२०८० चैत्र १५
March 28, 2024, Thursday

‘कस्टम यार्ड’ तयार भएको चार वर्षपछि विराटनगरमा भोलि रेल आउँदै

‘कस्टम यार्ड’ तयार भएको चार वर्षपछि विराटनगरमा भोलि रेल आउँदै

२०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डसम्म भोलि रेल आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणकै बेला विराटनगरसम्म कार्गो रेल आउन लागेको हो । 

रेलको लिक परीक्षण सफल भएको चार वर्ष पुग्दा पनि भारतको बथनाहाबाट नेपालको कटहरीसम्म कार्गो रेल सञ्चालन हुन अझै सकेको थिएन । रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका १ मा लगभग ६ बिगाहा जग्गाको मुआब्जा विवादका कारण केही स्थानको काम भने रोकिएको छ । बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)सम्मको ७ दशमलव ६ किलोमिटर रेलमार्ग भने सञ्चालनका लागि योग्य छ ।

बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कस्टम यार्डसम्मको सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणअघि यस विषयमा भन्सार र भारतीय रेल्वेका अधिकारीले विराटनगरका उद्योगी व्यवसायीसँग छलफल गरेका छन् । केही दिनअघि विराटनगर आएका भारतीय अधिकारीहरूले उद्योग संगठन मोरङमा छलफल गरेका थिए । छलफलमा नेपाली उद्योगी आफूहरूले विगत लामो समयदेखि कार्गो रेल आउने विषयमा पर्खिएको बताएका थिए । 

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुयष प्याकुरेलले रेलमा औद्योगिक कच्चा पदार्थ, फलामका बिलेटलगायत सामग्री नेपाल आउने बताए । उनले भने, ‘हामीले विगत लामो समयदेखि माग गर्दै आएको विषयको सम्बोधन भएको छ । विराटनगरस्थित रेल्वे यार्डमा पहिलो पटक कार्गो रेल आउन लागेको हो ।’ प्याकुरेलले एक औपचारिक कार्यक्रमबीच कार्गोको स्वागतमा नेपाली उद्योगी/व्यवसायी बुधनगरस्थित कस्टम यार्ड पुग्ने बताए ।

विराटनगरका उद्योगीहरू भने कार्गो रेल सञ्चालन हुने हो भने आफूहरूलाई ढुवानी बापतको भाडामा ३५ प्रतिशतसम्म सस्तो पर्न जाने दाबी गर्छन् । विराटनगर भन्सारमा दैनिक ३ सय ट्रक अर्थात् झन्डै ४ हजार ५ सय टन मालवस्तु आयात हुने गरेको छ । जसमध्ये ८० प्रतिशत मालवस्तु भारतबाट र २० प्रतिशत मालवस्तु तेस्रो मुलुकबाट आउने गरेको छ । कार्गो रेल सञ्चालन आउने हो भने तेस्रो मुलुकबाट आउने सबै र भारतबाट आउने ६० प्रतिशत मालवस्तु रेल्वेमार्फत आउने अनौपचारिक प्रक्षेपण रहेको उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चुँडामणि भट्टराई बताउँछन् । ट्रकबाट आएका मालवस्तुको प्रतिट्रक (१५ टन)को भारु ४० हजार रुपैयाँ ढुवानी चार्ज लाग्ने गरेको छ । रेल्वे मार्फत आउने हो भने त्यो ढुवानी चार्ज घटेर भारु २९ हजार मै आइपुग्ने र १५ हजार भारु बचत हुने उनीहरूको दाबी छ । 

एकीकृत भन्सार जाँच चौकीभन्दा करिब ५ किलोमिटर भारततर्फ रहेको बथनाह भन्ने स्थानसम्म हाल रेल कार्गो मार्फत नेपाली उद्योगी व्यवसायीले बल्क कार्गो ल्याउने गरेका छन् । बथनाहसम्म आएको रेल कार्गोको लोड÷अनलोड, पुनः ट्रकमा लोड गरी भन्सारसम्म ल्याउनु पर्ने र जाँचपास गरी गन्तव्य तर्फ जाने गरेका छन् । २०६८ देखि सुरु भएको बथनाहा–कटहरी रेलमार्गको निर्माण कार्य २०७३ सालमा सम्पन्न भइसक्नुपर्ने थियो ।

तर मुआब्जा निर्धारण समितिले गरेको प्रतिकट्ठा २ लाखको दरले मुआब्जा दिने निर्णयप्रति कटहरीका जग्गाधनीहरूले असहमति जनाउँदै आएका छन् । अदालतले ८ लाखका दरले मुआब्जा दिनुपर्ने फैसला गरे पनि सरकारले मुआब्जा वितरणमा ढिलाइ गरेपछि स्थानीय केही जग्गाधनीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । मुआब्जा विवाद समाधान भए भारत सरकारलाई नेपालले जमिन हस्तान्तरण गर्न बाँकी रहेको जमिन हस्तान्तरण गर्ने र कटहरिमा अन्तिम रेल स्टेसनको काम हुने उद्योगी बताउँछन् । 

Related News

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०८० जेष्ठ १८, बिहीबार १६:४१ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०८० जेष्ठ १८, बिहीबार १६:४१ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

विरामी अवस्थामा पनि जनताको बचत फिर्ता हुनुपर्छ भन्दै मन्त्री समक्ष बोले अध्यक्ष कुशलभले
विरामी अवस्थामा पनि जनताको बचत फिर्ता हुनुपर्छ भन्दै मन्त्री समक्ष बोले अध्यक्ष कुशलभले
  • २०८० जेष्ठ १८, बिहीबार १६:४१ गते

सहकारी वचतकर्ता पीडितले आफ्नो रकम फिर्ताकाे माग राख्दै पटकपटक आन्दाेलन गर्दै आइरहेका छन् । यसभन्दा अघि गत साउनमा वचत फिर्ताकाे...

TOP