logo
  • २ बैशाख २०८३, बुधबार | Wed, 15 Apr 2026
  • Dark Mode

          Subscribe

    करिब दुई वर्षदेखि भ्यानमा बन्दी बनाइएका नौ वर्षीय बालकको उद्धार

    करिब दुई वर्षदेखि भ्यानमा बन्दी बनाइएका नौ वर्षीय बालकको उद्धार

    काठमाडौँ, २९ चैतः  पूर्वी फ्रान्सको एउटा गाउँमा करिब दुई वर्षदेखि अमानवीय अवस्थामा बन्दी बनाइएका नौ वर्षीय बालकको उद्धार भएपछि स्थानीय समुदाय स्तब्ध बनेको छ । सन् २०२४ देखि आफ्नै बुबाले युटिलिटी भ्यानभित्र थुनेर राखेको अवस्थामा भेटिएका ती बालकलाई गम्भीर कुपोषण र शारीरिक कमजोरीका कारण तत्काल अस्पताल भर्ना गरिएको छ ।
    स्थानीय अभियोजक निकोलस हेट्जका अनुसार स्विट्जरल्यान्ड र जर्मनीको सीमाना नजिक रहेको ह्यागेनबाख गाउँमा सोमबार छिमेकीले ‘बच्चाको आवाज’ सुनेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थल पुगेका सुरक्षाकर्मीहरूले बलपूर्वक भ्यान खोल्दा अत्यन्तै दयनीय अवस्थामा बालकलाई फेला पारेका थिए ।
    अभियोजकका अनुसार बालक भ्रूणजस्तो अवस्थामा खुम्चिएको, नग्न, फोहोर र मलमूत्र नजिकै कम्बलले ढाकिएको अवस्थामा थिए । लामो समय एउटै स्थितिमा बसेका कारण उनी हिँड्नसमेत असमर्थ बनेका छन् भने स्पष्ट रूपमा कुपोषित देखिएका छन् । बालकले सन् २०२४ यता आफूले नुहाउनसमेत नपाएको जानकारी दिएका छन् ।
    अनुसन्धानका क्रममा बालकका बुबाले नोभेम्बर २०२४ मा उनलाई भ्यानमा राखेको स्वीकार गरेका छन् । उनका अनुसार आफ्नी साथीले तत्कालीन सात वर्षीय बालकलाई मानसिक अस्पताल पठाउन चाहेकाले आफूले यस्तो कदम चालेका थिए । तर अभियोजकले बालकको कुनै मानसिक समस्या रहेको प्रमाणित हुने मेडिकल अभिलेख नभएको र उनी विद्यालयमा राम्रो प्रदर्शन गर्ने विद्यार्थी रहेको स्पष्ट पारेका छन् ।
    बालकले अनुसन्धानकर्तासँगको बयानमा आफ्नो बुबाको साथीसँग ‘ठूलो कठिनाइ’ भएको उल्लेख गर्दै आफूलाई थुन्नु बाहेक बुबासँग अन्य विकल्प नभएको बताएको अभियोजकको कार्यालयले जनाएको छ ।
    प्रहरीले बालकका बुबालाई प्रारम्भिक रूपमा अपहरणसहित विभिन्न अभियोगमा हिरासतमा राखेको छ । बुबाकी साथीले भने बालक भ्यानमा रहेको कुरा आफूलाई थाहा नभएको दाबी गरेकी छन् । उनलाई जोखिममा परेका नाबालिगलाई सहयोग नगरेको आरोपमा प्रारम्भिक अभियोग लगाइएको छ र न्यायिक निगरानीमा रिहा गरिएको छ ।
    यस घटनासँग सम्बन्धित रूपमा बालककी १२ वर्षीया दिदी र बुबाकी साथीकी १० वर्षीया छोरीलाई सामाजिक सेवाको संरक्षणमा राखिएको छ । अभियोजकको कार्यालयले बालक लामो समयसम्म बन्दी अवस्थामा रहँदा अन्य कसैलाई जानकारी थियो वा थिएन भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
    अनुसन्धानका क्रममा बालकका साथीभाइ र आफन्तहरूले उनी मानसिक स्वास्थ्य संस्थामा रहेको ठानेको बताएका छन् । विद्यालयका शिक्षकहरूलाई समेत बालक अन्यत्र विद्यालयमा स्थानान्तरण भएको जानकारी दिइएको थियो ।
    घटनापछि ह्यागेनबाखका स्थानीय बासिन्दाहरूले गहिरो दुःख व्यक्त गरेका छन् । उनीहरूले बालकको अवस्थाबारे पहिले थाहा नभएको बताए पनि घटनाका विवरणबारे खुलस्त टिप्पणी गर्न चाहेका छैनन् ।
    अधिकारीहरूले पीडित बालक र उनका परिवारका सदस्यहरूको पहिचान गोप्य राखेका छन् । अभियोजकले थप अनुसन्धान जारी रहेको जनाउँदै यसबारे विस्तृत टिप्पणी गर्न अस्वीकार गरेका छन् ।



    sancharchautari sancharchautari    
  • २९ चैत्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP