काठमाडौ, भ्रष्टाचार अभियोग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङलाई निलम्बन गरेपनि हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयमा भने संसद सचिवालय मौन बसेको छ।
मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरुङ मंगलबार निलम्बनमा परेका हुन्। गुरुङ र कोइरी दुवैले नव निर्वाचित अन्य सांसद सरह ७ पुसमा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए।
संसद सचिवालयले मंगलबार सूचना प्रकाशित गर्दै गुरुङलाई निलम्बन गरिएको जानकारी गराएपनि सशस्त्र प्रहरीका असई थमन विकको हत्याको मुद्दा खेपीरहेका एमाले सांसद कोइरीलाई निलम्बन गर्ने विषयमा भने संसद सचिवालय मौन बसेको छ।
कोइरी महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। कोइरीको विषयमा संसद सचिवालयको मौनतालाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन्।
सत्तारुढ पार्टीका सांसद भएकाले कोइरीको विषयमा संसद सचिवालय मौन बसेको आशंका कतिपयले गरेका छन्।
केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय संसदलाई पत्र पठाउँदै गुरुङविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधिन अवस्थामा रहेकाले उनलाई सांसदको हैसियतमा काम गर्न नदिन भन्दै संसद सचिवालयमा पत्र पठाएको थियो। सोही आधारमा सचिवालयले उनलाई निलम्बन गरेको हो।
नेपाल प्रहरीले पनि संघीय संसदलाई पत्र पठाउँदै कोइरीविरुद्धको ज्यान मुद्दा उच्च अदालत जनकपुरमा विचाराधिन अवस्थामा रहेकाले उनलाई पनि सांसदको हैसियतमा काम गर्न नदिन भन्दै संसद सचिवालयमा पत्र पठाएको थियो।
हत्या अभियोग जस्तो जघन्य अपराधमा जोडिए पनि कोइरीलाई सत्तारुढ एमालेको प्रभावको कारण संसद सचिवालयले निलम्बन नगरेको आशंका माओवादी केन्द्र महोत्तरीका एक नेताले व्यक्त गरे।
‘उनलाई निलम्बन नगर्न एमाले नेतृत्वले संसद सचिवालयलाई दबाब दिएको हुनसक्छ,’ उनले भने, ‘नत्र भ्रष्टाचार अभियोग लागेका सांसद निलम्बनमा पर्दा हत्या जस्तो जघन्य अपराधमा जोडिएका कोइरीको विषयमा संसद सचिवालय मौन बस्ने थिएन।’
प्रहरीले पक्राउ नगरेकाले कोइरीलाई निलम्बन गर्न नसकिएको संसद सचिवालय स्रोतले जनाएको छ। ‘प्रहरीले कोइरीलाई फरार अभियुक्तको सूचीमा राखेर पक्रिन चाहेको छैन।
प्रहरीले पक्राउ नगरेसम्म लक्ष्मी माननीयको पद निलम्बन हुँदैन,’ संसद सचिवालय स्रोतले नेपालखबरसँग भन्यो, ‘प्रहरीले पक्राउ गर्नेवित्तिकै उहाँ पनि स्वतः निलम्बन पर्नुहुन्छ।’
कोइरी शपथ खान बानेश्वर आएको जानकारी आफूलाई पनि भएको संसद सचिवालयका ती अधिकारीले बताए। ‘
त्यतिबेला प्रहरीले उहाँलाई नदेखेझैँ गर्यो, अझ बाहिर त कडै सुरक्षासमेत दियो,’ उनले भने, ‘उहाँलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि नबढाएसम्म संसद सचिवालयलले केही गर्न मिल्दैन।’
मधेश आन्दोलनका क्रममा २५ भदौ ०७२ मा महोत्तरीको सदरमुकाम जलेश्वरमा सशस्त्र प्रहरीका असई थमन विकलाई एम्बुलेन्सबाट थुतेर कुटिकुटी हत्या गरिएको थियो।
जुन हत्याको मुद्दा कोइरीसहित २८ जनामाथि लागेको थियो। हत्या अभियोग लागेकामध्ये केही व्यक्ति जेल सजाय भुक्तान गरिरहेका छन् भने केही अझै फरारको सूचीमा छन्। फरारमध्येका एक अभियुक्त कोइरी पनि हुन्।
उनीविरुद्धको मुद्दा अहिले पनि उच्च अदालत जनकपुरमा विचाराधीन अवस्थामा छ। राजनीतिक प्रभावको कारण अहिलेसम्म कोइरी पक्राउ पर्नबाट जोगिँदै आएको टिप्पणी हुने गरेको छ।
प्रहरीले पक्राउ गर्ने डरको कारण निर्वाचनअघि वारेसमार्फत प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका कोइरीले चुनाव जितेपछि प्रमाणपत्र पनि वारेसमार्फत नै लिएका थिए।
तर, ७ पुसमा नयाँबानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण हुँदा भने कोइरी उपस्थित भएका थिए।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...