logo
  • २३ असार २०८३, मंगलवार | Tue, 07 Jul 2026
  • Dark Mode

          Subscribe

    तिब्बतबाट फर्किएका टोखा श्री भगवती क्लबका खेलाडीहरूको भव्य स्वागत:

    तिब्बतबाट फर्किएका टोखा श्री भगवती क्लबका खेलाडीहरूको भव्य स्वागत:

    काठमाडौं, असार २३। चीनको तिब्बत (शिजाङ) को शाननमा आयोजित तेस्रो ‘पोमेग्रानेट कप–२०२६’ अन्तर्राष्ट्रिय ग्रासल्याण्ड फुटबल आमन्त्रण प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उपविजेता बनेर स्वदेश फर्किएको टोखा श्री भगवती क्लबका खेलाडी तथा पदाधिकारीहरूको आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि टोखासम्म भव्य स्वागत गरिएको छ।

    आज दिउँसो करिब १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका खेलाडीहरूलाई धीमे बाजा, फूलमाला तथा उत्साहपूर्ण नारासहित स्वागत गरिएको थियो। स्वागत कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नेपाली संस्कृति झल्किने धीमे बाजा प्रस्तुत गर्दै खेलाडीहरूको सम्मान गरेका थिए।

    विमानस्थलमा क्लबका सयौँ सदस्य, शुभेच्छुक तथा स्थानीय खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    स्वागत कार्यक्रममा क्लबकी पूर्वअध्यक्ष इन्द्रराज जोशी, अखिल नेपाल फुटबल संघ (एन्फा) का अधिकारी मनीष जोशी, तत्कालीन २०५४ सालका टोखा गाविस अध्यक्ष बाबुलाल डंगोल, क्लबका पूर्वअध्यक्ष प्रकाश डंगोल, मंगल कर्माचार्य, क्लबका कोषाध्यक्ष बालकृष्ण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

    त्यसैगरी, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य जनप्रतिनिधिहरू पनि स्वागत कार्यक्रममा सहभागी भएका थिए। टोखा नगरपालिकाका वडा नं. ३ का अध्यक्ष रमेश डंगोलले क्लबका खेलाडीहरूलाई बधाई दिँदै विदेशी भूमिमा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रको गौरव बढाएकोमा प्रशंसा व्यक्त गरे। उनले क्लबको आगामी यात्राका लागि शुभकामना दिँदै नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र निरन्तर हौसला रहने प्रतिबद्धता समेत व्यक्त गरे।

    टोखा श्री भगवती क्लबले प्रतियोगितामा उपाधि जित्न नसके पनि फाइनलसम्मको गौरवपूर्ण यात्रा तय गर्दै नेपालको फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको छ। टोलीको उत्कृष्ट प्रदर्शनप्रति स्थानीयवासी, खेलप्रेमी तथा शुभेच्छुकहरूले गर्व व्यक्त गर्दै खेलाडीहरूको मनोबल उच्च राख्न भव्य स्वागत गरेका हुन्।

    स्वागत समारोहले खेलकुदप्रति टोखावासीको आत्मीयता, एकता र खेलाडीप्रतिको सम्मानलाई थप उजागर गरेको छ। विदेशी भूमिमा नेपालको झण्डा फहराउँदै सम्मानजनक प्रदर्शन गर्ने टोखा श्री भगवती क्लबका खेलाडीहरूको यो उपलब्धिलाई सम्पूर्ण टोखावासीले गर्वका साथ उत्सवका रूपमा मनाएका छन्।

     

     



    sancharchautari sancharchautari    
  • २३ असार २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP