२०८० आश्विन १४
October 1, 2023, Sunday

कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया जान लिइने पहिलो चरणको भाषा परीक्षा सुरु

कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया जान लिइने पहिलो चरणको भाषा परीक्षा सुरु

काठमाडौँ, रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ पहिलो चरणको भाषा परीक्षा सुरु भएको छ ।

माघ १८ गतेदेखि सुरु भएको यो परीक्षा फागुन ५ गतेसम्म सञ्चालन हुनेछ ।

सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि सो परीक्षा लिइएको हो ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार कृषि तथा पशुपालनतर्फको पहिलो चरणका लागि तीन हजार एक जनाका लागि १० हजार ३९८ जनाको आवेदन परेको छ ।

दोस्रो चरणको परीक्षा आउँदो फागुन २३ गतेदेखि २०८० वैशाख १३ गतेसम्म सञ्चालन गरिने सो शाखाले जनाएको छ ।

दोस्रो चरणमा सात हजार ७५७ जनाका लागि लिइने परीक्षाका लागि २६ हजार ८७६ जनाले आवेदन दिएका छन् ।

ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले गत वर्षदेखि नै यूबीटी (युबिक्युट्स बेस टेस्ट) ट्याबमार्फत भएको परीक्षा विगतको तुलनामा मर्यादित र व्यवस्थित भएको दाबी गरे ।

उनका अनुसार अघिल्ला वर्षहरूमा भाषा परीक्षा पेपर बेस टेस्ट (पीबीटी) रूपमा गरिँदै आएकामा एक वर्षयता यूबीटी (युबिक्युट्स बेस टेस्ट) ट्याबमार्फत गरिँदै आएको छ ।

यसअघिका परीक्षामा नक्कली विद्यार्थी धेरै हुने गरेपनि अहिलेको परीक्षा प्रणालीअनुसार परीक्षाको रोस्टरमा परेका अघिल्लो दिन बायोमेट्रिक गरेर मात्रै परीक्षा दिने व्यवस्था गरिएकाले त्यो समस्या नभएको ईपीएस शाखाका निर्देशक कटुवालले जानकारी दिए ।

दक्षिण कोरियाले ईपीएसअन्तर्गत अहिलेसम्मकै सबभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी कृषि तथा पशुपालनतर्फको पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको थियो ।

ईपीएस शाखाका अनुसार सन् २०२३ मा ईपीएसमार्फत कृषि तथा पशुपालनतर्फ १० हजार ७५८ जनाको माग आएकामा ३७ हजार २७४ जनाले आवेदन दिएका थिए ।

शाखाले कृषि तथा पशुपालनतर्फको गत पुस ४ देखि ८ गतेसम्म आवेदन दिने समय तोकेको थियो । सन् २०२२ मा ईपीएसमार्फत कृषि तथा पशुपालन र उत्पादनतर्फ १५ हजार बढी नेपाली कोरिया पुगिसकेका छन् ।

सन् २००८ देखि बर्सेनि हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा सन् २०२० र सन् २०२१ को दुई वर्ष कोरोना सङ्क्रमणका कारण स्थगन गरिएको थियो ।

कोरियाले उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, निर्माण क्षेत्रमा विभिन्न १६ देशबाट श्रमिक माग गर्दै आए पनि नेपालबाट भने कृषि र उत्पादनमूलक क्षेत्रमा मात्र श्रमिक माग गरिँदै आएको छ । सन् २०२३ का लागि उत्पादनतर्फको माग भने आइसकेको छैन ।

निर्देशक कटुवालले कोरियाले सन् २०२३ मा नेपाललगायत विभिन्न १६ देशबाट एक लाखभन्दा बढी श्रमिक भित्र्याउने योजना बनाएकामा पहिलो चरणमा कृषि तथा पशुपालनतर्फ १० हजार ७५८ माग आउनुलाई नेपालीले ईपीएसमार्फत कोरिया गएर देखाएको इमानदारीको सकारात्मक सङ्केतका रूपमा लिएको बताए ।

कोरियाले यो वर्षदेखि देशगत रूपमा कोटा निर्धारण नगर्ने नीति लिएकाले नेपालीको कामप्रतिको लगनशीलता र इमानदारीका कारण उत्पादनतर्फ नेपालीका लागि ३० हजारकै हाराहारीमा माग आउने अपेक्षा गरेको शाखाले जनाएको छ ।

कोरियाको पछिल्लो नीतिले ठूलो सङ्ख्यामा नेपाली युवाले कोरिया रोजगारीको अवसर पाउने जानकारी दिँदै शाखाका निर्देशक कटुवालले भने , “कोरियाले कोटाको सट्टा जसले छिटो श्रमिक पठाउँछ, त्यही देशबाट धेरै लिने नीति लिएको छ ।”

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७९ माघ २६, बिहीबार ०८:२४ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७९ माघ २६, बिहीबार ०८:२४ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
  • २०७९ माघ २६, बिहीबार ०८:२४ गते

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन...

TOP