२०८० चैत्र १६
March 29, 2024, Friday

कलाकार संघको अध्यक्षमा निरौला र उप्रेती भिड्दै

कलाकार संघको अध्यक्षमा निरौला र उप्रेती भिड्दै

काठमाडौँ । हिट, फ्लप, नयाँ, पुराना सबै कलाकार यति बेला चुनावी मैदानमा छन् । कलाकारहरूको साझा संस्था नेपाल चलचित्र कलाकार संघको १९औँ महाधिवेशन शनिबार हुँदैन ।

कतिपय कलाकार यो महाधिवेशनबाट संघको कार्यसमिति पदमा आउने आकांक्षा सहित उम्मेदवार बनेका छन्, भने कतिपय आफ्ना नजिकका साथी, सहकर्मीलाई संघको नेतृत्वमा ल्याउन एक्सरसाइजमा छन् ।

शनिबार आयोजना हुने महाधिवेशनमा संघको नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि कलाकार मोहन निरौला र अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी दिएका छन् ।

दुवैको अध्यक्ष उम्मेदवारको अब संघको नेतृत्व आफूले गर्न पाउनुपर्ने तर्क रहँदै आएको छ । निरौला र उप्रेती दुवै वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । दुवैको उपाध्यक्षपछि जाने ठाउँ भनेको अध्यक्ष नै भएकोले दाबी स्वाभाविक हो ।

कतिपय कलाकार चुनावी माहौलमा केही दिन अघिबाट मात्र होमिएका हुन् । अध्यक्ष उम्मेदवार निरौला र उप्रेती भने महिना दिनदेखि यसैमा लागेका छन् ।

उनीहरू अध्यक्ष जित्नका लागि आफ्नो पक्षका साथीहरूलाई सदस्यता नवीकरण गर्न लगाउने, आर्थिक अवस्था कमजोर भएको आफैले सदस्यता नवीकरण गर्दिनेदेखि चियापान गराउँदै अध्यक्षमा आफूलाई भोट माग्दै आएका छन् ।

कलाकार संघको अध्यक्ष राज्यको सेवा सुविधाले भरिएको पद पनि होइन न त संस्थाले नै अध्यक्षका लागि केही राम्रो सेवा सुविधा तोकेको छ ।

दिनरात नभनी निःशुल्क काम गर्नुपर्ने संस्थाका लागि समेत चर्को हानाथापबीच लाखौँ रुपैयाँ समेत खर्च गरिरहेका छन् ।

दुवै अध्यक्ष उम्मेदवारले साथीभाइ भेटघाटमा चिया, खाजामा गरेको खर्च हेर्दा घटीमा पनि दुवैको ८, १० लाख खर्च हुने देखिन्छ । यत्रो खर्च र मिहिनेत केका लागि ? दुवैको जवाफ एउटै छ –नाम ।

कसको प्यानलमा को छन् ?

अध्यक्ष पदका दुवै उम्मेदवार चुनावी मैदानमा एक्लै होमिएका छैनन् । दुवै उम्मेदवार आ–आफ्नो प्यानल बनेर अगाडि बढिरहेका छन् । दुवैले प्यानलमा समेट्न नसकेकालाई मनोनीत पदका लागि बचन समेत दिएका छन् ।

अध्यक्ष उम्मेदवार मोहन निरौलाको प्यानलमा उपाध्यक्षमा धनबहादुर बमजन (डीबी) र कविता गेलाल, महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी रहेका छन् ।

त्यस्तै कोषाध्यक्षमा सुनिल कटुवाल र सह–कोषाध्यक्षमा पवित्रा आचार्य रहेका छन् । सहकोषाध्यक्षमा उम्मेदवारी दिएकी आचार्य निर्विरोध निर्वाचित भइसकेकी छन् ।

सदस्यहरूमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा रहेका छन् ।

अर्की अध्यक्ष उम्मेदवार रेजिना उप्रेतीको प्यानलमा उपाध्यक्षमा शिवहरि नेपाल ‘बैरागी’, सरिता गिरी, महासचिवमा पनाह अधिकारी, सचिवमा जीवन थापा, कोषाध्यक्षमा विनोद कुमार भट्टराई सदस्यमा रञ्जना खड्का खुस्बु, खिन्न भण्डारी भोला, निर्मल स्याङताङ,  लक्ष्मण चौलागाई, इश्वर बल्लभ उप्रेती, दिल ब दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोइराला, भीमसेन बजगाई र दिनेश अवाल रहेका छन् ।

दुवै तर्फको प्यानलमा नयाँ तथा पुरानाको बाहुल्यता बराबर जस्तो छ । उम्मेदवार बाहेक बाहिर सघाउने पनि दुवैको थुप्रै छन् ।

एक दिनको अन्तरालमा आयोजित दुवै उम्मेदवारको प्यानल घोषणा कार्यक्रममा पनि सहभागीताका राम्रो रहेको थियो ।

कतिपय व्यक्ति त दुवै तर्फको घोषणा कार्यक्रममा पनि सहभागी थिए । दुवैको दौडधुप हेर्दा अध्यक्ष यो बन्छ भनेर अहिले भन्न सकिने अवस्था भने छैन । 

सबैको विश्वास र साथले जित्ने होः मोहन निरौला

कलाकार संघको अध्यक्षमा उम्मेदवारी किन ?

– लामो समयदेखि म कलाकार संघमा आबद्ध छु । संघलाई अझ व्यवस्थित, सुद्धृढीकरण गर्नु मेरो पनि कर्तव्य हो । चलचित्र उद्योगको विकास र बिस्तार गर्न र मूलत: पेशागत सुरक्षा, कलाकारको मानसम्मान र हकहितका लागि हो ।

नेपाली कला उद्योगलाई विश्व बजारमा चिनाउन, नयाँ, पुराना पुस्तालाई समन्वय गरी अगाडि बढ्न मैले अध्यक्षका लागि उम्मेदवारी दिएको हो ।

यस अगाडि संघको विभिन्न पदमा रहनु भएको छ । अहिले चाहिँ अध्यक्ष नै किन ?

– २०४५ सालदेखि म कलाकार संघमा छु । अहिलेको अवस्थासम्म आउँदा विभिन्न पदमा रहेर सेवा गरिसकेको छु । अहिलेको अवस्थामा अग्रज, समकालीन र नयाँ पुस्ताले समेत अव तपाईले अध्यक्ष भएर संस्थालाई अगाडि बढाउनुपर्छ ।

संघ मार्फत सेवामा पहिले जसरी लाग्नु भएको थियो । त्यो भन्दा बढी लाग्नुपर्छ भनेको हुनाले अध्यक्षका लागि उम्मेदवार भएको हो । 

जितको सम्भावना कति छ ?

निर्वाचन भएपछि हार वा जित हुन्छ नै । सबै सदस्यहरूको विश्वास र साथले जित्ने हो । उहाँहरूले नै जिताउने हो । अहिले सबै सदस्यहरूको साथ मलाई रहेको छ । त्यो हिसाबले हेर्दा जित्ने निश्चित छ । 

हेर्दा कलाकार संघमा राजनीतिक घुसेको जस्तो लाग्छ । तपाईंले कस्तो देख्नु भएको छ ?

– अहिलेसम्म कलाकार संघमा राजनीति छैन । विभिन्न राजनीतिक दलसँग आस्था राख्ने व्यक्तिहरू छन् । त्यो बेग्लै कुरो हो । कलाकार संघलाई अगाडि बढाउन, पेशागत हकहितका लागि आवाज उठाउने कुरोमा राजनीति घुसेको देख्न पाइन्न । हाम्रो जुन प्यानल बनेको छ । त्यसमा पनि राजनीति मिसिएको छैन ।

अध्यक्षको उम्मेदवारको रूपमा एजेन्डा धेरै राख्नु भएको छ, पुरा गर्ने चुनौती कति छ ?

– चुनौती थुप्रै छन् । मिहिनेतका साथ अगाडि बढेपछि सबै एजेन्डा पुरा गर्न सकिन्छ । सबैको विश्वासको मतका साथ अध्यक्षमा निर्वाचित भएर चुनौतीको सामना गर्न तयार छु ।

बिमा, उमेरसँगै कलाकारको उचित व्यवस्थापन, पारिश्रमिक लगायतका हरेक कुरो छन् । जो सबैसँगको सहकार्यमा मैले गर्नेछु ।

कतिपयले कलाकार संघको उपस्थिति महसुस गर्न सकिएको छैन भनेका छन् नि ?

– हैन, हैन । कलाकार संघको उपस्थिति राम्रो छ । उपस्थिति महसुस भएन त्यसले भनेको हो । जसले कार्यसमितिमा बसेर कलाकारलाई समस्या पर्दा सहयोगमा जुटेको छैन ।

यस अगाडिका कार्यसमिति पनि रात बिहान नभनी सबै ठाउँमा पुगेर सबैको सहयोगी बनेको छ । अव पनि त्यस्ता कार्य निरन्तर रहन्छ ।

हामीले संघका सदस्य नभएका कलाकारका लागि समेत लडेका छौ । कलाकारका लागि पर्दा जुटेनन् भन्ने आरोप संकिर्ण सोच मात्र हो । 

मलाई अत्यधिक मत आउँछ : रेजिना उप्रेती 

कलाकार संघको अध्यक्षमा उम्मेदवारी किन ?

– २४ वर्षदेखि म चलचित्र क्षेत्रमा छु । यो सबैलाई थाहा भएको विषय हो । आजको दिनसम्म आउँदा मैले ७० वटा भन्दा चलचित्रका अभिनय गरे । कलाकार संघमा मैले सदस्य हुँदै वरिष्ठ उपाध्यक्षसम्म काम गरिसकेकी छु ।

कलाकार संघमा रहेको मेरो निरन्तरताले म नेतृत्वमा रहेर संघलाई प्रगतिको दिशा तर्फ अगाडि बढाउन सक्छु भन्ने मेरो विश्वास हो ।

सबै सदस्यलाई पारदर्शिताको तवरबाट संघको पहुँच पुर्‍याउन लागि मेरो अध्यक्ष पदमा उम्मेदवारी हो । सम्पूर्ण कलाकारको हकहित, व्यक्तित्व विकास लगायत कलाकारको आवश्यक हरेक गतिविधिका लागि मेरो उम्मेदवारी हो । संघका सदस्यका लागि आवश्यक सबै काम गर्छु । 

यस अगाडि संघको विभिन्न पदमा रहनु भएको छ, अध्यक्ष नै बन्न किन मन लाग्यो ?

– कतिपय कुरा संघको अन्य पदमा रहेर मैले गर्न खोज्दा पनि जिम्मेवारीको अभावले पुरा गर्न नसकेको हुनसक्छ ।

कतिपय कुरो नेतृत्वले मात्र गर्न मिल्ने हुन्छ । मैले अहिलेसम्म गर्न नसकेका, नगरेका र कलाकारका लागि आवश्यक हरेक कुरो पुरा गर्न अध्यक्ष बन्न लागेको हो ।

जित्ने सम्भावना कति छ ?

– मैदानमा उत्रिएपछि हार्ने भन्ने कुरै आउँदैन । म जतिको कलाकार, संस्थामा पटकपटक उपाध्यक्षमा बसेर सबै सदस्यसँग भिजेर काम गरेको व्यक्ति, सबै जानेको, बुझेको  ।

मलाई भोट दिनुहुन्न भन्ने कुनै कोणबाट पनि लाग्दैन र सोचेकी पनि छैन । मलाई सबै साथीभाइले अत्यधिक मतका साथ जिताउनुहुन्छ भन्ने विश्वास छ ।

म अध्यक्ष बनेर आउनु नै सबैको साझा उम्मेदवार हुनु हो । यो गर्वको विषय पनि हो । म उहाँहरूको दुःख, सुखमा अगाडि बढिरहेको व्यक्ति पनि हो ।

फिल्म तथा भिडियो अभिनय गरे भने मैले राम्रो पारिश्रमिक पाउँछु । यो सबै छोडेर म उहाँहरूको सेवामा लागेको छु । यो कुरोमा उहाँहरूले बुझेर  साथ दिनुहुन्छ भन्ने विश्वास पनि हो । 

कलाकार संघमा राजनीतिक घुसेको जस्तो लाग्छ । तपाईंलाई महसुस भएको छ कि छैन ?

– म कुनै पार्टीको मानिस पनि होइन, त्यसैले कलाकार संघमा राजनीति पनि देख्दिन । मेरो प्यानलमा विभिन्न राजनीतिक दलसँग आस्था भएका मानिस होलान् । तर राजनीतिक रूपमा होमिएका छैनन् ।

हामी कलाकार संघ राजनीतिक मुक्त भएर अगाडि बढाउने छौ । 

एजेन्डा धेरै उठाउनु भएको छ, पुरा गर्न चुनौती होला ?

– चुनौतीपूर्ण एजेन्डा मैले उठाएको छैन । किन भने सबैले बुझ्ने, आफूले पुरा गर्न सक्ने एजेन्डाको रूपमा उठाएको छु ।

कलाकारले कलाकारका लागि गर्ने हो । त्यो  के के छ भन्ने कुरो सरल र सिम्पल रूपमा मैले एजेन्डामा राखेको हो । 

कलाकारले संघ भएको महसुस भएको छैन भन्छन् नि ?

– दुःख, खुसी हरेक समयमा संघ छ भन्ने हिसाबले म काम गर्छु । कसैले केही नयाँ काम गर्न खोज्दैछ । के के गर्नुपर्छ  भनेर बुझ्न समेत संघमा आउने वातावरण मिलाउँछु । 

Related News

आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
  • २०७९ चैत्र ४, शनिबार ०८:५६ गते

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ आगामी २०८१ माघ ११...

छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको फारम खुल्यो, अर्को साता अडिसन
छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको फारम खुल्यो, अर्को साता अडिसन
  • २०७९ चैत्र ४, शनिबार ०८:५६ गते

काठमाडौं, १५ चैतव्युटिसियनहरुको ब्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि ६ वर्षदेखि आयोजना हुँदै आएको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को छैटौं सिजनको फारम...

‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
  • २०७९ चैत्र ४, शनिबार ०८:५६ गते

काठमाडौं । रोमानियामा ५० प्रतिशत छायाङ्कन सकिएपछि रोकिएको फिल्म ‘वर एण्ड बधु’को बाँकी काम अघि बढ्ने भएको छ । फिल्मका निर्देशक...

TOP