सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा कायम भएको छ ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा २ दिन बिदा दिँदा बिरामी मर्कामा पर्ने भन्दै अस्पतालहरुलाई आइतबार पनि ओपीडी खुला गर्न आग्रह गरेकाे थियाे । मन्त्रालयको आग्रहपछि चिकित्सक संघले आइतबार ओपीडी खाेल्न नसक्ने बताएपछि सरकारले सरकारी अस्पतालहरुमा फेरि आइतबार बिदा कायम गरेकाे हाे ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनसँगै स्वास्थ्य सेवामा कुनै अवरोध नहुने उल्लेख गरेको छ।
मन्त्रालयले अस्पतालहरूमा बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न २४ सै घण्टा आकस्मिक तथा अन्तरंग सेवा यथावत सञ्चालन रहने जनाएको छ।
विज्ञप्तिमा भनिएकाे छ,’नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार मिति २०८२ चैत्र २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागु भएको सन्दर्भमा स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, सरकारको ‘हप्तामा दुई दिन सार्वजनिक बिदा को नीति अनुरूप आइतबारका पूर्व निर्धारित शल्यक्रिया (OT) लगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरी अन्तरंग र आकस्मिक सेवाहरू सधैझै २४ सै घण्टा सुचारु रहने जानकारी गराईन्छ ।’
मन्त्रालयका अनुसार आइतबारका लागि पूर्वनिर्धारित शल्यक्रिया (ओटी) लगायतका सेवा बिरामीको सहजतालाई ध्यानमा राखी पुनः तालिका गरिनेछ।
सेवा उपलब्ध नभएका अवस्थामा बिरामीलाई नजिकको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्ने व्यवस्था मिलाइने र एम्बुलेन्स सेवा सधैं तयारी अवस्थामा राखिने पनि मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बिदाका दिनमा समेत स्वास्थ्य सेवा प्रभावित नहोस् भनेर अस्पतालहरूलाई आवश्यक सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। साथै, उपलब्ध सेवाको जानकारी वेबसाइट तथा सूचना पाटीमार्फत सर्वसाधारणलाई उपलब्ध गराउन आग्रह गरिएको छ।

प्रतिक्रिया