सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ लौकुनमा दुई दिनअघि सुनकोसी नदीमा जीप खस्दा बेपत्ता भएका सीटीइभीटीका तीन कर्मचारीको खोजी कार्य जारी छ ।
सशस्त्र प्रहरीको दुई वटा गोताखोर टोली, नेपाली सेनाको एउटा गोताखोर टोली र जनपथ प्रहरीको विपद् व्यवस्थापन गरी चार वटा टोली आइतबारदेखि परिचालन गरी खोजी कार्यलाई तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार गोलन्जोर गाउँपालिका –७ लौकुनमा शुक्रबार दिउँसो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)को बा १ झ ७४६७ नम्बरको जीप सुनकोसी नदीमा खस्दा गाडीमा सवार चार जनामध्ये तीन जना बेपत्ता भएका थिए ।
बेपत्ता हुनेमा सीटीईभीटी प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र ३२ वर्षीय विद्युत प्राविधिक अधिकृत भानु पौडेल छन् । गाडीका चालक ३१ वर्षीय कृष्ण चौधरी पौडी खेलेर बाहिर निस्किएको र उहाँको शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ ।
बेपत्ताको खोजीमा शनिबारसम्म सशस्त्र प्रहरीको उपत्यका गोताखोर टोली परिचालन भएको थियो । आइतबारदेखि सशस्त्र प्रहरीकै कुरिनटार गोताखोर टोली, नेपाली सेनाको सुन्दरीजल गोताखोर टोली र जनपथ प्रहरीको विपद् व्यवस्थापन टोली पनि थपेर चार टोली परिचालन गरिएको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खोजी कार्यलाई तीव्र बनाएका छौँ । बेपत्ता हुनुभएकाहरु फेला पर्न सक्नुभएको छैन ।”
खोजी गर्न चार वटा टोली परिचालन गरिएकोले बेपत्ता भएकाहरू फेला पर्नसक्ने उहाँको आशा छ । उहाँका अनुसार जीप खसेको ठाउँ सुनकोसी नदीमा पानीको बहाव धेरै र गहिरो भएकोले खोजी गर्न गाह्रो भएको हो ।
जीप खसेको भित्तामा सुनकोसी नदी पनि ठोकिएकोले सुरुङ बनेको हुनसक्ने र जीप त्यही सुरुङभित्र पसेको पनि हुनसक्ने अनुमान गरिएको छ ।
सुनकोसीको पानीको बहाव समेत अर्को तर्फबाट कटाउन शनिबारबाटै तीन वटा एक्स्काभेटर मेसिन प्रयोग गरिएको छ । अहिलेसम्म २५ प्रतिशत पानी अर्को तर्फबाट कटाइएको छ । आधा पानी अर्कोतर्फ फर्काएर करेन्ट प्रवाह घटाई खोजी कार्यलाई सहज बनाउने प्रयास गरिएको छ ।
धमिलो पानी भएकाले नदीको भुईँसम्म नदेखिँदा खोजीमा समस्या भएको एसपी सिलवालको भनाइ छ । “गहराइमा पुग्दा समेत केही देखिँदैन,” उहाँले भन्नुभयो, “पानी सङ्लो भई दिएको भए यति ठुलो समस्या हुने थिएन ।”
चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ...
काठमाडौं। गृह मन्त्रालयबाट जारी ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ आज राजपत्रमा प्रकाशित भएको छ। जारी निर्देशिका अनुसार अब चारित्रिक प्रमाणपत्र...
बैठकलाई सम्बोधन गर्दै आजपाका वरिष्ठ उपाध्यक्ष एवं पूर्व मन्त्री बद्रिप्रसाद न्यौपाने मुठिभरका नेताहरुको शासन व्यवस्थामा हालीमुहाली भएकाले मुलुकको आर्थिक अवस्था...