२०८० मंसिर १४
November 30, 2023, Thursday

नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने सहमति

नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने सहमति

काठमाडौं, नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने सहमति भएको छ ।

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगगरेको भेटपछि दुवै पक्षबीच सो समझदारी भएको हो ।

यसका लागि दुवै पक्षका सम्बन्धित निकायले आपसी सहकार्य गर्ने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल र मलेसियाबीच २०७५ कात्तिकमा श्रम समझदारी भएको थियो । सो अवसरमा दुवै देशबीच उच्च राजनीतिक तथा प्रशासनिक तहमा भेटघाट तथा सम्वाद बढाउँदै व्यापार, लगानी, पर्यटन, आर्थिक विकासलगायत क्षेत्रमा मिलेर काम गर्ने विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

‘मलेसिया सरकारले नेपाली श्रमिकलाई प्रदान गर्दै आएको वातावरणका लागि सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘यदि यो विषयमा केही समस्या भएमा कानूनी तथा संस्थागत सुधार गर्दै मलेसिया सरकारले नेपाली श्रमिकको हित, कल्याण र सुरक्षालाई सुनिश्चित गर्नेछ भन्ने विश्वास लिएका छौँ । यो विषयमा मलेसिया सरकारसँग सहकार्य गर्न हामी सदैव तत्पर छौँ ।’

भेटमा प्रधानमन्त्री दाहालले मलेसिया सरकारका तर्फबाट श्रमिकको न्यूनतम ज्याला, एक हजार दुई सय रिङ्गेटबाट वृद्धि गरेर एक हजार पाँच सय बनाएकामा धन्यवाद दिए ।

यसका साथै फ्रि भिसा र फ्रि टिकटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले यसो गर्न सकेमा रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताए।

प्रधानमन्त्री दाहालले मलेसियामा नेपाली श्रमिक इमान्दार र परिश्रमीका रूपमा सुपरिचित भएको उल्लेख गर्दै भविष्यमा नेपाली श्रमिकको सङ्ख्यामा वृद्धि गर्न मलेसिया सरकारलाई आग्रह गरे ।

उनले मलेसियामा नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यकसमेत रहेकामा जोड दिए ।

‘आप्रवासन क्षेत्रलाई थप खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउन मलेसिया सरकारको सहयोग र सहकार्यको अपेक्षा राखेका छौँ’, उनले भने ।

प्रधानमन्त्री दाहालले मलेसिया जाने श्रमिकको सीप, ज्ञान र क्षमता अभिवृद्धि गर्न तथा मलेसियाबाट सिकेको व्यावसायिक ज्ञान र दक्षतालाई नेपालमा उपयोग गर्ने वातावरण बनाउनका लागि समेत दुवै देशले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

यसबाट श्रमिकसमेतलाई उत्प्रेरित गर्ने उनको भनाइ थियो ।

भेटमा गृहमन्त्री नासुसन इस्मालीले विदेशी श्रमिकलाई भित्र्याउने प्रक्रिया र त्यहाँ रहँदा कामदारको कल्याण र सुरक्षाका विषयमा मलेसियाली सरकार गम्भीर रहेको बताए ।

उनले मलेसियाको पाँच वटा आर्थिक क्षेत्रमा कामदारको आवश्यकता रहेको जानकारी दिँदै कामदारको कल्याणका लागि नीतिगत तथा कानूनी ढाँचामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाली श्रमिकको प्रशंसा गर्दै कामदारलाई सहज हुने गरी अन्य नीतिगत सुधारसमेतका लागि मलेसियाले गृहकार्य गर्ने बताए ।

रासस

Related News

लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
  • २०७९ माघ २१, शनिबार १०:२१ गते

आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...

गौशालामा प्रहरी र आन्दोलनकारीबीच झडप
गौशालामा प्रहरी र आन्दोलनकारीबीच झडप
  • २०७९ माघ २१, शनिबार १०:२१ गते

 काठमाडौंको गौशालामा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप भएको छ। विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीहरूले गौशालास्थित...

सूर्यविनायक–रत्नपार्कमा पुनः द्रुत बस सेवा
सूर्यविनायक–रत्नपार्कमा पुनः द्रुत बस सेवा
  • २०७९ माघ २१, शनिबार १०:२१ गते

सूर्यविनायक–रत्नपार्क रुटमा एक महिना सञ्चालन भएर बन्द गरिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चलन भएको छ ।  आजदेखि प्रत्यक दिन...

TOP