२०८० मंसिर १३
November 29, 2023, Wednesday

पशुपतिको सम्पत्तिमा माफियाको रजाइँ, सम्पदा क्षेत्रमा मापदण्डविपरीत संरचना निर्माण

पशुपतिको सम्पत्तिमा माफियाको रजाइँ, सम्पदा क्षेत्रमा मापदण्डविपरीत संरचना निर्माण

काठमाडौँ, श्रीपशुपतिनाथ अमालकोट कचहरी र पशुपति क्षेत्र विकास कोषको स्वीकृतिबिनै मारवाडी सेवा समितिले काठमाडौँको गौशालास्थित पशुपति धर्मशालामा संरचना निर्माण गरेको छ ।

कोषको स्वीकृतिबाट मात्रै भौतिक संरचना निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि सेवा समितिले ‘चोरबाटो’बाट नक्सा पास स्वीकृति लिएर भवन र अन्य भौतिक संरचना निर्माण गरेको हो । यसमा काठमाडौँ महानगरपालिकाको पनि कमजोरी रहेको छ ।

श्रीपशुपतिनाथ अमालकोट कचहरी र मारवाडी सेवा समिति नेपालबीच २०६० जेठ १२ गते नौबुँदे सम्झौता हुनुभन्दा अगाडि २०५५ साउन १५ गते ‘पशुपति गौशाला धर्मशाला’को नाममा काठमाडौँ महानगरपालिकाबाट नक्सा पासको स्वीकृति रहेको छ ।

मारवाडी सेवा समितिले आफू अदृश्यमा रहेर पशुपति गौशाला धर्मशालाका नाममा नक्सा पास गराएको हो ।

२०५४ पुस ७ गतेको पशुपति गौशाला धर्मशालाको पत्रमा कित्ता नं. ८३ र ८५ को क्रमशः ४–१५–२, ४–१०–० (साबिक पशुपति २–(क) को घरजग्गामा धर्मशालाका कोठाहरू वर्षामा चुहिने भएकाले कोठा जीर्ण भई कोठामा बस्ने यात्रीको ज्यानको समेत सुरक्षा गर्न कठिनाइ भएकाले मर्मत र तला थप गर्ने उल्लेख छ ।

महानगरले नक्सा स्वीकृत गरेको पत्रमा भनिएको धार्मिक, सामाजिक र विशुद्ध सेवामूलक मुनाफारहित ऐतिहासिक पहिलो गौशाला तथा पहिलो धर्मशाला जस्तो सामाजिक संस्थामा न्यूनतम शुल्कमा यात्रुलाई सेवा दिने, गाई र साँढेको रेखदेख गर्न आवश्यक मर्मत र तला थप्न स्वीकृत प्रदान गर्ने उल्लेख छ ।

अमालकोट कचहरी र सेवा समितिबीच भएको नौबुँदे सम्झौताको अन्तिम बुँदामा ‘दुवै पक्षको पूर्ण सहमतिमा यो सम्झौता कुनै पनि बेला रद्द गर्न सकिने’ भन्ने शब्दावलीका कारण सेवा समितिको मनपरीका कारण कोषले सम्झौता रद्द गर्न सकेको छैन ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले अहिले यो नामको कुनै कानूनी संस्था नरहेकाले मोही पुर्जामा उल्लेखित ‘गौशाला धर्मशाला’ श्रीपशुपतिनाथअन्तर्गतको गौशाला धर्मशाला रहेको प्रस्ट पारे ।

पशुपतिनाथ अमालकोट कचहरीको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम भइरहेको साबिक पशुपति वडा नं. २ (क) कि.नं. ८३ को ४–१५–२–० र सोही स्थानको कि.नं. ८५ को ४–१०–०–० क्षेत्रफल जग्गामा सञ्चालित पशुपति धर्मशाला अहिले मारवाडी सेवा समितिको ‘कब्जा’मा छ ।

विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर संरक्षण गर्ने संस्था पशुपति क्षेत्र विकास कोषको पशुपति क्षेत्र मापदण्ड–२०५१ को भवन निर्माणसम्बन्धी मापदण्डमा भनिएको छ, भवन परम्परागत नेपाली शैलीका बनाउनुपर्ने छ । साथै भवन निर्माणअघि कोषसँग स्वीकृत अनिवार्य गरिएको छ ।

कोषका सूचना अधिकारी एवं संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले उक्त भवन निर्माणको स्वीकृति कोषबाट नभएको बताए ।

उनले भने , “भवन निर्माणका लागि स्वीकृति लिनु अनिवार्य छ तर मारवाडी सेवा समितिले ‘कतै मिलाएर’ नक्सा पास गरेको देखिन्छ । यो सरासर अवैधानिक हो ।”

मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयलले धर्मशाला निर्माण कानुनअनुसारै गरिएको बताए । उनले भने , “हामीसँग प्रमाण छ ।

कागजात छन् । अवैधानिक भन्नै मिल्दैन ।”कोषका सूचना अधिकारी पराजुलीका अनुसार २०३७ मा पनि मारवाडी सेवा समितिले भवन निर्माणको प्रयास गरेको थियो ।

२०५५ सालसम्म धर्मशालामा दक्षिणतर्फको एकतले भवन मात्रै थियो तर गाई, साँढे र बाच्छाबाच्छी राख्ने गौशालामा अतिक्रमणकै शैलीमा भवन निर्माण गरिएको उनको दाबी छ ।

उनले भने , “२०३७ सालमै भवन बनाउने प्रयास भएको थियो तर सम्पदामाथि केही व्यक्तिले नजर लगाएको थाहा पाएपछि मूल भट्ट पद्मनाभ शास्त्रीले घर बनाउने स्वीकृति दिएनन तर २०५५ सालमा गुपचुप स्वीकृति लिएर भवन बनाएको पाइयो ।”

पशुपति क्षेत्र विकास कोषले गौशालास्थित धर्मशालाको विषयमा निकालेको सूचना र मारवाडी सेवा समितिले निर्माण गरेको संरचनाका सम्बन्धमा काठमाडौँ महानगरपालिकाले आवश्यक निर्णय गर्ने प्रस्ट पारेको छ ।

महानगरका प्रवक्ता नवीन मानन्धरले विश्व सम्पदा सूचीमा परेको पशुपतिनाथ मन्दिरको जग्गामा बनाइएको भवनको नक्सा पास रद्द हुने बताए ।

उनले भने, “विश्व सम्पदा सूचीमा समावेश भएको क्षेत्रमा संरचना बनाउने मापदण्ड हुन्छ । धेरै पहिले नक्सा पास गरिएको रहेछ तर यो रद्द हुन्छ, हामी अध्ययनमा छौँ ।”

Related News

लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
  • २०७९ पुष २०, बुधबार ०८:५८ गते

आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...

सुकुम्बासी समस्या तत्कालै समाधान हुन्छ : प्रधानमन्त्री 
सुकुम्बासी समस्या तत्कालै समाधान हुन्छ : प्रधानमन्त्री 
  • २०७९ पुष २०, बुधबार ०८:५८ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।  स्वबासी, सुकुम्वासी...

गौशालामा प्रहरी र आन्दोलनकारीबीच झडप
गौशालामा प्रहरी र आन्दोलनकारीबीच झडप
  • २०७९ पुष २०, बुधबार ०८:५८ गते

 काठमाडौंको गौशालामा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप भएको छ। विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीहरूले गौशालास्थित...

TOP