जनता समाजावादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादव आम चुनावमा सिरहा–४ छाडेर सिरहा–२ बाट चुनाव लडे र उनले चुनाव पनि जिते । जहाँ जसपाका अध्यक्ष उपेन्द्र यादव चुनाव हारेका थिए, त्यही राजकिशोर यादवले चुनाव जिते ।
राजकिशोर यादव चुनाव जितेपछि संसदीय दलको नेता उनी नै हुने धेरैको आकलन थियो । उनी नभएपछि पार्टीका संघीय परिषद्का अध्यक्ष अशोक राई संसद दलको नेता हुनुपर्ने थियो तर बाराका रामसहाय यादव नेता चुनिए । यसले पार्टीमा एक खालको असन्तुष्टि देखिएको छ । जसपा नेपाल सरकारमा जाने तयारी गरिरहेको छ । त्यसलाई पार्टीले कसरी व्यवस्थापन गरिरहेको छ । यिनै विषयवस्तुमा केन्द्रीत रही प्रस्तुत छ जसपाका कार्यकारिणी सदस्य एवं सांसद राजकिशोर यादवसँग गरेको कुराकानीको सम्पादित अंशः
आफ्नो क्षेत्र छाडेर भए पनि तपाईंले चुनाव जित्नुभयो तर समग्रमा पार्टीले हार्यो । यस्तो किन ?
–पार्टीको हित हुने गरी नै पार्टी नेतृत्वले मलाई सिरहा–२ बाट चुनाव लडाएको हुनुपर्छ । पार्टीले निर्णय गरिसकेपछि मैले त्यसलाई सहस्र स्वीकार गरे । सो क्षेत्रका जनताले मलाई भरपुर सहयोग र आशीर्वाद दिएर जिताए । म जितिरहँदा अपेक्षा गरेअनुसार पार्टीले नतिजा ल्याउन सकेन र त्यसको बारेमा हामीले निर्मम ढंगले समीक्षा गरिरहेका छौं ।
चुनाव लडेपछि जित्ने सबैको अपेक्षा हुन्छ । जहाँसम्म हाम्रो पार्टीका अध्यक्ष उपेन्द्र यादवको कुरा गर्नुहुन्छ भने उहाँले एउटा विद्रोहको, एउटा आन्दोलनको नेतृत्व गरेको नायकको रुपमा आफ्नो व्यक्तित्व बनाउनु भएको छ । देशमा आएको संघीयतालाई सम्बोधन गराउनका लागि उहाँले जुन भूमिका खेल्नुभयो । त्यसमा उहाँले विभिन्न अग्रजमध्ये आफ्नो स्थान छुट्टै बनाउनु भएको छ ।
यसपालीको चुनावमा विभिन्न चलेखल तथा पार्टीभित्रबाट पनि घात अन्तर्घात हुने काम भयो, त्यसैले हार्नुभयो तर अध्यक्षले एउटा चुनावमा हार्दैमा पार्टीले हार्यो भन्ने मूल्याङकन गर्न मिल्दैन ।
उपेन्द्र यादव चुनाव हारेपनि उहाँ पुनः संसदमा आउन चाहना गर्नु भएको जस्तो छ नि ?
–पार्टी अध्यक्ष नै हार्नु भनेको पार्टीका लागि अपूरणिय क्षति भएको छ । तर तपाईंले भनेजस्तो उहाँ संसदमा आउनका लागि अहिलेसम्म कुनै चेष्टा गर्नुभएको छैन । आजसम्म पार्टीमा त्यसको बारेमा उहाँले चर्चा पनि गर्नुभएको छैन । बरु पार्लियामेन्टमा उहाँको उपस्थिति नहुँदा हामीलाई एक प्रकारको कमी महसुस भइरहेको छ ।
मधेस क्रान्तिको नेतृत्व गर्नुभएको र परिवर्तनका संवाहक भएको कारणले संसदमा उहाँको आवश्यकता महसुस भइरहेको छ । तर उहाँ संसदमै जाने त्यस्तो कुनै संकेत गर्नुभएको छैन । उहाँलाई विवादमा ल्याउने काम भइरहेको छ । तर संसदमा उहाँको आवश्यकता छ भनी हामीले महसुस गरेका छौं ।
उपेन्द्र यादव पछिको नेता अशोक राई हुनुहुन्छ तर उहाँलाई संसदीय दलको नेता किन बनाइएन ?
–अलिकति उपेन्द्र यादवप्रति पूर्वाग्राही भएर तपाईंको प्रश्न आइरहेको छ जस्तो लाग्छ । पार्टीको राजनीतिक जीवनमा विभिन्न घटना परिघटना हुन्छ । पार्टीले आफ्नो हित हुने गरी निर्णय गर्छ ।
माननीय अशोक राईजी पार्टीको सिनियर नेता मात्र होइन, उहाँ संघीय परिषद्को अध्यक्ष पनि हुनुुहुन्छ । सम्मानित व्यक्ति हुनुहुन्छ । निर्वाचनपश्चात पार्टीमा जे परिणाम आयो, त्यसबाट हामी निकै दुःखी भयौं । त्यसको बारेमा छलफल हुँदा पार्टीलाई के गर्दा फाइदा हुन्छ भन्दा स्वयं अशोक राईजीले पनि अहिले एउटा म्यासेज दिनु छ ।
तल मधेसका साथीहरुमा जुन प्रकारको निराशा छ, त्यसलाई चिर्नका लागि रामसहाय यादवलाई संसदीय दलको नेता बनाउँदा राम्रै हुन्छ भन्नुभयो र उहाँसँग सल्लाह गरेरै रामसहाय यादवलाई नेता बनाइएको हो ।
हालैको चुनावमा जसपा कमजोर हुनुको मुख्य कारण के हो ?
–यसको बारेमा हामीले निर्मम समीक्षा गर्दैछौं, जिल्ला जिल्लाबाट प्रतिवेदन आइरहेको छ । त्यस प्रवेदनमाथि छलफल हुन्छ र एउटा निष्कर्ष निकालिनेछ ।
अर्को कुरा, चुनावका लागि हामी एक खालको तयारीमा थियौं । एउटा गठबन्धनमा थियौं । तलसम्म त्यही प्रकारको एउटा मनोविज्ञान तयार थियो । गठबन्धनमा रहेका दलहरुको बीचका एक प्रकारको एकरुपता कायम भएको थियो । चुनावभन्दा केही दिन अगाडि अर्को परिस्थिति निर्माण भयो र हामीले गठबन्धन परिवर्तन गर्यौं । त्यसले अलिकति असर गरेको जस्तो मलाई लाग्छ ।
प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्दा भन्दै ढिलो गरी समर्थन गर्ने निर्णय गर्नुभयो । के कारणले समर्थन गर्नुभयो ?
–परिस्थिति नै त्यस्तो बनेको थियो । पुस १० गते माओवादीका अध्यक्ष प्रचण्ड १२ वजेसम्म बालुवाटारमा छलफल गर्दै हुनुहुन्थ्यो । अचानक भै परिर्वतन अर्को बन्यो । त्यसले गर्दा हामीले निर्णय गर्नमा अलि समय लियौं ।
पार्टीमा छलफल गर्यौं । फेरि गठबन्धनमा छलफल गरेर हाम्रो मुद्दामा सहमति भएपछि हामीले समर्थन दिएका हौं । संविधान संशोधन, संघीयता संस्थागत गर्ने मुद्दामा हामी र प्रचण्डजीको पार्टी नजिक छ ।
तर न्यूनतम साझा कार्यक्रममा त तपाईंहरुको मुद्दा परेन नि ?
–सात दलको गठबन्धन रहेको छ । त्यहाँ सात थरीको विचार छ । हामीले नै सबै कुरा खोजेर हुँदैन । हामीले सोचेको जस्तो हुँदैन । एउटा नागरिकताको मुद्दा परेको छ त्यहाँ । संविधान संशोधन गरेर संविधानको रक्षार्थका लागि कुनै कुरा तलमाथि हुन दिने छैन भन्ने कुरा पनि उल्लेख छ । सुशासनका सवालहरु पनि राखिएको छ । अहिलेको प्राप्त उपलब्धिलाई रक्षा गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको छ ।
संघीयता नचाहने, गणतन्त्र नचाहने शक्तिसहितको गठबन्धनमा तपाईंहरु कुन सिद्धान्तको आधारमा सहभागी हुनुभयो त ?
–संघीयता र गणतन्त्रका लागि १० वर्ष जनयुद्धको नेतृत्व गर्नुभएका प्रचण्ड त्यही सरकारको प्रधानमन्त्री हुनुहुन्छ । हामीले प्रधानमन्त्रीलाई हेरेर यो निर्णय लिएका छौं ।
पार्टीको सिद्धान्त, विचार, राजनीतिक कार्यक्रमहरु आआफ्ना होला तर सरकारको न्यूनतम साझा कार्यक्रम हेर्ने हो भने अग्रमन र परिवर्तनको पक्षमा रहेको छ । त्यही भएर हामीले समर्थन गरेका हौँ । त्यो ठाउँमा प्रचण्डबाहेक अरु भइ दिएको भए शंका गर्ने ठाउँ हुन्थ्यो । जसले गणतन्त्रका लागि आफ्नो ज्यानै दाउमा राख्नुभयो, त्यस्तो व्यक्तिमाथि त्यसरी आशंका गर्नुहुँदैन ।
जसपा सरकारमा जान्छ कि विपक्षमा बस्छ ?
–हामीले सरकारलाई समर्थन गरिसकेपछि स्वभाविक रुपमा सत्ता पक्षकै बेन्चमा बसिरहेका छौं । सम्मानजनक अवस्था भयो भने हामी सरकारमा पनि सहभागी हुन्छौं ।
जे उद्देश्यका लागि पार्टी सरकारमा जान्छ, त्यो उद्देश्य परिपूर्तिका लागि त्यो खालको वतावरण निर्माण गरिदिने कुरा प्रधानमन्त्री प्रचण्डको भूमिकामा भर पर्छ ।
जसपाले कतिवटा मन्त्रालयमा दावी गरेको छ ?
–अहिले त्यस विषयमा कुनै छलफल भएको छैन । यो विषय गठबन्धनबाट नै टुंगिने विषय हो ।
समग्रमा मधेस प्रदेशमा जसपा कमजोर भएको छ, जनमत पार्टी नयाँ शक्तिको रुपमा आएको छ । अब त्यो पार्टीसँग टक्कर रहन्छ कि गठबन्धन वा एकता हुन्छ ?
–परिणाम हामीले सोचेकै वरपर आएको छ तर अपेक्षा गरेको जस्तो आएन । जनमत पनि अहिलेको संघीयता, सुशासन, समावेशी र पहिचानप्रति ईमान्दारीपूर्वक अगाडि बढुन् भन्ने हाम्रो चाहना हो । जनताले पनि जनमतलाई त्यो मौका दिएको छ । भविष्यमा उहाँहरुको कार्यशैलीले हेरेर हामी निर्णय गर्छौ । अहिले हामी एउटै गठबन्धनमा छौं, मित्रवत सम्बन्ध रहेको छ ।
अहिले नेकपा एकीकृत समाजवादीसँग एकीकरणको कुरा पनि चलिरहेको छ । यो कसरी अगाडि बढेको छ ?
–हामीले यो देशमा पहिचानको आन्दोलन, मुक्तिको आन्दोलन गरेर आएका छौं । त्यसको लागि हामी शक्ति विस्तार गर्ने पक्षमा छौं । विचार मिल्ने, सिद्धान्त मिल्नेसँग ध्रुवीकरण गरेर जाने भएका छौं । एक अर्काले आवश्यकता महसुस गरेको छ, त्यस आधारमा अगाडि बढेका छौं । एकीकृत समाजवादीसँग मात्र होइन, अरु समान विचारसँग मिलेर पनि अगाडि बढ्ने कुरा भइरहेको छ ।
अहिलेको सरकार तथा संसदमा जुन खालको शक्तिहरुले प्रवेश पाएका छन् । त्यसलाई तपाईले कसरी लिनुभएको छ ?
–नेपाली राजनीतिको डिस्कोर्स फरक ढंगले अगाडि बढेको भान हुन्छ । नेपाली समाजले परिवर्तन खोजेको जस्तो म्यासेज दिएको छ । त्यसले गर्दा यस्तो देखिएको हो । भोलि गएर उनीहरु कुनै बदमाशी गरे भने त्यो फरक कुरा हो तर अहिले जनताको मत लिएर संसदमा आएका हुन् ।
ठूला दलहरुले जे गरिरहेका छन्, त्यसमा एक प्रकारको असन्तुष्टि देखिएको छ । त्यसमा सुधार गर्ने पनि जनताले मौका दिएका छन् । अर्को कुरा, पुस्तान्तरण गर्ने संकेत पनि दिएका छन् । त्यो मतलाई कसैले दुरुपयोग गर्यो भने भोलिको दिनमा त्यसको राम्रो हुँदैन र उपलब्धिलाई पनि बचाउन सकिदैन । परिस्थितिले सच्चिने मौका सबैलाई दिएको छ ।
नेपालले गर्व गर्ने व्यक्तित्व हुनुहुन्छ डा. सन्दुक रुइत। मोतीबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिनुभएका...
विजयकान्त कर्ण डेनमार्कका लागि पूर्व नेपाली राजदूत हुन्। त्रिभुवन विश्वविद्यालयका पूर्व सह- प्राध्यापक कर्ण हाल सेन्टर फर सोसल इल्क्लुजन एन्ड फेडेरालिजम...
दैनिक बिरामीको उपचारमा खटिने डा. तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । आजभन्दा दुई महिना अघि शल्य चिकित्सकका रूपमा रहनुभएका...