२०८१ बैशाख ७
April 19, 2024, Friday

प्रचण्डलाई प्रधानमन्त्री नदिनु गल्ती नै हो : डा. नारायण खड्का, अन्तर्वार्ता

प्रचण्डलाई प्रधानमन्त्री नदिनु गल्ती नै हो : डा. नारायण खड्का, अन्तर्वार्ता

हालैको आम निर्वाचनबाट सबभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस सत्ता बाहिर पुगेको छ । हठात् आइपरेको यो परिस्थितिको ‘निर्मम समीक्षा गर्न’ कांग्रेसले २८ पुसदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

निर्वाचनमा ठूलो दल भएर पनि कांग्रेसलाई सत्ताबाहिर पुर्‍याएको भनी पार्टीभित्र सभापति शेरबहादुर देउवाको आलोचना भइरहेको छ । विश्वासपात्रहरूले गुमराहमा राखेर उनलाई परिस्थिति आकलन गर्न नसक्ने अवस्थामा पुर्‍याएको आरोप–प्रत्यारोप कांग्रेसमा छ । विश्वासपात्रमध्येमा पर्ने डा. नारायण खड्का भने सभापतिलाई कसैले गुमराहमा राख्न नसक्ने बताउँछन् ।

यद्यपि, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री पद छाडेर भए पनि गठबन्धन कायम राख्नुपर्ने खड्काको मान्यता थियो । निवर्तमान परराष्ट्रमन्त्री खड्का वर्तमान सरकारको आयु भने लामो नभएको बताउँछन् ।

कांग्रेसको सत्ता–राजनीति, सरकारको विकल्प दिने कसरत, अघिल्लो सरकारको परराष्ट्र नीतिलगायत विषयमा डा. खड्कासँग गरेको कुराकानी :

कांग्रेस नेतृत्वको सरकार बन्ने कसरत भइरहेको बेला गठबन्धन नै रहेन । कांग्रेसले आफ्नो नेतृत्वको गठबन्धन किन जोगाउन सकेन ?

कांग्रेसको कार्यसम्पादन समितिले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । हामी सबैभन्दा ठूलो दल हौं र गठबन्धनलाई डेढ वर्ष सफलतापूर्वक नेतृत्व दिएको पनि हो । स्थानीय, प्रदेश र संघको शान्तिपूर्ण निर्वाचन कांग्रेसले गरायो । जुन तरिकाले जनताले मत दिए त्यसको आधारमा पहिलो कार्यकाल कांग्रेसले प्रधानमन्त्री दाबी गर्ने कुरा पनि रह्यो ।

सभापतिले प्रचण्डलाई पहिलो कार्यकाल दुई वर्ष प्रधानमन्त्री चलाउने र बाँकी तीन वर्ष उहाँलाई दिने भन्नुभएको थियो । कुराकानी राम्रै भइराखेको थियो । प्रचण्डलाई पार्टीबाट दबाव भयो पनि होला । शेरबहादुरजीलाई पनि दबाव थियो । प्रचण्डले अर्को विकल्प पाउनुभयो ।

उहाँ प्रधानमन्त्री हुँदा ३२ सिटको दलले सरकारको नेतृत्व गर्ने हो । ३२ सिटको दलको प्रधानमन्त्री हुँदा हामी धेरै पद पाउँछौं भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीलाई भयो होला । विकल्पमा खेल्ने अवसर प्रचण्डजीलाई भयो । उहाँले ओलीकहाँ पनि आफ्ना मान्छे खटाइरहनुभएको थियो । हामीले ‘इन्गेज’ त गरिराख्यौं, उहाँले पहिलोपटक प्रधानमन्त्री आफू नै हुनुपर्ने कुरा राख्नुभयो ।

प्रचण्ड पहिलो चरणमै प्रधानमन्त्री हुन खोज्नुमा सामाजिक र पारिवारिक कारण पनि थियो होला । पत्नीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएकाले सुरुमै प्रधानमन्त्री बन्ने चाहना थियो होला । अथवा प्रधानमन्त्री हुनैपर्ने केही बाध्यता उहाँमा थियो होला ।
राजनीतिका सबै कुरा हेर्दा कांग्रेसले प्रधानमन्त्री छोड्नु बेस हुने मलाई पनि लागेको थियो । प्रधानमन्त्री छोडे पनि सत्ताको केन्द्रमा कांग्रेस नै हुनेथियो । गठबन्धन रहन्छ भनेर हामीलाई माओवादीको र माओवादीलाई कांग्रेसको मत गएको हो, तर राजनीतिक नैतिकता अहिले भएन ।

हाम्रा कुरामा विश्वास गरेर कांग्रेसका मतदाताले माओवादीलाई पनि भोट दिए । प्रचण्ड कांग्रेसका मतदाताले पनि भोट दिएर निर्वाचित हुनुभएको हो । उहाँको पृष्ठभूमि, राजनीतिक व्यवहार, अभ्यासहरू हेरेर सुरुमै छोडिदिएको भए हुन्थ्यो । उहाँलाई प्रधानमन्त्री नदिनु गल्ती नै हो ।

सभापतिले कार्य सम्पादन समितिको निर्णय कार्यान्वयन गर्न लाग्दा सत्ता गुम्ने अवस्था आएको हो ?

त्यो निर्णय कार्यान्वयन नहुँदा पनि बृहत्तर लाभ कांग्रेसलाई हुन्थ्यो भने त्यसमा लाग्नुपथ्र्यो । प्रचण्डजीलाई प्रधानमन्त्री बनाएको भए राष्ट्रपति, सभामुखसहित धेरै मन्त्रालय कांग्रेसले पाउने थियो । प्रदेशका मुख्यमन्त्री पनि धेरै कांग्रेसका हुने हुँदा लाभ हामीलाई नै हुन्थ्यो ।

गठबन्धन बनाउँदा प्रचण्डले देउवाजीलाई तपाईं सिनियर नेता हो, नेतृत्व गर्नुस् भन्नुभएको थियो । उहाँले नै देउवाजीलाई अघि बढाउनुभएको हो । त्यो विश्वासमा यहाँसम्म आइसकेपछि प्रचण्डजीले प्रधानमन्त्रीको दाबी छोडेको भए पनि हुनेथियो ।

उहाँको पार्टी ह्रासोन्मुख छ । उहाँको जोखिम मोल्ने र अस्थिर खालका चरित्र बुझ्न सकेको भए अर्कै निर्णय हुन्थ्यो होला ।

सत्तामा कसलाई कता मिलाउने भन्नेमा सभापति देउवालाई पोख्त मानिंदै आएको थियो । पछिल्लो घटनाले त्यो बुझाइ गलत देखियो हैन ?

सधैं एउटै तरिकाले काम लाग्दैन । सधैं सफल नै भइरहने कुरा पनि भएन । सभापतिलाई माओवादी गठबन्धन छोड्दैन भन्ने विश्वास कतैबाट भयो होला । प्रचण्डजीले ‘कम्प्रोमाइज’ गर्नुहुन्छ भन्ने लागेको थियो होला । अब यो विषयमा केन्द्रीय समितिमा छलफल हुन्छ ।

सभापतिले निकट व्यक्तिहरूको भरपर्दा यो अवस्था आएको कतिपयले टिप्पणी गर्छन् । विश्वासपात्रले गुमराहमा राखेको भनाइप्रति तपाईं के भन्नुहुन्छ ?

कोही व्यक्ति सभापतिको नजिक हुँ भनिरहेका हुन्छन् । त्यसको लाभ पनि लिएका हुन्छन् होला, तर उनीहरूबाट मात्र सूचना लिने बानी सभापतिको भए जस्तो मलाई लाग्दैन । प्रचण्डलाई भेट्न सभापतिले एक जनालाई मात्र पठाएको भन्ने पनि होइन । तर, आफ्नै पक्षमा होला भन्दाभन्दै भएन ।

गठबन्धन जोगाउँदै सरकार बनाउने छलफलमा पार्टीका महामन्त्रीहरूलाई किन सहभागी नगराइएको ?

जिम्मेवार पदमा बसेकाहरूलाई पार्टीले लाभ वा हानि के प्राप्त गर्दैछ भन्ने थाहा हुन्छ भने त्यहाँ गएर कुरा गर्नुपर्छ । पार्टी र देशलाई क्षति हुँदैछ भन्ने थाहा हुने व्यक्तिलाई सभापतिलाई भेट्न कसले रोक्छ र ! म जानै पाइनँ, मलाई बोलाएन भन्ने कुराहरू तार्किक होइन ।

पार्टी कार्यालयमा जान मिल्छ, तर नबोलाई प्रधानमन्त्री निवास कसरी जाने भन्ने तर्क छन् नि ?

जिम्मेवार पद देश र पार्टीको लागि हो । नबोलाउनु गल्ती भए पनि पार्टीलाई क्षतिबाट नजोगाउनु त्योभन्दा ठूलो गल्ती हो । सभापतिको मात्रै पार्टी होइन, उहाँ बसेको निजी घर पनि होइन ।

सत्ताबाट बाहिरिएपछि सभापतिको विचार सार्वजनिक भएको छैन । पछिल्लो घटनाक्रमबारे उहाँको भनाइ के छ ?

सबै कुरा ठिकै तरिकाले अगाडि बढिरहेको थियो, प्रचण्डलाई विश्वास गरें, धोका भयो भन्नुहुन्छ । प्रचण्डजी दुवैतिर लागेकाले गठबन्धन टुट्यो ।

कांग्रेसका कतिपय नेता पार्टी छिट्टै सत्तामा पुग्छ भन्नुहुन्छ । सभापति विश्वस्त देखिएर त्यस्तो अभिव्यक्ति आएको हो ?

अगाडि कुन सरकार पाँच वर्ष टिकेको छ र ! अघिल्लो पटक दुई कम्युनिष्ट दलको त्यत्रो सिटसहितको सरकार बचाउन सकेनन् । हाम्रो संस्कार, प्रवृत्ति हेर्दा सरकारमा पुग्ने आकलन त कांग्रेसले गरिहाल्छ नि ! यो सरकार धेरै टिक्दैन भन्ने आकलन सबैले गरिरहेकै छन् नि ! सरकारमा रहेकाहरूले पनि यस्तै आकलन गरेका होलान् ।

यो सरकारको विकल्प दिने आन्तरिक तयारी कांग्रेसले सुरु गरेको बुझ्दा हुने हो ?

भर्खर उनीहरूको सरकार बन्दैछ । पहिलो पटक चुनाव लडेको पार्टीले उपप्रधानमन्त्री सहित गृहमन्त्री पाएको छ । उसले तुरुन्तै त्यो पद छोडेर आउने कुरा हुँदैन । अरूलाई पनि उपप्रधानमन्त्री सहित सरकारमा लैजाने कुरा चलिरहेको छ । यो सरकारले केही समय त पाउनुपर्‍यो नि !

राजनीतिमा सबै आफू बलियो हुने खेलमा लागिरहेका हुन्छन् । यो त राजनीतिको सामान्य खेल हो । कोही हात बाँधेर बस्दैनन् । हामी हाम्रो, उनीहरू आफ्नो खेल्छन् । यद्यपि, सरकार परिवर्तन भइहाल्ने सजिलो कुरा होइन ।

कांग्रेस सभापतिले केही दलका नेतालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको विषय बाहिर आएको छ नि ?

सभापतिलाई मैले भेट्दा कसैलाई प्रधानमन्त्री पद ‘अफर’ गरेको भन्नुभएन ।

कांग्रेस–एमालेको सरकार बनाउन पटक–पटक छलफल भएका थिए । माओवादीलाई बाहिर राखेर सरकार बनाउने प्रयास किन सफल भएन ?

त्यो हुने भनेको ‘लार्जर इन्ट्रेष्ट’मा हो । माओवादीको नेतृत्वमा यो सरकार नभएको भए ७६ (३) मा जान सक्थ्यो होला । देउवा प्रधानमन्त्री भएर विश्वासको मत नपाउँदा अर्को विकल्पमा जान्थ्यो । कुनै सदस्यले पनि दाबी गरेर सरकारको नेतृत्व गर्ने अवस्था आउने थियो ।

संविधानको त्यो धाराले काम नगरे चुनावमा जानुपर्ने हुन्थ्यो । पाँच वर्ष सरकार टिकाउने कांग्रेस–एमालेको त्यो एउटा विकल्प थियो ।

हरेक पटक सरकार बन्दा बाहिरी चलखेलको कुरा हुन्छ । यो सरकार बन्दा पनि यस्तो आशंका गरियो । तपाईंको बुझाइमा यथार्थ के हो ?

नेपालीमा कमजोर मनोविज्ञान भयो– हरेक कुरालाई बाहिरसँग जोडेर दोष दिने । सरकार बन्दा वा ढल्दा बाहिरियाको खेल भनिदिन्छौं । वास्तवमा यो सोच नै हाम्रो स्वाभिमानमाथिको प्रहार हो ।

केही देशलाई हामीप्रति चासो, चिन्ता छ । त्यसअनुसार रिपोर्टिङ गर्छन् । यो सम्बन्धमा पनि भर पर्छ । हरेक कुरामा बाहिरी खेल देख्नु स्वाभिमानको कुरा होइन ।

हामीले नकारात्मक चासो र हस्तक्षेप रोक्ने हो । कुनै देशले नेपालमा फलानो पार्टीको सरकार ल्याउन हस्तक्षेप गर्ने भन्ने हुँदैन । उनीहरूको ‘इन्ट्रेष्ट’ भने नहुने होइन ।

हामी पनि भारत वा अमेरिकामा चुनाव हुँदा ठूलो चासो राख्छौं । अधिकांश नेपालीको चासो डेमोक्रेटिक पार्टीको पक्षमा हुन्छ । यो सामान्य कुरा हो, जहाँ पनि हुन्छ ।

देशमा विदेशी चलखेलको मनोविज्ञान बन्नुमा हाम्रो राजनीतिक नेतृत्वको कमजोरी छैन ?

म पनि विद्यार्थी राजनीतिबाट आएको मान्छे हुँ । हामी सुरुबाटै सैद्धान्तिक धारहरूमा विभाजित भयौं । साम्यवादी र प्रजातान्त्रिक धारमा बाँडिएकाले एकअर्कालाई विदेशसँग जोड्ने चलन बस्यो ।

हामीकहाँ सरकारमा जान फलानो देशको समर्थन चाहिन्छ भन्ने खालको मानसिकता भयो । जबकि, सरकार छोड्दा पनि आफैं निर्णय गरेर छोड्न सकिन्छ, किन कसैको भूमिका खोज्ने ?

हामी आफैं कमजोर बनिदिन्छौं कि यहाँ जसले पनि खेलिहाल्छ भन्ने हुन्छ । विदेशी कूटनीतिज्ञहरूले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलाई सीधै भेटिरहेका हुन्छन् । त्यसरी भेट गर्नुहुँदैन भनेर नियमावली पनि बनाउँछौं, तर पालना गर्दैनौं ।

देशभक्तिका साथ आफ्नो स्वाभिमानी अडान लियौं भने कसैले यस्तो व्यवहार गर्न सक्दैन । यस्तो गर्दा केही समय अप्ठेरो पर्न सक्छ, तर त्यसबाट एउटा परिपाटीको विकास हुन्छ ।

परराष्ट्र नीति बनाएर मन्त्रालयको दराजमा थन्क्याइएको छ । तपाईं आफैं मन्त्री हुनुभयो, कार्यान्वयन किन हुँदैन ?

चीनले अघि सारेको जीएसआईबारे धेरै कुरा बुझ्न बाँकी छ, अहिले नेपालले धारणा नराखेको राम्रो भनेर परराष्ट्र मन्त्रालयले भनिरहेका बेला राष्ट्रपतिबाट सम्बोधन भयो । हामीकहाँ जो पनि नजिक हुन चाहने, तुरुन्तै फाइदा लिन खोज्ने प्रवृत्ति भइदियो ।

हामीकहाँ उत्ताउलो राष्ट्रियता छ । कुनै अमूक देशलाई दोष दिएर सडकमा आइहाल्ने प्रवृत्ति छ । यसकारण मुलुकलाई कतै केही घाटा भयो कि मैले क्षति पुर्‍याएँ कि वा अरूको तुलनामा हामी किन गरिब छौं भन्ने खालको चिन्तन छैन ।

हामी यसै पनि भूराजनीतिकदेखि खुला सीमासम्मका अप्ठेरामा छौं । अर्थतन्त्र कमजोर भएकाले धेरै कुरामा बाह्य सहयोगमा भर पर्नुपर्छ । यो भनेको बाह्य शर्त मान्नुपर्ने अवस्था हो । यसरी मान्दा हाम्रा नीतिगत विषयमा हस्तक्षेप हुन्छ । यस्ता कुरामा हामीले कहिल्यै छलफल गरेनौं ।

मैले शीर्ष नेताहरू बसेर एउटा धारणा बनाएर जाऊँ, जलस्रोत, सुरक्षा, सीमालगायत विषयमा हाम्रो अडान यो हो भनेर निर्णय गरौं भनेको थिएँ । यो पाटोमा हामी कमजोर छौं ।

मुलुकको ओहोदामा आसीन राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्रीले पनि देशको कानुन मान्नुपर्छ । उनीहरूले त्यसको उल्लंघन गरिरहँदा परराष्ट्र मन्त्रालय किन मूकदर्शक बन्छ ?

मेरो पालामा केही मुद्दामा मन्त्रालय बोलेको छ । हाम्रोमा प्रणालीगत अप्ठेरो छ । हाम्रो प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्री नै ‘वान इन अल’ हुन्छ । प्रधानमन्त्रीले चाहे भेट्न सक्छन् । भेट्दा परराष्ट्रको कर्मचारी राखे दुवै पक्षले भनेका कुरा रेकर्डमा बस्छ, जुन भोलिका लागि ‘रेफरेन्स’ हुन्छ ।

उनीहरू यो सबै तयारी गरेर आउँछन् । कुनै राजदूत मलाई भेट्न आउँदा मान्छे लिएर, नोटबुक बोकेर आउँछन् । हामीले पनि परराष्ट्र मन्त्रालयभन्दा माथिको निकाय– राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीसम्मले यस्तो थिति बसाउनुपर्छ ।

जीएसआईको विषयमा परराष्ट्रले ढिलो जानकारी गराएको प्रतिक्रिया राष्ट्रपतिको कार्यालयबाट आएको थियो । त्यसबेला खास भएको के थियो ?

परराष्ट्रले आफ्नो धारणासहित चिठी नै पठाएको थियो । तर, राष्ट्रपति कार्यालयमा कहाँबाट, कसको फोन आएर दबाव भयो होला । हामीकहाँ राजनीतिक वातावरण अनुसार कर्मचारीको मनस्थिति मिसिएर आउँछ । यसमा कुनै एक व्यक्ति वा निकाय मात्र सच्चिएर पुग्दैन । त्यसैले बलियो देशभक्त सरकार चाहिन्छ भनेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा सत्तारुढ दलको कार्यालयमा पनि पुग्नुभयो । सरकारले देशभित्र पनि विवादास्पद निर्णयहरू गर्‍यो । किन सच्याउन सकिएन ?

प्रधानमन्त्री देउवा नेपाली कांग्रेसको सभापति पनि भएकोले पार्टी–पार्टीबीच सम्बन्ध स्थापना गर्न भारतीय जनता पार्टीको अफिसमा जानुभएको हो । भारतका प्रधानमन्त्रीलाई पनि हाम्रो पार्टी कार्यालयमा ल्याउन सकिन्छ । त्यो नहुने कुरा होइन ।

आफ्नो सत्ता जोगाउन र बीजेपीलाई खुशी पार्न जानुभयो भन्ने सन्देश गयो नि त ?

सत्ता जोगाउन त त्यहाँ जानै पर्दैैन ।

ईपीजीको प्रतिवेदन भारतले बुझ्न मानिरहेको छैन । यसमा तपाईंले के पहल गर्नुभयो ?

हामीले भारतसँग कुरा गर्‍यौं, सीमा विवादका विषयमा पनि हामीले पहल गरेका हौं । प्रधानमन्त्रीको भारत भ्रमणका बेलामा पनि यो विषय उठाएका हौं । यसलाई परराष्ट्रको मन्त्रीस्तरीय संयन्त्रमार्फत कुरा गरौं भन्ने भयो ।

यी कुरा बाहिर भन्न सजिलो र भित्र गर्न गाह्रो हुन्छ । हामी आफैं दशथरी पार्टी मिलेर बनेका सरकार थियौं । सरकार नै कतिबेला ढल्छ भन्ने अवस्था थियो । यति ठूलो मुद्दाका लागि राष्ट्रिय सहमति चाहिन्थ्यो । यद्यपि, हामीले कुरा राख्यौं ।

भारत सरकारले नै विज्ञ पठाएको हो । उहाँहरूले नै त्यसमा हस्ताक्षर गर्नुभएको छ । त्यसैले बरु अझै पनि केही नमिलेको कुरा भए त्यसमा छलफल गरेको भए हुन्थ्यो । तर, प्रतिवेदन दराजमै थन्किएको छ ।

तपाईंको कार्यकालमा हाम्रो समग्र कूटनीतिक सम्बन्ध कस्तो रह्यो ?

परराष्ट्र मन्त्रालयको काम सडक खनेजस्तो, खानेपानीको धारा राखेजस्तो हुँदैन । परराष्ट्र सम्बन्ध सन्तुलित कि असन्तुलित थियो, मित्र राष्ट्रहरूसँगको सम्बन्ध तनावमुक्त भयो भएन, अन्तर्राष्ट्रिय क्षेत्रको विश्वास बढ्यो कि घट्यो, बाह्य सहयोगको वातावरण बन्यो कि बनेन भनेर मूल्यांकन गर्नुपर्छ ।

मेरो कार्यकालको मूल्यांकन गर्ने जिम्मेवारी मुलुकको परराष्ट्र सम्बन्ध र अवस्था बुझेकाहरूलाई छाडेको छु । समग्रमा मैले मुलुकको राष्ट्रिय हित हुने राम्रो काम गरेको छु । चीनसँगको सम्बन्ध विस्तारमा म आफैं त्यहाँ भ्रमणमा गएँ । टर्कीको राजदूतावास खोल्ने कुरा अन्तिम चरणमा पुगेको छ ।

तपाईंको कार्यकालमा राम्रो र नराम्रो दुवै भएन भनी मूल्यांकन गर्नेहरूलाई के भन्नुहुन्छ ?

त्यो कसले भन्यो भन्नेमा भर पर्छ । यहाँ मान्छेहरू सिद्धान्तमा विभाजित र पूर्वाग्रही छन् । यसरी सही मूल्यांकन हुँदैन । त्यसैले म प्रदीप ज्ञवालीको मूल्यांकन नै गर्दिनँ । पार्टीभित्रको कुरा गर्ने हो भने मेरो काम मन पराउनलाई पहिले मलाई मनपराउनु पर्‍यो । मलाई मन नपराउनेले राम्रो हुँदा पनि नराम्रो भन्दिरहेको हुनसक्छ । यो हाम्रो प्रवृत्तिको कुरा हो ।

अनलाइनखबर

Related News

‘सहकारी क्षेत्रमा सुशासनसहितको शुद्धीकरणलाई प्राथमिकता दिएर अगाडि बढ्छौं’
‘सहकारी क्षेत्रमा सुशासनसहितको शुद्धीकरणलाई प्राथमिकता दिएर अगाडि बढ्छौं’
  • २०७९ पुष २५, सोमबार १३:०२ गते

बचत तथा ऋण सहकारी संस्थाहरूको राष्ट्रिय महासंघ अर्थात् नेफ्स्कुन (नेसनल फेडरेसन अफ सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ्स अफ नेपाल) को पुस...

वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठग्ने घटना बढे
वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठग्ने घटना बढे
  • २०७९ पुष २५, सोमबार १३:०२ गते

पछिल्लो समय अपराधका स्वरूप बदलिन थालेका छन् । अन्य अपराधका घटनाका तुलनामा आर्थिक अपराधको संख्या बढी रहेको प्रहरीको तथ्याङ्क छ...

रामचन्द्र दाइले अघि बढाएका योजना डोर्‍याउन उत्तराधिकारीको रूपमा म आएको छु : गोविन्द भट्टराई
रामचन्द्र दाइले अघि बढाएका योजना डोर्‍याउन उत्तराधिकारीको रूपमा म आएको छु : गोविन्द भट्टराई
  • २०७९ पुष २५, सोमबार १३:०२ गते

आगामी १० वैशाखमा हुने तनहुँ–१ को उपनिर्वाचनमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ । उक्त क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवारका...

TOP