२०८० मंसिर २१
December 7, 2023, Thursday

नेतृत्वले मार्गप्रशस्त नगरे विशेष महाधिवेशन : कांग्रेस नेता घिमिरे (अन्तरबार्ता)

नेतृत्वले मार्गप्रशस्त नगरे विशेष महाधिवेशन : कांग्रेस नेता घिमिरे (अन्तरबार्ता)

नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार विघटन भइसकेपछि नेपाली कांग्रेसले गठबन्धनको बाटो अख्तियार गरेको थियो । विषम परिस्थितिमा राज्य सञ्चालनको नेतृत्व गर्नुपर्ने जिम्मेवारी आइलाग्यो, त्यसलाई ग्रहण गरेको थियो ।

तत्कालीन समयमा सरकार गठनका लागि हामीले जुन समीकरण बनाएका थियौँ त्यो इतिहासकै आवश्यकता थियो, त्यो राष्ट्रिय आवश्यकता थियो । तर, त्यसपछिका निर्वाचनमा गठबन्धन आवश्यक थिएन ।

गठबन्धनमा भएका दलसँग सरकारमा सहकार्य गर्ने र मैत्रीपूर्ण चुनावी प्रतिस्पर्धा गरेर जानुपर्थ्यो । यो विषय हामीले पार्टीभित्र धेरै उठाएका थियौं, तर गठबन्धन गरेर नै निर्वाचनमा जाने भनेर पार्टीले निर्णय गरेपछि स्वीकार गरेर अघि बढायौँ । गठबन्धनबाटै चुनाव लड्यौँ, तर हामीले अपेक्षाकृत उपलब्धि भने पाउन सकेनौँ ।

स्थानीय तहमा विगतका भन्दा केही सिट बढोत्तरी भएपनि कतिपय ठाउँमा हाम्रा आकांक्षा र अपेक्षाअनुसार उपलब्धि पाउन सकेनौँ । त्यसपछि संसदीय निर्वाचनमा पनि हामीले गठबन्धन गर्न हुँदैन एक्ला–एक्लै लडौँ भनेर आवाज उठायौँ ।

यो पटक पनि विगतकै निरन्तरतामा अगाडि बढ्ने भनेर पार्टीले निर्णय गरेपछि, त्यसैलाई सर्वोपरी ठानेर स्वीकार गर्‍यौँ । एउटा नतिजा प्राप्त भयो, तर उत्साहजनक नतिजा भने यो पटक पनि पाउन सकेनौँ । गठबन्धनले बहुमत पनि ल्याउन सकेन । नेपाली कांग्रेसले अख्तियार गरेको समीकरण गम्भीर दुर्घटनामा पर्‍यो ।

हामीले थोरै मात्र मेहनत गर्नेवित्तिकै, अलिकति उदारता देखाउनेवित्तिकै गठबन्धनले सरकार बनाउन सक्ने अवस्था थियो । सरकार मात्र बनाउन सक्ने अवस्था होइन राष्ट्रपति, सभामुख, प्रदेशका सरकार, एक वर्षपछि राष्ट्रियसभाका सदस्यहरू, राष्ट्रिय सभाको अध्यक्ष, संवैधानिक अंग, कुटनीतिक क्षेत्र, लगायतका राज्य संयन्त्रका विभिन्न ठाउँमा पार्टीका विज्ञ साथीलाई अवसर प्रदान गर्ने सुनौलो मौका थियो त्यसलाई हामीले गुमाउन पुग्यौँ ।

यो नेतृत्वको कमजोरीको परिणाम हो । यसलाई नेतृत्वले स्वीकार गर्नुपर्छ । कमजोरी स्वीकार गर्न नसक्ने हो भने नेतृत्वले हाम्रो लोकतान्त्रिक चरित्र, लोकतान्त्रिक विशेषताअनुसारको व्यवहार नगरेको प्रमाणित हुन्छ ।

एक-अर्कालाई देखाएर उम्किने छुट छैन

कांग्रेसको नेतृत्वले गठबन्धन बनाउने विगतको निर्णय गलत थियो भनेर आत्माआलोचना गर्नुपर्छ । सम्पूर्णरूपमा लक्ष्य प्राप्त भइसकेपछि अब मेरो जिम्मेवारी पुरा भयो भनेर छोड्ने प्रचलन पनि विश्वमा छ ।

त्यसैगरी पूर्णरूपमा असफल भइसकेपछि पनि मैले गर्न सकिन भनेर छोडिदिने छुट छ । दुनियामा त्यस्ता दृष्टान्त धेरै छन् । अहिले सतहमा विभिन्न आरोप प्रत्यारोपका कुरा आइरहेका छन् । पदाधिकारीले सभापतिलाई दोष देखाउने, सभापतिले चाँही पदाधिकारीले प्रभावकारी भूमिका निर्वाह गर्न सकेनन् भन्ने छ ।

यो समय एक अर्कालाई आरोप प्रत्यारोप गर्ने होइन । वस्तुनिष्ट समीक्षा गर्ने, निर्मम समीक्षा गर्ने, नेतृत्वले कमजोरी भएको स्वीकार गर्ने र नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्ने काममा पुग्नुपर्छ । नेपालको इतिहासमा भएको सर्वाधिक ठूला राजनीतिक घटना मध्ये यो पनि पर्छ ।

यो कमजोरीको सबैभन्दा बढी जिम्मेवारी मूल नेतृत्वले लिनैपर्छ र थोरबहुत जिम्मेवारी अरु पदाधिकारीले पनि लिनुपर्छ । किनकि, यो घटनालाई कसैले मूकदर्शक भएर हेर्ने, कसैले मैले मात्रै गरेको हो र ? अरुले के गरे भनेर अरुलाई आरोप लगाएर आफू पन्छिने, आफू टकटकिने, अथवा पानीमाथिको ओभानो हुने सुविधा पदाधिकारीमा बसेका कसैलाई पनि छैन ।

नेतृत्वले मार्गप्रशस्त गर्नुपर्छ

हामी कार्यकर्ता तहका व्यक्तिहरू के भन्छौँ भने नेतृत्वले अहिल्यै राजीनामा दिनुपर्छ । नेतृत्व परिवर्तनका लागि मार्गप्रशस्त गर्नुपर्छ । अर्को कुरा यदि, उहाँहरूले त्यो गर्नुहुन्न भने कर्मकाण्डी कुरा गरेर आलटाल गर्नुहुन्छ भने हामी विशेष अधिवेशनको तयारीमा छौँ । त्योभन्दा पहिले हामीले पुस २२ गतेको केन्द्रीय कार्यसमितिको बैठकलाई पनि हेरिरहेका छौँ ।

गल्ती गर्‍यो भनेर आफू निकटकालाई सुनाउने पदाधिकारीले सभापतिको राजीनामा गाग्न सक्छन् कि सक्दैनन् । यदि, सभापतिले गल्ती गरेको, निर्णयमा चुकेको भन्नुहुन्छ भने उहाँहरूले सभापतिको राजीनामा किन माग्नुहुन्न ? यदि, उहाँहरूले राजीनामा माग्नुभएन भने हामी विशेष महाधिवेशनको तयारीमा लाग्छौँ । यो अभियानमा मेचीदेखि महाकालीसम्म समर्थन खोज्छौँ ।

मार्ग प्रशस्तको आवाज उठाइरहँदा हामीलाई अल्झाउन खोजिँदैछ । नीति अधिवेशनको कुरा गरेर सामसुम पार्न खोजिँदैछ । नीति अधिवेशन भनेको कर्मकाण्डी कुरा हो । यो पार्टीको वैधानिक जिम्मेवारी हो । तर, यो हामीले भोगेको विषय भनेको राजनीतिक दुर्घटना हो । हामीले एक पटक निर्वाचन गर्ने र अर्कोपटक नीति अधिवेशन गर्ने सुविधा हाम्रो विधानमा थप्यौँ ।

नीति अधिवेशन त महाधिवेशन भएको छ, महिनाभित्र गर्नुपर्थ्यो । हामीले धेरै ढिला गरिसकेका छौँ । पार्टीको राजनीतिक कार्यक्रम के हुने ? पार्टीको सामाजिक कार्यक्रम के हुने ? पार्टीको आर्थिक नीति के हुने ? पार्टीको वैदेशिक नीति के हुने ? अरु प्रतिद्वन्द्वी दलहरूसँगको नीति के हुने ? यी सबै कुराहरू हामीले केन्द्रीय नेतृत्व चयन भएको छ महिनाभित्र हामीले गरिसक्नुपर्थ्यो त्यसमा हामीले ढिलाइ गर्‍यौँ ।

अब हामीले सबै भेला पारेर नीति अधिवेशन गर्न सक्छौँ । तर, अहिलेको दुर्घटनाको जिम्मा कसले लिने ? यो आम कार्यकर्ताको प्रश्न हो । नेपाली कांग्रेसलाई माया गर्ने, सुभेक्षा राख्ने, मत हाल्ने सम्पूर्ण लोकतन्त्रवादीको चिन्ता र सरोकारको विषय हो ।

त्यसो हुनाले अहिलेको हाम्रो माग भनेको मूल विषयमा जाऊँ । अरु तपशिलका विषयमा नजाऊँ, नीति अधिवेशन गर्दै गरौँला । नीति अधिवेशन प्रमुख कुरा होइन । अहिले जुन मोडमा हामी उभिएका छौँ , नेतृत्वको असफलताको विषयमा निर्क्यौल गर्ने, र पार्टीलाई अब कसरी अगाडि बढाउने भन्ने नै मूल विषय हो ।

नेपाल भ्यूजबाट

Related News

वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठग्ने घटना बढे
वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठग्ने घटना बढे
  • २०७९ पुष १८, सोमबार ०८:५४ गते

पछिल्लो समय अपराधका स्वरूप बदलिन थालेका छन् । अन्य अपराधका घटनाका तुलनामा आर्थिक अपराधको संख्या बढी रहेको प्रहरीको तथ्याङ्क छ...

रामचन्द्र दाइले अघि बढाएका योजना डोर्‍याउन उत्तराधिकारीको रूपमा म आएको छु : गोविन्द भट्टराई
रामचन्द्र दाइले अघि बढाएका योजना डोर्‍याउन उत्तराधिकारीको रूपमा म आएको छु : गोविन्द भट्टराई
  • २०७९ पुष १८, सोमबार ०८:५४ गते

आगामी १० वैशाखमा हुने तनहुँ–१ को उपनिर्वाचनमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ । उक्त क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवारका...

सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषयमा कार्यगत एकता हुनसक्छ : सीपी गजुरेल (अन्तरवार्ता )
सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषयमा कार्यगत एकता हुनसक्छ : सीपी गजुरेल (अन्तरवार्ता )
  • २०७९ पुष १८, सोमबार ०८:५४ गते

माओवादी धारका आठ दलले सङ्क्रमणकालीन न्याय तत्काल टुङ्गो लगाउने विषयमा समझदारी गर्दै मंगलबार हस्ताक्षर गरे । सङ्क्रमणकालीन न्याय तत्काल टुङ्गो...

TOP