२०८० मंसिर २०
December 6, 2023, Wednesday

आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै, देशभर सार्वजनिक विदा

आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै, देशभर सार्वजनिक विदा

काठमाडौं, आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् ।

मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन् ।

हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बू, नेवार, गुरुङ लगायतका जातजातिले यस पर्वलाई आआफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।

माघे सङ्क्रान्ति र माघी पर्वको अवसरमा काठमाण्डौ उपत्यकासहित ठाउँठाउँमा मेला महोत्सव भएको छ । सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।

आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा मेला लाग्छ । यी ठाउँमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ ।

पश्चिम तराईका थारू समुदायमा भने माघीको रौनक छाएको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् ।

माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा समेत मान्ने गर्छन् । थारु समुदायमा गएराति जाग्राम बसेर भजन कीर्तन गर्ने र आज बिहानै नजिकैको खोला नदीमा गइ नुहाउने गरिन्छ ।

नुहाएपछि आफूभन्दा ठूला मान्यजनसँग आशीर्वाद लिने र साथीभाइसँग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

थारू समुदायले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजनाअनुसार नै परिवारका सदस्यहरु सबै आ–आफ्नो काममा लाग्छन् ।

घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गरिन्छ । माघीमा गाउँका सबै जना जम्मा भएर वर्षदिनका लागि बड्घर अर्थात् गाउँको अगुवा, चौकीदार र गुरुवा चयन गर्ने गरिन्छ ।

माघीमा चयन गरिने अगुवाले वर्ष दिनभरि गाउँको विकास निर्माण, सुरक्षा, सूचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने गर्छन् ।

यस्तै तराईका कतिपय ठाउँमा भने आज माघ १ गतेलाई नहान अर्थात नुहाउने पर्वका रूपमा मनाइन्छ । आज बिहानै तीर्थस्थलमा गइ स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।

यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।

तरुल पुसको अन्तिम दिनमा पकाएर राखेर माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा समेत प्रयोग गरिन्छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास पनि छ ।

Related News

अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
  • २०७९ माघ १, आईतवार ०८:३६ गते

औषधी  व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी...

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ माघ १, आईतवार ०८:३६ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
  • २०७९ माघ १, आईतवार ०८:३६ गते

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...

TOP