२०८१ बैशाख ७
April 19, 2024, Friday

संसदीय दलले सर्वसम्मतिमा देउवालाई नेता चयन गर्छ : एनपी साउद (अन्तर्वार्ता)

संसदीय दलले सर्वसम्मतिमा देउवालाई नेता चयन गर्छ : एनपी साउद (अन्तर्वार्ता)

नेपाली कांग्रेसको एक वर्षअघि सम्पन्न १४ औं महाधिवेशनमा बीपीपुत्र डा. शशांक कोइरालापछि सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका नेता हुन्– एनपी साउद। उनी मंसिर ४ मा सम्पन्न निर्वाचनमा कञ्चनपुर–२ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।

साउदले नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीलाई झण्डै साढे ६ हजार मतअन्तरले पराजित गरे। उनले २८ हजार १३६ मत ल्याउँदा धामीले २१ हजार ६८२ मत पाएका थिए। 

निर्वाचनबाट पहिलो दल बनेसँगै कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि दलहरुसँग संवाद सुरु गरेको छ। सभापति शेरबहादुर देउवाका विश्वासपात्र साउद देउवालाई नै फेरि प्रधानमन्त्री बनाउन कांग्रेसभित्र सक्रिय देखिएका छन्। नवनिर्वाचित प्रतिनिधि सभा सदस्य साउदसँग नेपालखबरले निर्वाचन, नयाँ सरकार गठन, कांग्रेस संसदीय दलको नेताको चुनाव र नयाँ दलहरुले पुराना दलहरुलाई दिएको चुनौतीलगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरेको छ।

मंसिर ४ मा सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेस पहिलो पार्टी भएको छ। पहिलो पार्टीको हैसियतमा कांग्रेसले सरकार गठनको कसरत गर्दैछ। बहुमत कसरी पुर्याउनुहुन्छ? 
चुनावको अन्तिम परिणाम आउँदा लोकतान्त्रिक गठबन्धनले सामान्य बहुमत प्राप्त गर्छ। एकाध सिटको तलमाथि भयो भने पनि त्यसको व्यवस्थापन गर्ने उपाय हामीसँग छ। 

कस्तो व्यवस्थापन? 

जस्तो कि कयौं साथीहरु स्वतन्त्रबाट पनि जित्नुभएको छ। अरु साना दलहरु पनि समर्थनका लागि तयार छन्।

नेपाली कांग्रेसको नेतृत्वमा ५ दलीय गठबन्धन थियो। यति हुँदाहुँदै पनि कांग्रेसलाई बहुमतको सरकार बनाउन रस्साकसी गर्नु परेको छ। गठबन्धनलाई कसरी सफल मान्ने? 
२०७४ को निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट मात्रै जितेको थियो। अहिले गठबन्धन गरेर हामीले प्रत्यक्षतर्फ नै ५७ सिट जित्छौँ भन्ने अनुमान गरेका छौँ। यो दोब्बरभन्दा पनि ज्यादा ठूलो उपलब्धी हो। त्यति मात्रै होइन, हामीले गठबन्धनलाई बहुमत दिलाउँछौँ, गठबन्धनको बहुमत हुन्छ भन्ने मान्यता राखेरै अगाडि बढिरहेका छौँ। 

त्यसकारण जस्तो माओवादी र एमालेको गठबन्धनका बेला दुवै एकै विचार समूहबाट आएका पार्टी र भविष्यमा पार्टी एकता गर्ने कुराको सन्देशले भोट हस्तान्तरण ज्यादा सरल किसिमले भएको थियो। 

यो पटक हामी फरक–फरक विचार बोकेका राजनीतिक पृष्ठभूमिबाट आएका कारणले त्यही तहमा भोट हस्तान्तरण हुन नसके पनि गठबन्धनले बहुमत प्राप्त गर्नु भनेको उल्लेखनीय उपलब्धि नै मान्नुपर्छ। 

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भोट ट्रान्सफर नभएको आरोप लगाइरहेका छन्। नेपाली कांग्रेसले उनीहरुलाई धोका दिएकै हो? 
भोट ट्रान्सफर भएको छ तर जुन तहमा हुनुपथ्र्यो त्यो तहमा माओवादीको पनि ट्रान्सफर गर्न सकेनौँ। कांग्रेसको भोट कांग्रेसलाई नै पनि कतिपय ठाउँमा आएन। कांग्रेसकै मान्छेहरुको पनि असहयोग रहेको हामीसँग उदाहरण छ। माओवादीको भोट आउने कुरा, एकीकृत समाजवादी या अन्य पार्टीको भोट आउने कुरा जटिल नै थियो। 

यसलाई नकारात्मक तहसम्मै भोट ट्रान्सफरको कुरा भयो भन्ने होइन। जति हुन सक्नु पथ्र्यो, त्यति भएन। योभन्दा बढी हस्तान्तरण हुन सकेको भए हाम्रो उपलब्धि बढी हुन्थ्यो भन्ने कुरा मात्रै हो। तर, भोट हस्तान्तरण नभएको भए गठबन्धनको बहुमत कसरी आउँथ्यो? 

नेपाली कांग्रेसले सत्ता साझेदारहरुहरुसँग गठबन्धन गरेर ९१ सिटमा उम्मेदवारी दिएको थियो। तर, परिणाम आउँदै गर्दा ६० सिटमुनि सीमित भएको छ। नतिजालाई कसरी मूल्यांकन गरिरहनुभएको छ? 
यसको लागि म अन्य राजनीतिक दलहरुलाई दोष दिन चाहन्नँ। यसका लागि हामी कांग्रेसकै कमिकमजोरी रह्यो। विशेषगरी गएका अधिवेशनहरु, विगतमा कांग्रेसभित्र भएका अभ्यासका कारणले गुटहरु संस्थागत बने। पार्टीभित्र अन्तर्घात, विद्रोहको संस्कृति मौलायो। त्यसले पनि परिणामलाई प्रभावित गरेको छ। 

अरु पार्टीबाट भोट हस्तान्तरण हुने कुरो माओवादी, एकीकृत समाजवादी या अन्य पार्टीबाट, चुनौतीपूर्ण थियो। तर पनि एक हदसम्म सफल भएका छौं।

गठबन्धन तपाईंको गृह प्रदेशमा कत्तिको प्रभावकारी भएजस्तो लाग्छ? 
गठबन्धन सुदूरपश्चिममा प्रभावकारी नै रह्यो। तर, कतिपय कारणले माओवादी साथीहरु जो नेृतत्वमा हुनुहुन्थ्यो। विशेषगरी प्रतिनिधि सभामा उहाँहरुको प्रतिनिधित्व गहकिलो ढंगले गराउन सकेनौं। कांग्रेसको लगभग ६ सिट हामीले जितेको अवस्था छ। समाजवादीले ३ सिट जितेको अवस्था छ। चार सिटमा माओवादी लडेको थियो। त्यसमा उहाँहरु जित्न सकेको भए उपयुक्त हुन्थ्यो। 

तर, प्रदेशमा माओवादीको पनि भरपर्दो उपयुक्त किसिमकै उपस्थिति छ। प्रदेशमा ८ सिट उहाँहरुले प्रत्यक्षतर्फ नै जित्नुभएको छ। 

सुदूरपश्चिमबाट नागरिक उन्मुक्ति पार्टी नामक नयाँ दलको उदय यो निर्वाचबाट भएको छ। यो पार्टीको उदयलाई कसरी मूल्यांकन गर्नुहुन्छ? 
अहिले उदय भएको उन्मुक्ति पार्टीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा समेत आफ्नो अस्तित्व देखाएको छ। यो नयाँ पार्टी आएको छ। यो पार्टीसँग हामीले सहकार्य गरेर जानुपर्छ। 

निर्वाचनको मत परिणामले नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने जस्तो देखिएको छ। नयाँ सरकारको नेतृत्व गठबन्धनबाट कसले गर्छ? 
अहिले मुलुकको अवस्था चुनौतीपूर्ण छ। गठबन्धनका दलहरुलाई एक ठाउँमा राख्नुपर्ने छ। गठबन्धनबाहिरका दलहरुलाई पनि प्रजातान्त्रिक संस्कृतिअनुरुप विश्वासमा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ। यसका लागि अनुभवी नेतृत्वको खाँचो छ। 

अहिले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा हाम्रो पार्टीको सभापति पनि हुनुहुन्छ। अरुभन्दा उहाँले ज्यादा आत्मविश्वासका साथ सरकार सञ्चालन गर्न सक्नुहुन्छ। यसकारण पनि गठबन्धनबाट सरकारको नेतृत्व नेपाली कांग्रेसले नै गर्छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि त दाबी गरिरहनुभएको छ नि? 
उहाँहरुसँग सत्ता साझेदारी हुन्छ। 

कांग्रेसभित्रै प्रधानमन्त्रीका झण्डै आधा दर्जन आकांक्षी देखिएका छन्। तपाईंको नजरमा अबको प्रधानमन्त्री को हो?
हामी संसदीय व्यवस्थालाई मान्छौं। हामीले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर गएको निर्वाचन लडेको थिएनौं। स्वाभाविक रुपमा संसदीय दलले दलको नेता चयन गर्ने छ। त्यसमा शेरबहादुर देउवाकै नाममा सर्वसम्मति हुनेमा म विश्वस्त छु। उहाँ नै भावी प्रधानमन्त्री हो। 

नेपाली कांग्रेसको संसदीय दलमा महामन्त्री गगन थापाले दाबी गरिरहनुभएको छ। अरु–अरु पनि आकांक्षी देखिनुभएको छ। कांग्रेसमा सभापति शेरबहादुर देउवाको विकल्प खोज्ने बेला भइसकेको हो?
कांग्रेसभित्र धेरैले दलको नेताका लागि दाबी गरिराख्नुभएको छ। त्यसमा युवा साथीहरु पनि हुनुहुन्छ। त्यसलाई हामीले अन्यथा मानिहाल्नुपर्ने कारण त छैन। तर, परिश्रम र पर्खेर प्राप्त भएको फल नै मिठो हुन्छ। अहिले मुलुकलाई अनुभवी नेतृत्वको खाँचो छ। यसमा पार्टी सभापति शेरबहादुर देउवा नै उपयुक्त पात्र हुनुहुन्छ।  

नेपाली कांग्रेसले आगामी सरकार गठनको पहल थालिसकेको जस्तो देखिन्छ। रेशम चौधरीदेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्मको साथ खोज्नुभएको हो? 
हामी सबै राजनीतिक दलहरुलाई मिलाएर लैजान चाहन्छौँ। र, एउटा व्यापक जनाधारको सरकार दिन चाहन्छौं। सरकार सञ्चालनका लागि पनि सजिलो होस् भनेर गठबन्धनको झिनो बहुमतले मात्रै पुग्दैन। अलिकति सुविधाजनक बहुमत गठबन्धनसँग हुनुपर्छ भन्ने मान्यता राख्दछौं। त्यसअर्थमा हामी सबै राजनीतिक दलहरुलाई विश्वासमा लिन चाहन्छौं। 

नेपाली कांग्रेस, नेकपा एमालेजस्ता पुराना दलहरुका लागि राष्ट्रिय स्वतन्त्र पार्टी चुनौतीका रुपमा आएको छ। तपाईंहरु अहिलेकै शैलीमा चलिरहे अर्को चुनावमा गाह्रो हुँदैन? 
यो कुरा साँचो हो। पुराना राजनीतिक दलहरुले आफूलाई अद्यावधिक गर्नुपर्छ। नयाँ मुद्दाहरु, नयाँ सोच र युवा जगतको आकांक्षाको प्रतिनिधित्व गर्नुपर्छ। आफूलाई रुपान्तरण गरेर परिस्थिति अनुकूल ढाल्दै लैजानु पर्छ। 

सुदूरपश्चिममा सरकार गठनका लागि गठबन्धनको बहुमत पुग्ने जस्तो देखिन्छ। अबको प्रदेश सरकारको नेतृत्व कुन दलले गर्छ? 
नेपाली कांग्रेस एक्लैको पनि सुदूरपश्चिममा २० सिट जति आउन सक्ने प्रक्षेपण भएको छ। गठबन्धमा रहेका हाम्रा सहकर्मी दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी पनि हाम्रो साथमा हुनुहुन्छ। हामी सुदूरपश्चिममा सुविधाजनक बहुमत प्राप्त गर्न सक्ने अवस्थामा छौं। हामी सरसल्लाह, छलफल गरेर नेतृत्व र अन्य संरचनाका बारेमा हाम्रो पार्टी निर्णयमा पुग्छ।    

Related News

‘सहकारी क्षेत्रमा सुशासनसहितको शुद्धीकरणलाई प्राथमिकता दिएर अगाडि बढ्छौं’
‘सहकारी क्षेत्रमा सुशासनसहितको शुद्धीकरणलाई प्राथमिकता दिएर अगाडि बढ्छौं’
  • २०७९ मंसिर १६, शुक्रबार १६:५७ गते

बचत तथा ऋण सहकारी संस्थाहरूको राष्ट्रिय महासंघ अर्थात् नेफ्स्कुन (नेसनल फेडरेसन अफ सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ्स अफ नेपाल) को पुस...

वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठग्ने घटना बढे
वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठग्ने घटना बढे
  • २०७९ मंसिर १६, शुक्रबार १६:५७ गते

पछिल्लो समय अपराधका स्वरूप बदलिन थालेका छन् । अन्य अपराधका घटनाका तुलनामा आर्थिक अपराधको संख्या बढी रहेको प्रहरीको तथ्याङ्क छ...

रामचन्द्र दाइले अघि बढाएका योजना डोर्‍याउन उत्तराधिकारीको रूपमा म आएको छु : गोविन्द भट्टराई
रामचन्द्र दाइले अघि बढाएका योजना डोर्‍याउन उत्तराधिकारीको रूपमा म आएको छु : गोविन्द भट्टराई
  • २०७९ मंसिर १६, शुक्रबार १६:५७ गते

आगामी १० वैशाखमा हुने तनहुँ–१ को उपनिर्वाचनमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ । उक्त क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवारका...

TOP