२०८१ बैशाख ६
April 18, 2024, Thursday

अलैँचीलाई उछिन्यो चिराइतोको मूल्यले, प्रतिमन ३० देखि ३२ हजार रुपियाँमा कारोबार

अलैँचीलाई उछिन्यो चिराइतोको मूल्यले, प्रतिमन ३० देखि ३२ हजार रुपियाँमा कारोबार

ताप्लेजुङ, कालो सुन’को नामले परिचित अलैँचीको मूल्यलाई चिराइतोको मूल्यले उछिनेको छ ।

उच्च हिमाली जिल्ला ताप्लेजुङको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको मूल्यभन्दा चिराइतोको मूल्य धेरै भएपछि किसान र व्यवसायी उत्साहित भएका छन् ।

चिराइतो व्यवसायी तथा सङ्कलक स्थानीय गोविन्दराज बरालका अनुसार ताप्लेजुङमा चिराइतो प्रतिमन (४० किलोग्राम) ३० देखि ३२ हजार रुपियाँमा कारोबार भइरहेको छ ।

झापाको बिर्तामोडमा प्रतिमन ३५ हजार रुपियाँसम्ममा कारोबार हुने गरेको उहाँले बताउनुभयो । यस वर्ष भारतबाट चिराइतोको माग धेरै आएकाले मूल्य पनि राम्रो आएको स्थानीय व्यवसायी तथा किसान बताउँछन् ।

नेपालमा उत्पादन हुने अलैँची र चिराइतोको बजार भारत हुँदै तेस्रो मुलुक नै हो । त्यसैले यहाँ उत्पादन हुने चिराइतोको मूल्य अन्तर्राष्ट्रिय बजारमा भर पर्ने व्यवसायी बरालको भनाइ छ ।

विगतका वर्षमा चीनबाट चिराइतोको उच्च माग हुने र त्यसबेला मूल्य पनि राम्रै रहेको थियो । पाँच÷सात वर्षयता चीनलगायत कुनै पनि देशबाट माग नभएपछि मूल्य घट्नुका साथै कारोबार पनि ठप्प भएको व्यवसायीले बताएका छन् ।

स्थानीय व्यवसायी तथा किसानका अनुसार गत वर्षसम्म चिराइतो कारोबार नभएको र प्रतिमन १० हजार रुपियाँमा पनि बिक्री हुन सकेको थिएन ।

बजार माग र मूल्य नभएपछि किसानले चिराइतो खेती लगाउन नै छाडिसकेका थिए । चिराइतोको विकल्प नभएको ठाउँमा मात्र बर्सेनि सामान्य खेती गर्ने गरिएको किसानको भनाइ छ ।

सात÷आठ वर्षपछि यसपालि चिराइतोको राम्रो मूल्य आएपछि किसानमा उत्साह छाएको फक्ताङ्लुङ गाउँपालिका–४, इखाबुका धनबहादुर लाबुङ लिम्बूले बताए ।

चिराइतोका किसानसमेत रहनुभएका लिम्बूले मूल्य राम्रो आएपछि अहिले धमाधम बिक्री गर्न थालेको बताए । चिराइतो खेतीप्रति निराशा छाउँदै गएको अवस्थामा यस वर्षको मूल्यले उत्साह जगाएको पनि उनले बताए ।

चिराइतो खेती अन्य बालीभन्दा सहज हुने भएकाले आकर्षक मूल्य आएमा खेती गर्न किसानले झन्झट मान्दैनन् । सामान्य पाखोबारी र जमिनमा भस्मे फँडानी गरेर चिराइतो खेती लगाउँदा राम्रै फस्टाउने किसान बताउँछन् ।

यो वर्ष चिराइतोको माग र मूल्य राम्रो भए पनि जिल्लामा उत्पादन न्यून भएको स्थानीय व्यवसायीले बताएका छन् ।

उत्पादन नभएकाले राम्रो मूल्य आए पनि फाइदा लिन पाउने अवस्था नरहेको व्यवसायीको भनाइ छ ।

व्यवसायीका अनुसार अहिले जिल्लामा उपलब्ध र सीमित उत्पादनलाई सङ्कलन गरेर झापाको बिर्तामोड हुँदै भारतीय बजार पठाउने गरिएको छ ।

लामो समयपछि यो वर्ष अलैँचीभन्दा चिराइतो राम्रो मूल्यमा बिक्री गर्न पाउँदा सन्तुष्टि भने मिलेको व्यवसायी बताउँछन् ।

अहिले अलैँचीको मूल्य भने प्रतिमन २०–२५ हजार रुपियाँसम्म रहेको व्यवसायीले बताएका छन् ।

अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष एवं व्यवसायी भद्रवीर रेग्मीका अनुसार साधारण अलैँची प्रतिमन २६ हजार रुपियाँ सम्ममा कारोबार हुँदै आएको छ ।

दानाको फुर्का (पुच्छर) काटेको अलैँची भने प्रतिमन २७ हजार रुपियाँमा कारोबार भइरहेको अध्यक्ष रेग्मीले जानकारी दिए ।

Related News

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७९ माघ १२, बिहीबार ०९:३६ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

१२ वर्षमा २८ हजार ७५० मेगावाट विद्युत उत्पादन हुन्छ
१२ वर्षमा २८ हजार ७५० मेगावाट विद्युत उत्पादन हुन्छ
  • २०७९ माघ १२, बिहीबार ०९:३६ गते

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले १२ वर्षमा २८ हजार ७५० उत्पादन दाबी गरेका छन् । जलविद्युत आयोजना निर्माण...

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
  • २०७९ माघ १२, बिहीबार ०९:३६ गते

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार...

TOP