काठमाडौं,२८ जेठ :प्रहरीले राजधानीको गौशाला क्षेत्रस्थित बत्तीसपुतली र शम्भुमार्ग क्षेत्रबाट यौनजन्य गतिविधिमा संलग्न आरोपमा १६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । जेठ २६ गते पक्राउ पर्नेमा ११ जना महिला छन् । थप ५ जना भने बिचौलिया र ट्याक्सी चालक भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
आरोपीहरू विरुद्ध प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।
छ । यौन धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ परेका मकवानपुर घर भएका ३३ वर्षीय विकाश भुलन होटल सञ्चालक हुन् । उनले बत्तीसपुतलीमा होटल एडी सञ्चालन गरेका छन् । उनको होटलबाट प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको थियो ।
सर्लाहीको लालबन्दी नगरपालिका–१४ घर भएका ३४ वर्षीय सुनिल तामाङ ट्याक्सी चालक हुन् । उनले चलाउँदै आएको ट्याक्सी प्रहरीले बरामद गरेको छ । बिचौलियाले ग्राहक खोजेपछि उनले ट्याक्सीमा राखेर महिला र बिचौलियालाई होटेलमा लैजाने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित शम्भुमार्ग बस्दै आएका राजकुमार गौतम बिचौलिया भएको प्रहरीले जनाएको छ । यौन धन्दा चलाउन उनले कार प्रयोग गर्ने गरेका थिए । उनको कार प्रहरीले बरामद गरेको छ ।
मकवानपुर घर भएका विवेक गौतम र पेमा लामा पनि बिचौलिया भएको प्रहरीको भनाइ छ । उनीहरूले सामाजिक सञ्जालमार्फत ग्राहकको खोजी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार गौशाला क्षेत्रमा उनीहरूले ग्राहकलाई मोबाइलमा महिलाहरूको फोटो देखाउँथे । आरोपीहरूले मोबाइलमा फोटो देखाएर ग्राहकलाई आकर्षित गर्ने गरेको भट्टराईले बताए ।
ग्राहक खोजेपछि उनीहरूले कार र ट्याक्सीमा महिलाहरूलाई होटेलमा बोलाउने र ग्राहकलाई पनि होटेलमा लैजाने गरेको अनुसन्धानबाट खुलेको छ । बिचौलियाले नै ग्राहकसँग मोलमोलाइ र सेटिङ गर्ने र महिलाहरू बिचौलियाको सम्पर्कमा हुने गरेको खुलेको छ । बत्तीसपुतली, गौशाला र शम्भुमार्गमा डेरा कोठामा बस्ने महिलाहरू ग्राहक फेला परेको खबर आएपछि यौन सम्पर्कको लागि जाने गरेको खुलेको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा बिचौलियाहरू सहित अञ्जलि धिमाल, लक्ष्मी मगर, सम्झना थापा, एलिना तामाङ, कमला माया लामा, फुर्वा माया तामाङ, शिवानी सुनार, रोशनी लामा, सपना बम, उमा देवी गुरुङ र प्रिया तामाङ समेत रहेको भट्टराईले बताए ।
प्रतिक्रिया