काठमाडौ, कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । यही पुस ११ गते सोमबार निर्वाचनमार्फत संसदीय दलकोे नेता चुन्ने तयारी भएको हो ।
कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनका लागि समितिसमेत गठन गरेको छ । कांग्रेस बागमती प्रदेश समितिका उपसभापतिसमेत रहेका चन्द्र महर्जनको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।
समितिले दलको नेता चयनका लागि आवश्यक प्रक्रिया पूरा गर्ने प्रवक्ता रुवालीले बताए । समितिको सदस्यहरूमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सदस्य सानु श्रेष्ठ रहेका छन् ।
उक्त समितिले मंगलबारदेखि आफ्नो जिम्मेवारीमा रहेर निर्वाचनको प्रक्रिया सुरु गर्ने बताए ।
मुख्यमन्त्रीमा संस्थापनकै नेताबीच टक्कर
मंसिर ४ गते आमनिर्वाचन सम्पन्न भएसँगै सरकार निर्माणको बिषयले चर्चा पाइरहेको छ । केन्द्रमा संसदीय दलको नेता निर्वाचन मार्फत चुनिएपछि बागमती प्रदेशमा पनि निर्वाचन हुने भएको छ ।
सत्ता गठबन्धनको स्पष्ट बहुमत रहेको बागमती प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । जसकारण पनि बागमतीको मुख्यमन्त्री कांग्रेसको हातमा पुग्ने निश्चित छ ।
तर, कांग्रेसमा पनि शेरबहादुर देउवा प्यानलकै नेताहरुको रस्साकस्सीका कारण मुख्यमन्त्रीको छनोटले चर्चा कमाएको छ ।
दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले संसदीय दलको निर्वाचनमा पार्टी जुट्दै गरेको अवस्थामा कांग्रेस संस्थापन पक्ष विभाजित बनेको हो ।
दलको नेता बन्ने होडमा मकवानपुरबाट निर्वाचित इन्द्रबहादुर बानियाँ र नुवाकोटबाट निर्वाचित बहादुरसिंह लामा प्रतिस्पर्धामा उत्रिने देखिएको छ ।
दुवैजना कांग्रेसको संस्थापन पक्षका नेता हुन् । सत्ता गठबन्धनको स्पष्ट बहुमत रहेको बागमती प्रदेशमा ३७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बनेको छ ।
जसका कारण पनि नेपाली कांग्रेसभित्र मुख्यमन्त्रीको विषयले अहिले चर्चा बटुलिरहेको छ । कांग्रेसबाट बागमती प्रदेश सभापति एवं पूर्वराज्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख दाबेदार छन् ।
कांग्रेस बागमती प्रदेशको सभापति बानियाँले यसअघि पनि सरकारको नेतृत्वमा दाबी गर्दै आएका थिए । प्रदेशसभाको अघिल्लो कार्यकालको अन्तिमतिर सत्ता गठबन्धनबीच मुख्यमन्त्री दिने लिखित सहमति भएपनि कार्यान्वयन नभएपछि उनी वञ्चित भएका थिए ।
जसलाई आधार मान्ने हो भने पनि अबको मुख्यमन्त्री आफैँ हुने र हुनुपर्ने बानियाँको दाबी छ । यता, केन्द्रीय सदस्यसमेत रहेका लामा प्रदेशसभा सदस्य निर्वाचित भएलगत्तै दलको नेता बन्ने कसरतमा जुटेका हुन् ।
पार्टीको आन्तरिक समस्या सल्टाउन प्रदेशसभामा झारिएको दाबी गर्दै आइरहेका लामा निर्वाचनमा जान सकारात्मक देखिएका छन् ।
उनी मंसिर ४ को निर्वाचनमा प्रदेशसभातर्फ नुवाकोट २ (ख)बाट निर्वाचित भएका थिए । निर्वाचित भएलगत्तै उनी पनि मुख्यमन्त्री बन्ने आकांक्षा व्यक्त गर्दै दलको नेता बन्न प्रयासरत रहेका हुन् ।
नवनिर्वाचित प्रदेशसभा सदस्य लामा कांग्रेसका मुख्यमन्त्रीमा सर्वाधिक चर्चामा रहेका छन् । त्यसो त, निर्वाचन अघिदेखि नै बानियाँको पनि उत्तिकै चर्चा थियो ।
लामाले मुख्यमन्त्री दिने सर्तमा नै आफू संघ छोडेर प्रदेश झरेको दाबी गर्दै आएका छन् । आफ्नो राजनीतिक दलको निर्णय सकारत्मक रहेको बताउँदै लामाले भने, ‘१० र ११ गते मध्ये एक दिन निर्वाचन हुने भन्ने अपुष्ट खबर आएको छ ।
आधिकारिक खबर आउन बाँकी होला । पार्टीको निर्णय नकार्दिनँ । निर्वाचनमा म विजयी हुन्छु भन्नेमा ढुक्क छु ।’
नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित लामा १७ हजार दुई सय ४९ मत ल्याएर विजयी भएका हुन् ।
२०७४ मा प्रतिनिधिसभा सदस्यमा समानुपातिक प्रणालीबाट सांसद भएका तामाङ २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोष्टबहादुर बोगटीलाई पराजित गर्दै संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
बागमती प्रदेशसभा निर्वाचित सांसदमा देउवा प्यानलको बहुमत रहेको छ । एउटै प्यानलबाट दुईजना सांसद नै मुख्यमन्त्रीको दावेदारीमा लबिङ गरिरहे पनि भागवण्डा चित्त बुझाउन नसकेपछि निर्वाचन प्रणालीमा जाने भएको छ ।
यद्यपि, बागमती प्रदेशको मुख्यमन्त्रीको कुर्सीको दाबेदारी गर्दै संसदीय दलको नेताका लागि निर्वाचनमा होमिएका लामा र बानियाँमध्ये जित कसको पोल्टामा पर्ला, त्यसको छिनोफानो भने निर्वाचनको नतिजापछि नै थाहा हुनेछ ।
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...
अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...