२०८० मंसिर १३
November 29, 2023, Wednesday

एमालेले हेपाहा व्यवहार गरेसम्म सहकार्य सम्भव छैन-जगननाथ खतिवडा (प्रवक्ता) नेकपा एस (अन्तरबार्ता)

एमालेले हेपाहा व्यवहार गरेसम्म सहकार्य सम्भव छैन-जगननाथ खतिवडा (प्रवक्ता) नेकपा एस (अन्तरबार्ता)

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा ७ दलीय गठबन्धनको ८ सदस्यीय मन्त्रिमण्डल गठन भइसकेको छ । प्रधानमन्त्री र राष्ट्रपति आफैंले लिने अडान नेपाली कांग्रेसले अघि सारेपछि ५ दलीय वाम लोकतान्त्रिक गठबन्धन भत्किएर प्रचण्डको नेतृत्वमा ७ दलीय गठबन्धन सरकार गठन भएको हो । प्रचण्डले एमालेसहित ७ दलीय गठबन्धन निर्माण गरेसँगै तत्कालीन वाम लोकतान्त्रिक गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल बन्न पुगेको छ ।

माओवादी आफ्नो बाटो लागेपछि वाम लोकतान्त्रिक गठबन्धनको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादी अहिले अनिर्णयको अवस्थामा छ । ऊ न प्रचण्ड नेतृत्वको सरकारमा जान सक्ने अवस्थामा छ न त प्रतिपक्षमै बस्ने अवस्थामा छ । प्रधानमन्त्री प्रचण्डले भने आफूलाई विश्वासको मत दिने उद्देश्यले नेकपा एसलाई सरकारमा सहभागी गराउने पहल गरिरहेका छ । तर, नेकपा एसले सरकारमा सहभागी हुनेबारे कुनै निर्णय गरेको छैन ।

अब नेकपा एस कसरी अगाडि बढ्छ ? प्रतिपक्षमा बस्छ कि सरकारमा जान्छ ? यी नै विषयमा नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडासँग गरेको कुराकानीको सम्पादित अंशः

– वाम लोकतान्त्रिक गठबन्धन टुटेपछि तपाईंहरु के गरिरहनुभएको छ ?

हामीले के गर्ने र के नगर्ने भन्ने विषयमा कुनै पनि निर्णय गरिसकेका छैनौं । गठबन्धन भत्किनु हाम्रा लागि मात्र नभएर सबैका लागि अप्रत्याशित घटना भयो । विभिन्न दलसँग हामीले छलफल गरिरहेका छौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा आउन हामीलाई अनुरोध गरिरहनुभएको छ ।

तर, हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीभित्र अहिले दुई तीन वटा विषयमा बहस चलिरहेको छ । पहिलो, सरकारमा जानुहुँदैन र प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । दोस्रो, प्रचण्डलाई विश्वासको मत दिनुपर्छ । तर, सरकारमा सहभागी हुनुहुँदैन । तेस्रो, विश्वासको मत पनि दिनुहुँदैन ।

देउवा आफैंले पनि गठबन्धन निर्माण गर्ने वेलामा पहिलो चरणमा प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने सहमति जनाइसक्नुभएको थियो । तर, पछिल्लो समय एकाएक उहाँले निर्णय परिवर्तन गरेर पहिलो चरणमा आफू नै प्रधानमन्त्री बन्ने अड्डी कस्नुभयो । यो राजनीतिमा ठूलो धोका हो ।

यी ३ वटै विषयमा हामी हाम्रा नेता तथा कार्यकर्तासँग छलफल तथा सोधीखोजी गरिरहेका छौं । विभिन्न बैठक पनि गरिरहेका छौं । केही दिनभित्र हाम्रो पार्टीको स्थायी समिति बैठक बस्छ र यसले एउटा स्पष्ट खाकासहितको निर्णय गर्छ । हाम्रो महत्वपूर्ण चासो र चिन्ता भनेको देश र जनता नै हो । यो देश र जनतालाई अघि बढाउन देशका नागरिक अहिले पनि राजनीतिक दल र तिनका क्रियाकलापप्रति आजित भइसकेको अवस्था छ ।

अहिलेको सरकारको अवस्था हेर्ने हो भने पनि यसमा ७ वटा दल छन् भने ८ वटा रङ्ग छ । ७ वटा दल र ८ वटा रङ्गलाई मिलाएर सरकार कसरी चल्छ र कुन नीतिअनुसार अघि बढ्छ भन्ने प्रस्ट भएको छैन । यो सरकारमा संघीयताविरोधी छन् र संघीयता पक्षधर पनि । धर्म निरपेक्षतावादी छन् र धर्म सापेक्षतावादी पनि । राजतन्त्रवादी छन् र गणतन्त्रवादी पनि । यस्तो गठबन्धनको सरकार कस्तो बन्ला र कसरी अघि बढ्ला भन्नेमा हाम्रोमात्र नभएर सबैको चासो छ ।

त्यसैले अहिलेको सरकार र गठबन्धनलाई हामी नियालिरहेका छौं र अध्ययन गरिरहेका छौं । अनि त्यसपछि मात्र नीति बनाउँछौं भनेर हामी लागेका छौं ।

– २०औं वर्षसम्म कायम गर्ने भनिरहेका बेला एकाएक गठबन्धन टुट्नुको कारण के हो ?

नेपाली काग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ५ चोटी प्रधानमन्त्री भइसकेको व्यक्ति भएकाले अब पहिलो चरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको पालो दिएको भए हुन्थ्यो भन्ने हामी सबै गठबन्धनको बुझाइ थियो । देउवा आफैंले पनि गठबन्धन निर्माण गर्ने वेलामा पहिलो चरणमा प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने सहमति जनाइसक्नुभएको थियो । तर, पछिल्लो समय एकाएक उहाँले निर्णय परिवर्तन गरेर पहिलो चरणमा आफू नै प्रधानमन्त्री बन्ने अड्डी कस्नुभयो । यो राजनीतिमा ठूलो धोका हो । ५-५ पटक प्रधानमन्त्री भइसकेको व्यक्तिले गरिसकेको सहमति र बोलिसकेको बोली यसरी फेर्नु राजनीतिक संस्कार पनि भएन । यो सबैभन्दा ठूलो घात र गल्ती गर्नुभयो ।

देउवाले प्रचण्डलाई प्रधानमन्त्री हुन नदिने अवस्थामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएर पनि अघि जान सकिन्थ्यो । नेपाली कांग्रेसले देउवाबाहेक अर्को नेतालाई पनि बनाउन सक्थ्यो । तर, विकल्प हुँदाहुँदै पनि प्रचण्ड एमालेसँग एकाएक गठबन्धन गरेर सरकार बनाउनुभयो । यसले के फाइदा पुर्‍याउला र बेफाइदा होला, त्यो परिणाम विस्तारै देखिएला । तर, निर्वाचन अघिदेखि चलिरहेको गठबन्धन एकाएक भत्किनु एकदमै दुःखद घटना हो । घटना हुनु थिएन, भयो । अब घटना भइसकेपछि अवधारणा बनाउनुपर्ने अवस्था आयो । एउटा गठबन्धनको औचित्य सकियो । तर, अबको गठबन्धन कसरी चल्छ भन्ने कुरा प्रमुख हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बोली फेरेपछि हामीले धेरै पटक गठबन्धन टुट्छ भनेर सम्झाएकै हो । अहिलेको अवस्थामा प्रचण्डलाई नै प्रधानमन्त्री बनाएर अघि बढ्दा राम्रो होला भनेर धेरै पटक शेरबहादुर देउवालाई हाम्रो पार्टी अध्यक्ष माधवकुमार नेपालले भेटेर सम्झाउनुभएको हो ।

– तर, विदेशी शक्तिको चलखेलबाट तपाईंहरुको गठबन्धन भत्किएर नयाँ बनेको भन्ने छ नि ?

होइन, बाहिरी शक्ति राष्ट्र हाम्रो देशको राजनीतिमा प्रत्यक्ष रुपमा प्रभाव पार्न चाहन्छन् । राजनीतिक रुपमा पक्षधर बनाउन चाहन्छन् । यो कुरा सत्य नै हो । तर, प्रधानमन्त्री हुने व्यक्ति वा दल यस्तो कुरामा कसरी बहकिन सक्छ भन्ने कुरा बुझ्न गाह्रो छ । यो विषयमा द्विविधायुक्त कुरा हुन्छ । त्यो खेलमा लागेको भए कांग्रेस पनि त्यसैभित्र परेको होला । माओवादी पनि परेको होला ।

यसलाई यसरी भन्नु भन्दा पनि कुनै पात्रले के गर्‍यो र त्यसले कहाँ समस्या पार्‍यो भनेर हेर्नुपर्छ । यो घटना नहुनुपर्ने हो । तर, भयो । यसका अप्रत्याशित कारण पछि फेला पर्दै जालान् । तर, जसले गरे पनि नेपाली पात्रले नै गरेको हो । जसले जस्तो शक्ति प्रयोग गरे पनि, प्रभावमा पारे पनि सोच्ने दिमाग र निर्णय गर्ने अधिकार त त्यो व्यक्ति र दललाई नै छ नि !

त्यसैले यो जसले राम्रो वा नराम्रो गरे पनि नेपाली पात्रले गरेको हो । नेपाली पात्रले नै गर्दा यदि उसमा देशभक्तिको भावना छैन, राष्ट्रिय स्वाभीमान भन्ने चिज छैन, अर्काले जसरी गोटी चलायो त्यसरी नै गोटी बनेर हिँड्छ भने त त्यो अर्काको दोषभन्दा आफ्नै नागरिकको दोष र आफ्नै राजनेताको दोष भनेर देख्नुपर्छ ।

– यसरी गठबन्धन टुट्ला वा प्रचण्डले टुटाउनुहोला भन्ने अनुमान गर्नुभएको थियो ?

पक्कै पनि थियो नै । केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवाले बोली फेरेपछि हामीले धेरै पटक गठबन्धन टुट्छ भनेर सम्झाएकै हो । अहिलेको अवस्थामा प्रचण्डलाई नै प्रधानमन्त्री बनाएर अघि बढ्दा राम्रो होला भनेर धेरै पटक शेरबहादुर देउवालाई हाम्रो पार्टी अध्यक्ष माधवकुमार नेपालले भेटेर सम्झाउनुभएको हो ।

– तर पनि देउवाका अगाडि माधव नेपालको केही लागेन है ?

होइन, अन्तिम समयमा आएर उहाँहरुले हामी प्रधानमन्त्री दिन सक्दैनौं भनेर बटमलाइन समातिसकेपछि प्रचण्डसँग दुई वटा विकल्प थिए । एउटा, उहाँले हाम्रो पार्टी अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाएर अघि जान सक्ने अवस्था थियो । यो प्रस्ताव त हामीले राख्यौं पनि । प्रचण्ड र देउवा दुवैले यसमा रुचि देखाउनुभएन ।

तत्कालीन गठबन्धनको मुख्य बाधक शक्तिका रुपमा नेपाली कांग्रेस नै देखिएको हो । स्थानीय तह निर्वाचनदेखि नै कांग्रेसले गठबन्धन भत्किने खालका हर्कत देखाइरहेको थियो ।

– तेस्रो शक्तिलाई त प्रधानमन्त्री दिन अस्वीकार गरेको बेला तपाईंहरुलाई कसरी स्वीकार्थ्यो ?

होइन, गठबन्धन जोगाऔं भन्ने हिसाबले यो विकल्प पनि ठिक्कै थियो नि ! हामी के साना, के ठुला सबै दल अल्पमतमा भएकाले यो विकल्पमा पनि जान सकिन्थ्यो । त्यसैले तत्कालीन गठबन्धनको मुख्य बाधक शक्तिका रुपमा नेपाली कांग्रेस नै देखिएको हो । स्थानीय तह निर्वाचनदेखि नै कांग्रेसले गठबन्धन भत्किने खालका हर्कत देखाइरहेको थियो ।

त्यतिमात्र नभएर तत्कालीन सरकार गठनदेखि सरकारले गर्ने कामसम्मबाट हामी आजित भइसकेका थियौं । तर, पनि गठबन्धन टुट्न दिनुहुँदैन भनेर हामी सहेर बसेकै थियौं । कांग्रेसले त्यस्तो व्यवहार देखाउँदा पनि यस्तो वेला गठबन्धन तोड्नु हुन्थ्यो वा हुँदैन भन्ने कुरा त निकै विचारणीय प्रश्न हो ।

– अब नेकपा एसको बाटो के हो ?

अब विश्वासको मत दिनुअघि नै निर्णय हुने कुरामा त शंका नै भएन । विश्वासको मतभन्दा पछाडि जानुपर्ने हो भने त विश्वासको मत नै नदिने दिशातिर गइयो नि ! विश्वासको मत नदिने दिशामा जाँदा पनि हामीले संसदमा यसको कारण खुलाउनुप¥यो नै । नभए सर्मथन जनाउनुप¥यो । त्यसो हुँदा विश्वासको मत दिनुअघि नै निर्णय हुन्छ । हामी बैठक बसेर टुंगो लगाउँछौं ।

– तपाईंको पार्टीको बटमलाइन के हो यसमा ?

हाम्रो बटमलाइन पार्टीले जे निर्णय गर्छ त्यही नै हो । एक्लै निर्णय गर्ने कुरा भएन । पार्टी गम्भीर छलफलमा छ । राजनीतिक भविष्यमा भोलि आउन सक्ने संकटको बारेमा र यसका सजिलोपन र अप्ठ्यारापनको बारेमा छलफल गरेर निर्णय लिनुपर्नेछ । निर्णय गर्न सूक्ष्म अध्ययन गर्छौं र धारण बनाउँछौं ।

– नेकपा एमालेमा समाहित हुनेगरी सरकारमा जान खोजेको हो कि अरु केही ?

होइन, त्यो कुनै पार्टीसँग जोडिने भन्ने कुरा त अर्को भयो । यो त सरकारसँग सम्बन्धित नै भएन । त्यस्तो समाहित हुने भन्ने हाम्रो पार्टीको कुनै सोच र योजना नै छैन । पार्टीलाई मजबुत बनाएर अघि बढ्ने र आगामी निर्वाचनमा देशका सबै वडा तहसम्म निर्वाचन लड्ने सोचसहित हामी पार्टीलाई अघि बढाउँछौं । सरकारमा जाने भनेको राजनीतिक संस्कृतिको कुरा हो । नेकपा एमालेसँग हाम्रो राजनीतिक संस्कृति सम्पन्न संवाद भएको छैन । राजनीतिक मित्रता छैन । दोषपूर्ण सम्बन्ध छ हाम्रो । यो दोषलाई मेटेर राजनीतिक मित्रतापूर्ण ठाउँमा अलि पहिले नै आइपुगेको भए एउटा सरकारमा बस्न र अरुसँग बस्न सकिन्छ ।

हाम्रो पार्टीलाई गलाउने कसले ? हामी कसैसँग समाहित हुनुपर्ने किन ? हामी सबैको आ-आफ्नो व्यक्तित्व छ । आआफ्नो स्वाभीमान र आत्मसम्मान छ । सबै संघर्ष गर्दै यो ठाउँसम्म आइपुगेका हौं ।

त्यसैगरी एमालेसँग पनि बस्न सकिन्छ भन्ने ठाउँबाट जान सकिन्थ्यो । अब घटनाक्रमले कस्तो बनाउँदै जान्छ । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीलाई राजनीतिक पार्टीका रुपमा स्वीकार गरिसकेको अवस्था छैन । उसले स्वीकार नगरे पनि यो एउटा राजनीतिक दल हो, यसमा कुनै शंका छैन । सम्पूर्ण कानूनी आधारमा यो राजनीतिक दल नै हो । उसले अस्वीकार गर्नु भनेको उसको आफ्नो प्रकारको एउटा हेपाहा प्रवृत्तिमात्रै हो । त्योभन्दा बढी केही पनि होइन ।

तर, स्वभावमा र आत्मसम्मानमा ठेस पुग्ने गरी कुनै दल हिँड्छ भने त्यो दलसँग सहकार्य पनि सम्भव छैन । घटनाक्रमले कसरी लिँदै जान्छ, राजनीतिक ढंगको सहकार्य हुन सक्छ । अन्य राजनीति दलसँग । तर, एकताको प्रश्न अलग हो । अहिले त्यस बारेमा हामीले सोचेका छैनौं ।

– आधिकारिक रुपमा अहिलेका गठबन्धन दल र तिनका नेतासँग छलफल भइरहेको छ कि छैन ?

छैन । कसैले पार्टी अध्यक्षलाई घरमा भेट्न गयो, घरमा भेट्न नै आएको मान्छेलाई भेट्नुभयो यो एउटा पक्ष भयो । त्यो जसले पनि राजनीति गर्ने व्यक्तिले गर्नैपर्छ । यो सामान्य एक सामाजिक व्यवहार नै हो । आएर कसैले आफ्ना कुरा भन्छन्, त्यो उनीहरुको पार्टीलाई प्रतिनिधित्व गर्नुहुन्छ । उहाँको अभिव्यक्तिले पनि पार्टीको प्रतिनिधित्व गर्छ । त्यसैले पार्टीले निर्णय नगरेसम्म उहाँले पनि केही गर्न सक्नुहुन्न । त्यसैले घरमा आउने जानेलाई उहाँले स्वागत गर्नुहुन्छ, चिया खुवाएर पठाउनुहुन्छ, कुरा पनि सुन्नुहुन्छ । तर, निर्णय गर्ने त पार्टीले हो ।

– माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर तपाईंको पार्टी एमालेमा विलय गराउने हल्ला छ नि ?

बजारमा हल्ला कसले कुन ढंगले गर्छ भन्ने मुख्य कुरा हो । यो हल्लाले के बताउँछ भने त्यस्तो हुँदैन छ । हाम्रो पार्टीलाई गलाउने कसले ? हामी कसैसँग समाहित हुनुपर्ने किन ? हामी सबैको आ-आफ्नो व्यक्तित्व छ । आआफ्नो स्वाभीमान र आत्मसम्मान छ । सबै संघर्ष गर्दै यो ठाउँसम्म आइपुगेका हौं । कसैले यस्तो कुरा गरिरहेको छ भने उसले त्यो अलिअलि मिल्ने वातावरण पनि बिगारिरहेको छ भन्ने बुझ्नुपर्छ । त्यसैकारण यो गलत कुरा हो । यो दुई पार्टीको बीचमा सौहार्दपूर्ण सम्बन्ध नबनोस् भनेर चाहनेले गरेको प्रचारमात्रै हो ।

– अन्तमा केही भन्नुहुन्छ ?

अहिले देश र राष्ट्रिय राजनीति बडो अस्थिरतातिर धकेलिएको छ । जस्तो खालको पनि सरकार बन्ने लक्षण आइरहेका छन्, यसले मुलुकलाई सही ढंगले निकास दिन सक्छ कि सक्दैन भन्ने प्रत्येकमा शंका छ । नेपाली नागरिकले आज विकास र सुशासन खोजेका छन् । राष्ट्रिय सुरक्षा र यसको प्रत्याभूति खोजेका छन् । आत्मसम्मानको सुरक्षा खोजेका छन् । यसका लागि फेरि पनि जनता एकजुट भएर लाग्नुपर्ने भएको छ ।

नेपाल प्रेसबाट

Related News

वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठग्ने घटना बढे
वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठग्ने घटना बढे
  • २०७९ पुष १६, शनिबार १३:२६ गते

पछिल्लो समय अपराधका स्वरूप बदलिन थालेका छन् । अन्य अपराधका घटनाका तुलनामा आर्थिक अपराधको संख्या बढी रहेको प्रहरीको तथ्याङ्क छ...

रामचन्द्र दाइले अघि बढाएका योजना डोर्‍याउन उत्तराधिकारीको रूपमा म आएको छु : गोविन्द भट्टराई
रामचन्द्र दाइले अघि बढाएका योजना डोर्‍याउन उत्तराधिकारीको रूपमा म आएको छु : गोविन्द भट्टराई
  • २०७९ पुष १६, शनिबार १३:२६ गते

आगामी १० वैशाखमा हुने तनहुँ–१ को उपनिर्वाचनमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ । उक्त क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवारका...

सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषयमा कार्यगत एकता हुनसक्छ : सीपी गजुरेल (अन्तरवार्ता )
सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषयमा कार्यगत एकता हुनसक्छ : सीपी गजुरेल (अन्तरवार्ता )
  • २०७९ पुष १६, शनिबार १३:२६ गते

माओवादी धारका आठ दलले सङ्क्रमणकालीन न्याय तत्काल टुङ्गो लगाउने विषयमा समझदारी गर्दै मंगलबार हस्ताक्षर गरे । सङ्क्रमणकालीन न्याय तत्काल टुङ्गो...

TOP