२०८० मंसिर २०
December 6, 2023, Wednesday

‘अहिले कांग्रेसलाई अरू नै पार्टीले चलाएको छ’ चुनाव हारेपनि विचारको लडाई जितेको छुः दिनेश कोइराला (अन्तरवार्ता)

‘अहिले कांग्रेसलाई अरू नै पार्टीले चलाएको छ’ चुनाव हारेपनि विचारको लडाई जितेको छुः दिनेश कोइराला (अन्तरवार्ता)

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा महत्वका साथ हेरिएको चितवन–३ बाट प्रतिनिधिसभातर्फ मुख्य दुई ठुलाका उम्मेदवारहरूलाई हराउँदै राप्रपाका विक्रम पाण्डेले चुनाव जिते । पाण्डेले सत्ता गठबन्धन तर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी र एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार दिएका कांग्रेसका बागी दिनेश कोइरालालाई पराजित गरेका थिए ।

गठबन्धन गरेर कांग्रेसको नेतृत्वले गलत निर्णय गरेको भन्दै कोइरालाले बागी उम्मेदवार बनेका थिए । पछि उनलाई एमालेले समर्थन गरेको थियो । एमालेको समर्थन पाएपछि चुनाव जित्ने उच्च मनोबल बनाएका कोइराला चौथो स्थानमा रहे । राप्रपाका पाण्डेले ३५ हजार ६० मत पाउँदा कोइरालाले १२ हजार २७५ मत मात्र पाए ।

देशको राजनीति गलत ट्र्याकमा गएको र दलहरू सच्चिन जरुरी रहेको भन्दै कोइराला चुनावमा होमिएका थिए । उनी गत निर्वाचनलाई व्यक्तिगत जित हार भन्दा पनि विचारको लडाइको रुपमा परिभाषित गर्दछन् उनलाई पार्टीले कारबाही गरेको छ । तर, आफू सदैव कांग्रेस भएर देश र जनताको पक्षमा आवाज उठाउने उनको भनाई छ । प्रस्तुत छ, उनै कोइरालासँग चुनाव विषयमा केन्द्रित रही गरेको कुराकानीको सम्पादित अंशः

चुनावी अभियान र नतिजालाई कसरी समीक्षा गर्नु हुन्छ ?

मेरो लागि चुनाव व्यक्तिगत भन्दा पनि विचारको लडाई थियो । चुनाव जित्नु अनि हार्नु आफ्नो ठाउँमा छ । मतदाताहरुले एउटा नतिजा दिएर निकास दिनु भएको छ । यसलाई सहर्ष स्वीकार गर्नुपर्छ । मैले पनि यसलाई स्वभाविक रुपमा लिएको छु । 

पार्टीभित्र र देशमा देखिएको विकृति विसंगतिविरुद्ध मेरो उम्मेदवारी थियो । मेरो उम्मेदवारीमा करिव १२ हजार मतदातालाई कुनै लोभ लालचले छुन सकेन । यो मप्रति आम मतदाताले देखाउनु भएको सम्मान हो । समग्रमा मैले चुनाव हारेपनि विचारको लडाई जितेको छु ।

विचारको लडाई जिते भन्दै गर्दा तपाईंले उठाएको एजेण्डा त अब विस्थापित हुने भएन र ?

एजेण्डा चुनावले मात्र स्थापित गर्दैन । एजेण्डा स्थापित गर्न त निरन्तर रुपमा आवाज उठाउनु पर्छ, संघर्ष गर्नु पर्छ । मेरो उम्मेदवारी व्यक्तिगत जित हारमा भन्दा पनि विचारको लडाई थियो । 

विशेष गरी नेपाली राजनीतिमा सकारात्मक हस्तक्षेप गर्ने कि नगर्ने ? रगत नबगाई क्रान्ति गर्ने कि नगर्ने ? देशको राजनीतिलाई राजनीतिलाई पेशा बन्न दिने कि नदिने ? राजनीति भनेको लुटतन्त्र होइन भनेर स्थापित गर्ने कि नगर्ने ? राजनीतिमा अंश वंशको प्रभाव पर्न दिने कि नदिने ? देशमा तीव्र गतिको आर्थिक र भौतिक विकास गर्ने कि नगर्ने ? 

यस्ता तमाम प्रश्नहरुको जवाफसहित हामीले एजेण्डा बनाएर निर्वाचनमा लडेका थियौ । यी विचारहरुलाई हामीले निर्वाचनको समयमा आम मतदातासमक्ष लगेका थियौं । निर्वाचनपश्चात यी प्रश्नहरु जीवन्त बनेर आएका छन् ।

तपाईंको उम्मेदवारीमा फरक गठबन्धनको एमालेको समर्थन कसरी सम्भव रह्यो ? कि यो संयोग मात्र हो ?

मलाई एमाले मात्र होइन, धेरै पार्टीको सहयोग रह्यो । उम्मेदवारीका क्रममा धेरैसंग छलफल हुँदा एमालेका अध्यक्षले हाम्रा एजेण्डाहरु जायज छ भनेर समर्थन गर्नुभयो । उहाँले हामीसंग मात्र होइन, सार्वजनिक रुपमै पनि भन्नुभएको थियो । उहाँले समर्थन गरेर हामीलाई कति मत आयो त्यो त थाहा भएन । तर, समग्रमा हाम्रा मुद्धा जायज रहेछ भनेर सो पार्टी हाम्रो पक्षमा उभिनु ठुलो कुरा हो । म उहाँहरुलाई आभार व्यक्त गर्न चाहन्छु ।

चितवनमा एमाले बलियो दलको रुपमा रहेको छ । एमालेको समर्थन पाउँदा समेत तपाईंले निर्वाचन जित्न सक्नु भएन । समस्या कहाँनेर रह्यो ?

हाम्रो समस्या के हो भने मुख्य दलहरुप्रति आम मतदाताको आशा भरोसा टुटेको अवस्था हो । चितवनको हकमा देशका प्रमुख दलहरु नेपाली कांग्रेस र एमालेको चुनाव चिन्है नहुनु स्वभाविक थिएन । यो बहुदलीय व्यवस्थामा ठुला दलहरुको चुनाव चिन्ह नहुनु भनेको नेतृत्वको कमजोरी, दलगत विकृति, नेता कार्यकर्ताप्रतिको वितृष्णा हो । 

त्यसैले अहिलेका मतदाताहरु नेतृत्वको कन्ट्रोल भन्दा बाहिर गएको पनि देखियो । एमालेकै कुरा गर्ने हो भने पनि २०७४ मा पाएको मतअनुसार यस पटक आफ्नै उम्मेदवारले आधा कम मत ल्याउन सके । अब म त स्वतन्त्र उम्मेदवार उहाँहरुको सबै मत मलाई नआउनु स्वाभाविकै हो । मैले त्यसलाई अन्यथा लिएको छैन ।

त्यसो भए तपाईंको पराजयको कारण भनेको ठुला दल प्रतिको असन्तुष्टि नै हो त ?

त्यो त स्वाभाविक नै देखियो नि । राजनीति यति विकृत भइसक्यो कि दलहरुले यसलाई अंश, वंश र प्राइभेट कम्पनी जस्तो बनाइसकेको अवस्था छ । दल र नेताहरुले राजनीतिलाई यस्तो ठान्नु नै गलत हो । जसले गर्दा कार्यकर्ता र आम मतदाताको तहमा यसको असन्तुष्टि त प्रष्टै छ । मेरो विद्रोहको कारण पनि त्यही हो । 

यी विविध कारणले म नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि हुँदा पटक पटक विद्रोह गरेको छु । मैले विगत ४÷५ वर्षदेखि मल्टिपार्टी सिस्टममा दलले आफ्ना विचार एजेण्डा लिएर जनतामाझ जानुपर्छ भनेर पटक पटम आवाज उठाउँदै आएको हो । प्रि इलेक्सन गठबन्धन गर्नु हुँदैन । यो जनताको हितमा छैन । यो गठबन्धन केवल कुनै व्यक्ति गुट र परिवारको हितमा मात्र छ । सरकार बनाउने क्रममा कुनै पनि दलको बहुमत नआएमा देशलाई निकास दिनका लागि मात्र गठबन्धन गर्नुपर्छ भन्ने मेरो धारणा हो । 

कांग्रेसको केन्द्रीय समितिको निर्णयमा गठबन्धन गर्ने भन्ने थिएन । स्थानीय तह निर्वाचनमा स्थानीय निकायको अवस्था र आवश्यकताको आधारमा तालमेल गर्ने भन्ने थियो । पछि त्यसलाई केन्द्रिय नेताहरुबाट गठबन्धन बनाएर लाद्ने काम भयो । यो कुनै नेताहरुको सुरक्षा र स्वार्थको लागि मात्र प्रयोग गरियो । ठुला दलहरुको यो कार्यशैली गलत छ । एउटाको सहयोग लिने अनि अर्कोलाई प्रहार गर्ने कार्य गलत हो ।

ठुला दलहरुको कार्यशैली गलत भन्नु भयो । यही गलत कार्यशैलीले एमालेको समर्थन हुँदाहुँदै पनि तपाईं राप्रपाका विक्रम पाण्डेसँग हार्नु भएको हो ?

यो एउटा संयोग मात्र हो । कांग्रेस र एमाले दुवैको आफ्नो चुनाव चिन्ह नभएको अवस्थाका कारण यो नतिजा आएको हो । जबकि राप्रपा जिल्ला भरिमा ६÷७ हजार मात्र मत भएको दल हो । कांग्रेस र एमालेबाट विरक्तिएका मतहरु पनि त्यहाँ गएको कारण उहाँको जित सहज भएको हो । 

चुनावमा २÷३ दिन जसले हठकण्डा अपनाउँछ, त्यसको पक्षमा नतिजा आउने हो । केही समयको प्रभावले चुनावको नतिजा फेरबदल हुने हो । परिणामअनुसार राप्रपाले चुनाव जितेको छ । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । तर, एक पटकको चुनाव जिताई नै सबै थोक होइन ।

चितवनमा कांग्रेसले प्रदेशमा एक सिट भन्दा बढ्ता जित्न सकेन । केन्द्रीय सदस्य भएर पनि तपाईं आफै विद्रोह गरेर उम्मेदवार बन्नु भयो । चितवनमा कांग्रेस कमजोरै हो कि तपाईंहरु भित्रको आन्तरिक समस्याले कांग्रेस हार्‍यो ?

जिल्लामा कांग्रेस हाम्रो कारणले कमजोर भन्दा पनि नेतृत्वको कारणले भएको हो । चितवन मात्र होइन, कांग्रेसको देशभर नै ७÷८ प्रतिशत भोट घटेको छ । त्यो हामी जस्तो विद्रोह गर्नेहरुको कारणले मात्र त होइन होला । यहाँ नेतृत्वको कमी कमजोरी छ । 

मुलुक चलाउने दलहरुले हो तर, अहिले देश कुनै एक दलले चलाएको छैन । गठबन्धनले चलेको छ । कांग्रेस पार्टी कांग्रेसको नेतृत्वले चलाउनु पर्ने हो । तर अहिले अरु नै पार्टीले कांग्रेस चलाएका छन् । कांग्रेससंग टिकट लिन जाँदा अरु दललाई सोध्नुपर्ने, अरु दलले टिकट दिनुपर्ने अवस्था आएको छ । अरु पार्टीहरुमा पनि त्यस्तै समस्या छ । 

यी विविध विकृतिले गर्दा दलका केही व्यक्तिलाई फाइदा होला तर देशलाई सधैँ घाटा नै हो । अर्को कुरा कांग्रेस समाप्त हुने बाटोमा जाँदैछ । यो कुरा हामीले पहिलेदेखि नै भनेको हो । हामीले आवाज उठाउँदा नसुनेका कारणले यो अवस्था आएका हो ।

एमालेसंग मिलेर कांग्रेस हराउन लाग्नुभयो भन्ने तपाईंमाथि आरोप छ । यसलाई कसरी चिर्नुहुन्छ ?

म एमालेसंग मिलेको होइन । म स्वतन्त्र उम्मेदवार थिएँ । मसंग मिल्न एमाले आएको हो । मलाई एमाले मात्र होइन, अन्य दल र स्वतन्त्र उम्मेदवारले सहयोग गर्नुभएको छ । कसैले सहयोग गर्छु भन्यो भने होइन मलाई सहयोग चाहिन्न भन्ने त होइन होला । 

त्यसैले म उम्मेदवार हुँदै गर्दा एमालेले मलाई सहयोग गरेको हो । मैले एमालेलाई सहयोग चाहियो भनेर मागेको होइन । पार्टीले गल्ति गर्‍यो, अब सहेर बस्नु हुन्न भनेर म अघि बढ्दै गर्दा उहाँहरुले सहयोग गर्नुभयो ।

तपाईं कांग्रेसमा लामो समयमा काम गरेर केन्द्रीय तहसम्म पुग्नु भएको मान्छे, आज चितवनमा कांग्रेस हार्दै गर्दा तपाईंको विद्रोह कति अर्थपूर्ण भयो त ?

एउटा भनाई छ, नेतृत्वले गलत गर्दै गर्दा चुप लागेर सहने कार्यकर्ता या त लम्पसारवादी हुन् या अवसरवादी हुन् । 

चितवनमा यो पटक मात्र होइन, २०७४ सालदेखि कांग्रेस समाप्तीको बाटोमा जाँदैछ । २०७४ मा त मेरो टिकटै खोसियो । त्यतिबेला चुप लागेर बसियो । अर्को पटक पनि महानगर कांग्रेसलाई दिनुपर्छ भनेर आवाज उठाइयो । त्यहाँ पनि मााओवादीलाई दिएर हामीलाई पाखा लगाइयो । 

पटक पटक नेतृत्वले गलत गर्दै गर्दा अब त अति भयो नेतृत्वले गल्ति गर्दै जाने अनि हामी सहँदै जाने ? यसले पार्टी अनि मुलुकलाई सधैँ समस्यामा पार्छ भनेर हामीले विद्रोह गरेका हौं । यो स्वाभिमानी कार्यकर्ताको वाध्यता हो ।

कांग्रेसले यहाँलाई कारवाही गरेको छ । अब केही विकल्प सोच्नुभएको छ ? 

म अहिले पनि कांग्रेस नै हो । म कांग्रेसमै रहन्छु । कांग्रेस र यो मुलुकको मूल पार्टीहरु सुध्रिनुपर्छ । नेपालको आर्थिक विकास र परिवर्तनको लागि कांग्रेस सही दिशामा आउनु पर्छ । यदि कांग्रेस सही ट्रयाकमा आएन भने देश पनि गलत बाटोमा जान्छ । 

कांग्रेस मात्रै होइन, सबै दलहरु सच्चिएर आउनु पर्छ । यसका लागि पनि हामी बुलन्द आवाज उठाउँछौ । पार्टीभित्र रहेर वा नरहेर हामी नेता र नेतृत्वलाई खवरदारी गर्ने काम गरि नै रहन्छौं । 

पार्टीले कारवाही फुकुवा गरोस् वा नगरोस्, त्यसले मलाई कुनै सरोकार राख्दैन । मसंग भौतिक रुपमा पद छैन भन्ने लाग्ला तर मेरो भावनामा कांग्रेस छ । मेरो भावना, मेरो विचारलाई कारवाही गर्न सक्दैन नि । नेतृत्वलाई आवश्यक परे मलाई बोलाउला ।

अब आगामी दिनमा तपाईंका मुद्धा, एजेण्डालाई कसरी अगाडी बढाउनु हुन्छ ?

म मेरा आवाजलाई निरन्तरता दिन्छु । मेरा एजेण्डामा निरन्तर रुपमा सक्रियतापूर्वक लागि रहन्छु । म सदन जान सकिन, अब म मेरा आवाज सडक वा विभिन्न कार्यक्रमबाट अभियानको रुपमा अघि बढाउँछु । 

विशेष गरी हामी पार्टीभन्दा माथि उठेर काम गर्छौं । नेपालमा दलको विकल्प दल नै हो । यी दलहरु सुध्रिनु पर्छ । दलका नेतृत्वकर्ताहरुले आफ्नौ शैली परिवर्तन गर्नसक्नु पर्छ । यस्तै अभियानहरु लिएर देशव्यापी रुपमा हामी लाग्नेछौं ।

रातोपाटीबाट

Related News

वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठग्ने घटना बढे
वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठग्ने घटना बढे
  • २०७९ मंसिर २९, बिहीबार ०७:४९ गते

पछिल्लो समय अपराधका स्वरूप बदलिन थालेका छन् । अन्य अपराधका घटनाका तुलनामा आर्थिक अपराधको संख्या बढी रहेको प्रहरीको तथ्याङ्क छ...

रामचन्द्र दाइले अघि बढाएका योजना डोर्‍याउन उत्तराधिकारीको रूपमा म आएको छु : गोविन्द भट्टराई
रामचन्द्र दाइले अघि बढाएका योजना डोर्‍याउन उत्तराधिकारीको रूपमा म आएको छु : गोविन्द भट्टराई
  • २०७९ मंसिर २९, बिहीबार ०७:४९ गते

आगामी १० वैशाखमा हुने तनहुँ–१ को उपनिर्वाचनमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ । उक्त क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवारका...

सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषयमा कार्यगत एकता हुनसक्छ : सीपी गजुरेल (अन्तरवार्ता )
सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषयमा कार्यगत एकता हुनसक्छ : सीपी गजुरेल (अन्तरवार्ता )
  • २०७९ मंसिर २९, बिहीबार ०७:४९ गते

माओवादी धारका आठ दलले सङ्क्रमणकालीन न्याय तत्काल टुङ्गो लगाउने विषयमा समझदारी गर्दै मंगलबार हस्ताक्षर गरे । सङ्क्रमणकालीन न्याय तत्काल टुङ्गो...

TOP