२०८० आश्विन १४
October 1, 2023, Sunday

नेपाललाई साढे ७ अर्ब रुपैयाँ सहयोग गर्ने युएसआईडी प्रशासक सामन्था पावरको घोषणा

नेपाललाई साढे ७ अर्ब रुपैयाँ सहयोग गर्ने युएसआईडी प्रशासक सामन्था पावरको घोषणा

काठमाडौं, अमेरिकाले नेपाललाई साढे ७ अर्ब रुपैयाँभन्दा बढी रकम सहयोग गर्ने घोषणा गरेको छ ।

नेपाल भ्रमणमा रहेकी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रशासक सामन्था पावरले मंगलबार युएसएआइडीले ५ करोड ८५ लाख अमेरिकी डलर सहयोग प्रदान गर्ने घोषणा गरेकी हुन् ।

यो रकम नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन खर्च हुने उनले उल्लेख गरिन् ।

उनले भनिन्, ‘युएसएआइडीका लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धिहरू मजबुत पार्न र नेपालीहरूका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्नेछन् ।’

सो रकम स्रोतको उपलब्धतामा निर्भर हुनेछ । उक्त घोषणाको रकममध्ये चार करोड दुई लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश भएको यहाँस्थित संयुक्त राज्य अमेरिकाको दूतावासले जनाएको छ ।

नेपालमा यसै वर्ष आमनिर्वाचन सम्पन्न भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायको समावेशीकरणलाई अगाडि बढाउने, युवाको सशक्तीकरण गर्ने र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग छ ।

यस कार्यमा अमेरिकाको साझेदारी रहने दूतावासले जनाएको छ ।

युएसएआइडीको लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानूनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धि मजबुत पार्न र नेपालीका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्नेछ ।

मानव बेचबिखन विरुद्ध लड्न नेपाललाई सहयोग गर्न पनि युएसएआइडीले जारी राख्ने जनाएको छ ।

समावेशी लोकतन्त्रको सुदृढीकरण

आज घोषित लगानीमा आर्थिक दृष्टिकोणबाट अझ बढी पारदर्शी र जवाफदेही तबरबाट सार्वजनिक सेवा प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारहरूलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न दुई करोड डलरसम्म समावेश गरिएको छ ।

नागरिक समाज र सञ्चार माध्यमको समर्थन

उक्त लगानीमा सामुदायिक आवश्यकता, आधारभूत स्वतन्त्रता र जवाफदेहितालाई अघि बढाउन महिला, युवा र सीमान्तकृत समुदायका नेतृत्वमा र उनीहरूकै निम्ति बनेका स्वतन्त्र नागरिक समाजका संस्थालाई सहयोग गर्न एक करोड ८५ लाख डलरसम्मको रकम समाविष्ट छ ।

सरकार र आमजनतासँग प्रभावकारीरूपमा संलग्न हुन आवश्यक सीप, विश्वसनियता र विधि विकास गर्दै गर्दा उक्त नागरिक समाजका सङ्गठनसँग युएसएआइडीले काम गर्नेछ ।

युएसएआइडीले सञ्चार माध्यममाथिको सामाजिक विश्वास बढाउने किसिमका विश्वसनीय सूचना र अझ बढी विविधतायुक्त भाष्यहरूमा सार्वजनिक पहुँच सुधार गर्ने प्रयासलाई सहयोग गर्न सञ्चार माध्यमसँग पनि साझेदारी गर्ने जनाएको छ ।

कानूनी शासनलाई मजबुत बनाउने र मानव बेचबिखन विरुद्ध लड्ने

कानूनी शासनलाई मजबुत बनाउन, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई थप टेवा पुर्‍याउन र मानव बेचबिखन विरुद्ध लड्न पनि युएसएआइडीले स्थानीय नेपाली सङ्घसंस्था र सरकारी संस्थासँग निकट रही काम गर्ने र तिनलाई सहयोग गर्ने जनाएको छ ।

यी नयाँ लगानी नेपालका लक्ष्य र आकाङ्क्षालाई टेवा पु याउन नेपालका सरकार र जनता, निजी क्षेत्र र अन्यसँग रहेको युएसएआइडीको ६० वर्षभन्दा लामो साझेदारीमा आधारित छन् ।

साझेदारीप्रति युएसएआइडीको दृष्टिकोण नेपालीले आफ्नो लोकतन्त्रलाई कसरी सुदृढ बनाउने भनी राम्ररी जान्दछन् र सम्मानजनक र पारस्परिक सहयोगबाट मात्र हामी नेपाललाई समृद्ध बन्न मद्दत गर्न सक्छौँ भन्ने मान्यतामा आधारित छ ।

नेपालले हालसालै जारी गरेको साझा न्यूनतम कार्यक्रममा समाविष्टलगायतका सरकारी प्राथमिकतासँग सहयोगलाई समायोजन गर्न सम्बन्धित नेपाली सरकारी निकायसँगको साझेदारीमा काम गर्न युएसएआइडीले तत्पर रहेको उल्लेख गरेको छ ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७९ माघ २४, मंगलवार १९:५९ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७९ माघ २४, मंगलवार १९:५९ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
  • २०७९ माघ २४, मंगलवार १९:५९ गते

नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...

TOP