दोलखा, मंसिर ४ को निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको १६४ क्षेत्रको परिणाम आइसक्दा अब दोलखाको मात्र बाँकी छ ।
दोलखाका केही मतदान केन्द्रमा सत्तागठबन्धनले बुथ कब्जा गरेपछि मंसिर १५ आयोगले पुनस् मतदान गराएको थियो ।
गणना जारी रहँदा गठबन्धनका उम्मेदवार गंगा कार्कीको सुरूवातदेखिको अग्रता तोड्दै अहिले एमालेका बालकृष्ण शिवाकोटी अगाडि छन् ।
देशभरको चासो दोलखामा हुँदा यहाँ दुई उम्मेदवारको तीव्र प्रतिस्पर्धाले प्रतिस्पर्धा रोचक बनाएको छ ।
दोलखाका अधिकांश मतदान केन्द्रमा बुथ कब्जा भएपनि सोचेजस्तो मत नआएको गठबन्धन दलका नेतामाझ चर्चा हुन थालेको छ ।
प्रदेशसभा २ मा एमाले उमेदवार भरत केसी विजयी भएपछि संघमा थोरै मतले जित्ने एमाले कार्यकर्ताको हिसाबकिताब छ । गठबन्धन अब बैतेश्वर र तामाकोसीको मतको भरमा छ ।
यस्तो छ- दुवैतर्फको आँकलन
दोलखामा एक प्रतिनिधिसभा र प्रदेशका दुई क्षेत्र छन् । प्रदेशसभा १ मा जिरी नगरपालिकासहित गौरीशंकर, बैतेश्वर, तामाकोशी र मेलुङ गाउँपालिका छन् । गौरीशंकर गाउँपालिका र जिरी नगरपालिकाको गणना सकिसकेको छ ।
प्रदेशसभा २ मा भीमेश्वर नगरपालिका, विगु, शैलुङ र कालिञ्चोक गाउँपालिका छन् । भिमेश्वर नगरपालिका र कालिञ्चोक गाउँपालिकाको भोट गनिसकिएको छ ।
गौरीशंकर र कालिञ्चोक गाउँपालिका, भिमेश्वर र जिरी नगरपालिकाभित्रको गणना सकिँदा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले २ हजार मतले लिड गरेका छन् ।
प्रदेशसभा २ को शैलुङ गाउँपालिकाको भुसाफेदामा रहेको मतदान केन्द्र गठबन्धनले कब्जामा लिएको थियो ।
त्यस्तै कालिञ्चोक १ मा पनि गठबन्धनले बुथ कब्जा गरेको थियो । कालिञ्चोक १ मा कब्जा गरेपनि ८ र ९ वडाले वडा नम्बर १ को मत कभर गरेको छ ।
दुवै वडा कांग्रेसको बाहुल्यता भएको वडा हो । वडा नम्बर १ मा बुथकब्जा गरी हालिएको करिब १६ सय मत कालिञ्चोकका अन्य वडाबाट ‘कभर’ गर्दे एमालेका शिवाकोटी अघि बढेका थिए ।
शैलुङको भुसाफेदाको मतदान केन्द्र पनि कब्जा गरिएको थियो । अरु वडाको मतगणना सम्पन्न हुँदा एमाले र माओवादीको शैलुङ गाउँपालिकाबाट बराबरी हुने आँकलन गरिएको छ ।
प्रदेशसभा २ को बिगुमा माओवादीले बराबरी हुने अपेक्षा गरेको छ भने कम्तीमा १ हजार मतले लिड गर्ने एमालेको हिसाब छ ।
एमालेको आँकलन मिल्यो भने भिमेश्वर नगरपालिकासहित शिवाकोटी प्रदेशसभा २ बाट ४ हजार मतले अघि हुनेछन् ।
गठबन्धनको आँकलन मान्दा मान्ने हो भने प्रदेश सभा २ बाट एमाले उमेदवार शिवाकोटी ३ हजार मतले अगाडि बढ्ने अनुमान गरिएको छ ।
पुन: मतदान हुँदा घट्यो गठबन्धनको मत
प्रदेशसभा क्षेत्र १ मा मेलुङ, तामाकोशी र बैतेश्वर गाउँपालिकाको गणना गर्न बाँकी छ । बैतेश्वरका ४ वटा बुथ कब्जा भएकोमा तीनवटामा पुन:मतदान भएको थियो ।
बैतेश्वर १ गैरीमुदी, २ पुतलीकाठ, ३ मिर्गे र ६ नाम्दुमा कब्जा भएकोमा त्यसमध्ये मिर्गे, पुतलीकाठ, नाम्दु र गैरीमुदीको एउटा बुथमा पुन: मतदान भएको थियो ।
बैतेश्वर गाउँपालिकामा कांग्रेस र माओवादी मिल्दा बलियो भएपनि यो गाउँपालिका एमालेको पनि प्रभाव रहेको पालिका हो । केही वडाहरूमा एमालेको राम्रो प्रभाव छ ।
मंसिर ४ गते सम्पन्न भएको मतदानमा मिर्गेमा २६ सयमा २४ सय मत गठबन्धनले आफ्नो पक्षमा हालेका थिए । तर, पुन:मतदान हुदा उक्त केन्द्रबाट जम्मा १२ सय मतमात्रै खसेको छ ।
नाम्दुमा बुथ कब्जा गरेर २३ सयमा २२ सय मत खसाइएकोमा पुन: मतदानमा करिब १२ सय खसेको छ । गठबन्धनको मत घटेकाले बैतेश्वरबाट पनि गठबन्धनले सोचेजस्तो अन्तर निकाल्न कठिन हुने देखिएको छ ।
गठबन्धले अपेक्षा गरेको अर्को तामाकोशी गाउँपालिका पनि हो । तामाकोशीको वडा नम्बर ३ को जफेको दुईवटा बुथ, झुले र मालुको बुथ कब्जा गरिएको थियो ।
त्यस्तै शहरेमा पनि केही फर्जी मत हालिएको थियो । तर, जफेको जामुनेमा मात्रै पुन: मतदान भयो ।
तामाकोशी र बैतेश्वरबाट गठबन्धनले भिमेश्वरको ऋण तिर्नसक्ने अनुमान गरेको छ । प्रदेश १ को मेलुङ गाउँपालिका स्थानीय चुनावमा एमालेले जितेको ठाउँ हो ।
प्रदेशको गणना रुझान हेर्दा यो गाउँपालिकाबाट एमालेले लिड गर्ने देखिएको छ । यहाँबाट ५ सयदेखि १ हजार मतले लिड गर्ने अवस्था छ ।
भिमेश्वरको ऋण बैतेश्वर र तामाकोशीले तिरेर गठबन्धनका उमेदवार कार्की अघि बढे भने पनि मेलुङबाट कभर गर्ने एमालेको अनुमान छ ।
बिगु निर्णायक
प्रदेशसभा २ को शैलुङ बराबरी भयो भने बिगु गाउँपालिकको मत परिणाम दोलखामा दुवै उम्मेदवारका लागि निर्णायक हुनेछ ।
बिगुबाट बढी भोट ल्याउने उम्मेदवारले चुनाव जित्छ । कम्तीमा ५ सयदेखि १ हजार अन्तरमा चुनाव जितहार हुने हिसाब छ ।
स्थानीय निर्वाचनमा बिगु गाउँपालिकामा नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन हुँदा माओवादी उमेदवार सञ्जीव वली ४ हजार १ सय मतले विजयी भएका थिए भने एमाले उमेदवार अचुतम केसीले ३ हजार ९७३ मत ल्याएका थिए ।
दुईबीचको मतान्तर १२७ मात्र थियो । उपाध्यक्षमा भने यो गाउँपालिकामा एमाले उमेदवार विजयी भएकी थिइन् ।
थोरै मतले मात्र जीत हार हुने अवस्था देखिएपछि यतिबेला दुवै प्रतिस्पर्धी ढुक्क हुने स्थितिमा देखिएका छैनन् ।
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...
अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...