logo
  • १७ जेष्ठ २०८३, आईतवार | Sun, 31 May 2026
  • Dark Mode

          Subscribe

    पूर्व प्रहरीको श्रृंखलाबद्ध अपराध गोली हानेर लिइयो नियन्त्रणमा

    पूर्व प्रहरीको श्रृंखलाबद्ध अपराध गोली हानेर लिइयो नियन्त्रणमा

    काठमाडौं ,१७ जेठ: जडीबुटी क्षेत्रबाट गोली हानेर गएराति नियन्त्रणमा लिइएका गणेश कार्की विभिन्न आपराधिक घटनामा संलग्न पूर्व प्रहरी र कारागारबाट फरार भएका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

    काठमाडौंका एसएसपी रमेश थापाका अनुसार काठमाडौं बूढानीलकण्ठ नगरपालिका–३ चपली भद्रकालीका ४० वर्षीय गणेश कार्की २०६१ सालमा प्रहरी जवान पदमा भर्ना भएका थिए । उनले २०६४ सालमा सेवा छाडेका थिए ।

    प्रहरी अभिलेखअनुसार कार्कीविरुद्ध विगतदेखि नै विभिन्न फौजदारी मुद्दा दर्ता भएका छन् ।

    उनीविरुद्ध २०६४ साल मंसिर ९ गते अभद्र व्यवहारको कसुरमा प्रहरी वृत्त बौद्धमा र सोही वर्ष पुस ८ गते हातहतियार तथा खरखजाना मुद्दा बालाजु प्रहरी वृत्तमा दर्ता भएको थियो ।

    त्यसपछि २०६८ साल वैशाख २ गते कर्तव्य ज्यान मुद्दामा संलग्न भई दोषी ठहर भएपछि २०६८ असार २० गतेदेखि २०७८ असोज ३ गतेसम्म कैद सजाय भुक्तान गरेका थिए ।

    सजाय भुक्तानपछि पनि उनी चोरी तथा डाँका चोरीका मुद्दामा पुनस् पक्राउ परेका थिए । प्रहरीका अनुसार २०७८ साल फागुन ३ गते ललितपुर प्रहरीमा चोरी मुद्दा र २०७८ साल फागुन २६ गते प्रहरी वृत्त गौशालामा डाँकाचोरी मुद्दा दर्ता भएको थियो ।

    २०७९ सालमा डाँका चोरीमा ६ वर्ष सजायँ भई उनलाई केन्द्रीय कारागारमा राखिएको थियो । तर २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका बेला उनी कारागारबाट फरार भएका थिए ।

    फरार भएपछि उनले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा चोरी, लुटपाट तथा प्रहरीको परिचय दुरुपयोग गरी आपराधिक गतिविधि सञ्चालन गरेको आरोप प्रहरीले लगाएको छ ।

    प्रहरीका अनुसार कार्कीले कपन क्षेत्रमा महिला साथीलाई भेट्न जाँदा पक्राउ गर्न पुगेका सादा पोशाकका प्रहरीमाथि धुलो र खुर्सानी छर्केर आक्रमण गरी फरार भएका थिए ।

    यस्तै, गौशालामा २०८२ साल असोज ७ गते एक बिजुली पसलमा चोरी तथा लुटपाट गरेको, माघ ११ गते पिङ्लास्थान क्षेत्रमा विदेश जान लागेका एक व्यक्तिबाट नगद ५ हजार रुपैयाँ र मोबाइल फोन लुटेको, चैत महिनामा शान्तिनगरमा गुल्लु खान भन्ने व्यक्तिको मोबाइल फोन लुटपाट गरेको आरोप उनीमाथि छ ।

    २०८२ साल फागुन महिनामा पनि तिलगंगामा आफूलाई प्रहरी भएको परिचय दिँदै लागुऔषध र नगद १ हजार ५०० रुपैयाँ लुटेको आरोप उनीमाथि छ ।

    उनले पशुपति क्षेत्र, जोरपाटी तथा एयरपोर्ट आसपासका क्षेत्रमा समेत आफूलाई प्रहरीको परिचय दिँदै लागुऔषध प्रयोगकर्ता तथा विदेश जाने यात्रुलाई लक्षित गरी लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    त्यसैगरी, सुन्दरीजल क्षेत्रबाट एक स्कुटर चोरेर कलंकी क्षेत्रमा छाडेको घटनामा समेत उनको संलग्नता रहेको प्रहरीको दाबी छ ।

    कार्कीको खोजी गर्ने क्रममा प्रहरीले गएराति काठमाडौंको जडीबुटीस्थित रोयल पार्टी ल्यालेस नजिकबाट गोली हानेर नियन्त्रणमा लिएको थियो । उनको वायाँ खुट्टामा गोली लागेको छ । राति नै उनलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको थियो ।



    sancharchautari sancharchautari    
  • १७ जेष्ठ २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP