्वाचनमा दुईवटा गठबन्धन होमिएका थिए। यो गठबन्धनको राजनीतिले निर्वाचनलाई स्वच्छ र भयरहित बन्न दिएन। त्यसैले हामीले सोचेअनुरुप परिणाम आएन। तर मतदाताले दिएको जनादेशलाई हामी सम्मान गर्छौँ।

निर्वाचनमा धाँधली भयो भन्न खोज्नु भएको हो?
निश्चित रुपमा निर्वाचनमा ठाउँ ठाउँमा धाँधली भयो। पटक पटक हामीले यसको प्रमाण हामीले पेश गरेका छौँ। सप्तरी क्षेत्र नम्बर १ कै कुरा गर्ने हो भने हामी झिनो मतान्तरले पराजित हुन पुग्यौँ। जबकि त्यहाँ समानुपातिकमा जनमत पार्टीको सबैभन्दा बढी मत छ। हामीले कयौँ यस्ता मतपेटिका पनि पायौँ जहाँ एउटै दलको मत थियो। कुनै पनि बाकसमा एउटै दलको मत आउनु र कुनै मत बदर नहुनु सम्भव छैन। कतिपय ठाउँमा हाम्रो कार्यकर्तामाथि आक्रमण गरिएको छ। यसका प्रमाण हामीसँग सुरक्षित छन्।

निर्वाचनअघि सबैको ध्यान सप्तरी २ मा केन्द्रित थियो। तपाईँलाई विश्वास थियो जित निकाल्छु भनेर?
निर्वाचन कोही पनि हार्न लड्दैन। जित्छु नै भनेर लडेको हो। सप्तरीका जनताले ममाथि विश्वास देखाए यसका लागि आभारी छौँ।

मधेश प्रदेश सरकार निर्माणको साँचो अब तपाईँको हातमा छ। जनमत पार्टीबिना कुनै पनि गठबन्धन सरकार बनाउन नसक्ने स्थितिमा पुगेका छन्, के गर्नु हुन्छ?
हामी स्पष्ट छौँ, हाम्रो माग जुन गठबन्धनले बढीभन्दा बढी सम्बोधन गर्न सक्छ, हामी त्यतै लाग्ने हो। चाहे त्यो ५ दलीय सत्तारुढ गठबन्धन होस वा एमाले–जसपा गठबन्धन। हाम्रो ढोका सबैका लागि खुल्ला छ। हामी सरकारमै जानुपर्छ भन्ने पक्षमा छैनौँ। बाध्यता भएमा मात्रै हामी सरकारमा हुनेबारे सोच्छौँ।

तर तपाईँमाथि एमालेसँग नजिकको सम्बन्ध रहेको आरोप लाग्दै आएको छ नि?
यो सब मिथ्या आरोप हो। नजिक भएको भए एमालेले हामीलाई यो निर्वाचनमा सघाउनु पर्थ्यो नि! तर सहयोग गरेन। मैले लडेको निर्वाचन क्षेत्रमा पनि त सहयोग गरेन। जनमत पार्टीको कार्यकर्ताको हिरासतमा मृत्यु पनि एमाले सरकारमा रहेको बेला भएको थियो।। हामीमाथि यातना एमाले नेतृत्वकै सरकारको पालामा भयो। एमालेसँग नजिक भएका यी सबै अपुष्ट कुरा हुन्। 

केन्द्रमा पनि जनमतबिना सरकार बनाउन कठिन भएको छ, जनमत पार्टीका मागहरु के के हुन्?
हामी ३ वटै मोडालिटीमा बस्न तयार छौँ। चाहे प्रतिपक्षमा बसेर होस् वा समर्थन दिएर सरकार बाहिरै बसेर होस्। सरकारमै सामेल भएर किन नहोस्। जुन स्थितिमा बसेर हाम्रो बढीभन्दा बढी माग सम्बोधन हुन्छ, त्यो स्थितिमा बस्न तयार छौँ। शतप्रतिशत साक्षरता, शुलभ स्वास्थ्य सेवा, रोजगारी, किसानको माग सम्बोधन गर्न जसले गम्भीरता देखाउँछ उतै हाम्रो दल लाग्ने छ।

संघमा पनि सरकार बनाउन दौडधूप भइसकेको छ, तपाईंको दलले एक सीट जितेको छ के गर्नु हुन्छ संघमा?
प्रत्यक्षमा हामीले एक सिट जितेका छौँ समानुपातिकको मत ल्याएर हाम्रो ५ सीट संघमा पुग्ने छ। त्यहाँ पनि हाम्रा माग यिनै हुन्। जुन गठबन्धन हाम्रो माग सम्बोधनका लागि लचकता देखाउँछ, त्यसलाई हाम्रो समर्थन रहने छ। यदि प्रतिपक्षमा बसेर हाम्रो आवाज बुलन्द हुन्छ भने प्रतिपक्षमै बस्न रुचाउँछौँ। तर, डराउँदैनौँ। प्रश्न गरिराख्छौँ।

कुनै गठबन्धनले तपाईँलाई फकाउने प्रयास गरेका छन् कि छैनन्?

अहिलेसम्म मेरो कुनै गठबन्धनसँग कुरो भएको छैन। तर मेरो दलका साथीहरुसँग दुवै गठबन्धन निरन्तर सम्वादमा छ।

उसो भए सीके राउत मन्त्री बन्छन् कि बन्दैनन्?
व्यक्तिगतरुपमा मलाई कहिल्यै पनि मन्त्री बनेर काम गर्ने इच्छा छैन। जनताकैबीच रहेर काम गर्न म रुचाउँछु। मैले त निर्वाचन लड्छु भन्ने पनि सोचेको थिइनँ। अहिले म मन्त्री बन्ने मनस्थितिमा छैन। बाध्यता भयो भने मात्रै मन्त्री पद लिन पनि इन्कार गर्दिनँ।

Related News

वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठग्ने घटना बढे
वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठग्ने घटना बढे
  • २०७९ मंसिर १४, बुधबार १७:२१ गते

पछिल्लो समय अपराधका स्वरूप बदलिन थालेका छन् । अन्य अपराधका घटनाका तुलनामा आर्थिक अपराधको संख्या बढी रहेको प्रहरीको तथ्याङ्क छ...

रामचन्द्र दाइले अघि बढाएका योजना डोर्‍याउन उत्तराधिकारीको रूपमा म आएको छु : गोविन्द भट्टराई
रामचन्द्र दाइले अघि बढाएका योजना डोर्‍याउन उत्तराधिकारीको रूपमा म आएको छु : गोविन्द भट्टराई
  • २०७९ मंसिर १४, बुधबार १७:२१ गते

आगामी १० वैशाखमा हुने तनहुँ–१ को उपनिर्वाचनमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ । उक्त क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवारका...

सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषयमा कार्यगत एकता हुनसक्छ : सीपी गजुरेल (अन्तरवार्ता )
सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषयमा कार्यगत एकता हुनसक्छ : सीपी गजुरेल (अन्तरवार्ता )
  • २०७९ मंसिर १४, बुधबार १७:२१ गते

माओवादी धारका आठ दलले सङ्क्रमणकालीन न्याय तत्काल टुङ्गो लगाउने विषयमा समझदारी गर्दै मंगलबार हस्ताक्षर गरे । सङ्क्रमणकालीन न्याय तत्काल टुङ्गो...

TOP