काठमाडौँ, २८ मङ्सिरः भृकुटीमण्डमा जारी नेकपाको एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनको प्रस्ताव पेस गर्न लागेको सूचना पाएपछि विरोध गरेका छन्।
यद्यपि अहिलेसम्म ओलीले उक्त प्रस्ताव राखिसकेका छैनन्। तर त्यो प्रस्ताव ल्याउन लागिएको सूचना पाएको भन्दै कोही पक्ष त कोही विपक्षमा बोल्न थालेका हुन्।
शुक्रबार सचिवालय बैठकमा पनि ओलीले विधान संशोधन गरेर २ उपाध्यक्ष र २ सचिव थप्ने प्रस्ताव राखेका थिए। तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका नेताले विरोध गरेपछि उनी पछि हट्न बाध्य भएका थिए।
एमाले केन्द्रीय कमिटीमा ओलीको बहुमत छ। सम्भवत: सचिवालयमा असफल भएको विधान संशोधन प्रस्ताव उनी बहुमतको बलमा केन्द्रीय कमिटीबाट पास गराउने प्रयासमा छन्।
एमालेको दसौँ महाधिवेशनमा एक अध्यक्ष, वरिष्ठसहित ७ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ७ सचिव गरेर १९ जना पदाधिकारी र ३०१ केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
तर गत भदौ २०–२२ मा ललितपुरमा सम्पन्न दोस्रो विधान महाधिवेशनले वरिष्ठसहित ४ उपाध्यक्ष हटाएर तीनमा झारेको छ। यस्तै एक महासचिव, तीन उपमहासचिव र सात जना सचिव राख्ने निर्णयलाई विधान महाधिवेशनले अनुमोदन गरेको थियो।
तर तेस्रो कार्यकाल अध्यक्ष बन्न खोजेका ओलीलाई आफ्नै पक्षका धेरै नेताले पदाधिकारी दाबी गरेपछि व्यवस्थापन गर्न कठिन भइरहेको छ।
झन् वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा उठ्ने घोषणा गरेपछि ओलीले सबैलाई समेट्न विधान महाधिवेशनबाट घटाइएको पदाधिकारी, केन्द्रीय सदस्य संख्या बढाउन चाहेका छन्। जसलाई पोखरेल पक्ष रोक्न चाहन्छ।
प्रतिक्रिया