logo
  • १० जेष्ठ २०८३, आईतवार | Sun, 24 May 2026
  • Dark Mode

          Subscribe

    दादुरा महामारी फैलिँदा ५०० भन्दा बढी बालबालिकाको मृत्यु

    दादुरा महामारी फैलिँदा ५०० भन्दा बढी बालबालिकाको मृत्यु

    बङ्गलादेशमा फैलिएको दादुरा महामारीका कारण ५०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ । यो दशकौँयताकै सबैभन्दा घातक प्रकोप बनेको छ । शनिवार पनि मृत्यु सङ्ख्या बढिरह्यो । पछिल्लो २४ घण्टामा मात्रै १३ बालबालिकाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । मार्च १५ देखि सुरु गरिएको तथ्यांकअनुसार कुल मृतक सङ्ख्या ५१२ पुगेको छ ।

    अहिले राजधानी ढाकाका अस्पतालहरू बिरामीले भरिभराउ भएका छन् । त्यहाँ विशेष वार्ड स्थापना गरिए पनि सघन उपचार कक्ष (आईसीयू) का पर्याप्त शय्या उपलब्ध छैनन् । दादुरा अत्यन्त सङ्क्रामक भाइरल रोग हो, जुन खोकी र हाछ्युँमार्फत फैलिन्छ । एकपटक सङ्क्रमण भएपछि यसको कुनै विशेष उपचार छैन ।

    यो रोग मुख्यतः बालबालिकामा देखिन्छ र यसले विशेषगरी कुपोषित वा खोप नलगाइएका बालबालिकामा निमोनिया, मस्तिष्क सुन्निने समस्या तथा मृत्युजस्ता गम्भीर जटिलता निम्त्याउन सक्छ ।

    दादुरा विश्वभर खोपद्वारा रोकथाम गर्न सकिने बालमृत्युका प्रमुख कारणमध्ये एक मानिन्छ ।

    १७ करोड ५० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली राष्ट्र बङ्गलादेशले महामारी नियन्त्रणका लागि व्यापक खोप अभियान सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) की बङ्गलादेश प्रमुख राना फ्लावर्सले यस साता उक्त अभियानमार्फत १ करोड ८० लाख बालबालिकासम्म पुगिएको बताइन् ।

    तर स्वास्थ्य विभागले खोप अभियानको पूर्ण प्रभाव देखिन अझै केही महिना लाग्ने जनाएको छ ।

    युनिसेफले बुधबार जारी गरेको वक्तव्यमा सन् २०२४ को विद्यार्थी नेतृत्वको आन्दोलन र त्यसपछिको अव्यवस्थाका कारण खोप कार्यक्रम प्रभावित भएको उल्लेख गरेको छ । उक्त आन्दोलनले सरकारलाई सत्ताच्युत गरेको थियो र त्यसपछि ठुलो सङ्ख्यामा बालबालिका खोपबाट वञ्चित भएका थिए ।

    स्वास्थ्य विभागले केही अत्यधिक प्रभावित क्षेत्रमा सङ्क्रमित सङ्ख्या घटेको भन्दै महामारी नियन्त्रणमा आएको दाबी गरे पनि मृत्यु सङ्ख्या भने अझै बढिरहेको छ ।

    हालको महामारीमा देखिएका अधिकांश सङ्क्रमित छ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिका रहेका छन् ।

    चिकित्सकहरूका अनुसार अस्पताल पुग्ने धेरैजसो बालबालिका गम्भीर अवस्थामा थिए ।

    ढाकास्थित शहीद सुहरावर्दी मेडिकल कलेज तथा अस्पतालका बालरोग विशेषज्ञ ऐनुल इस्लाम खानले एएफपीसँग भने, ‘दादुरा अत्यन्त सङ्क्रामक भए पनि कुनै जटिलता नभएको स्वस्थ बच्चा सामान्य औषधिले निको हुन सक्छ। तर यहाँ आएका अधिकांश बालबालिकामा श्वासप्रश्वासमा समस्या, आँखा, घाँटी र फोक्सोमा सङ्क्रमण देखिएको थियो ।’

    युनिसेफले भविष्यमा खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन, स्वास्थ्य संस्थाहरूमा लगानी बढाउन तथा निगरानी र तथ्याङ्क प्रणाली सुदृढ गर्न आवश्यक रहेकोमा जोड दिएको छ ।

    बिहीबार प्रकाशित ग्लोबल एन्टिबायोटिक रेसिस्टेन्स पार्टनरसिपको नीतिगत प्रतिवेदनले खोपमा देखिएको कमीले बङ्गलादेशमा एन्टिमाइक्रोबियल प्रतिरोध (औषधिप्रतिको प्रतिरोध क्षमता) झन् बढ्न सक्ने चेतावनी दिएको छ ।



    sancharchautari sancharchautari    
  • १० जेष्ठ २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP