logo
  • ९ भाद्र २०८३, मंगलवार | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    काठमाडौंमा पुगेको गौरीशंकर–३ को वडा सेवा, मुलपानीमा चार दिन घुम्ती शिविर

    काठमाडौंमा पुगेको गौरीशंकर–३ को वडा सेवा, मुलपानीमा चार दिन घुम्ती शिविर

    दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–३ ले गाउँबाहिर रहेका आफ्ना नागरिकलाई लक्षित गर्दै काठमाडौंमै पुगेर वडा सेवा प्रदान गरिरहेको छ।

    वडा कार्यालयसम्म पुगेर सेवा लिन असहज हुने नागरिकको समस्यालाई मध्यनजर गर्दै वडा अध्यक्ष युगबहादुर बस्नेतको पहलमा काठमाडौंको मुलपानी पिपलबोटमा घुम्ती सेवा सञ्चालन गरिएको हो।

    भदौ ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने शिविरमा गौरीशंकर–३ स्थायी ठेगाना भई काठमाडौंमा बसोबास गरिरहेका नागरिकलाई विभिन्न वडा सेवाका साथै आवश्यक प्रशासनिक सहजीकरण उपलब्ध गराइँदैछ।

    गाउँमा रहेका सेवाग्राहीलाई मात्र केन्द्रमा नराखी राजधानीमा रहेका नागरिकसम्म पनि स्थानीय सरकारको सेवा पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको वडा अध्यक्ष युगबहादुर बस्नेतले बताए।

    उनका अनुसार रोजगारी, अध्ययन तथा अन्य कारणले काठमाडौंमा बस्दै आएका धेरै नागरिकलाई सामान्य वडा सेवा लिनसमेत गाउँ फर्किनुपर्ने अवस्था छ। त्यही समस्यालाई केही हदसम्म सहज बनाउन वडा कार्यालयको सेवा नागरिक रहेकै स्थानमा पुर्‍याइएको हो।

    शिविरमा विशेषगरी ज्येष्ठ नागरिक, एकल महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीलाई प्राथमिकतामा राखिएको छ।
    अध्यक्ष बस्नेतले स्थानीय सरकारको जिम्मेवारी नागरिकलाई कार्यालयमा बोलाएर मात्र सेवा दिनु नभई आवश्यक पर्दा नागरिकसम्मै पुग्नु पनि रहेको बताए।

    “नागरिकलाई सेवा लिनकै लागि गाउँसम्म आउनुपर्ने बाध्यता नहोस् भन्ने हाम्रो प्रयास हो। उहाँहरू जहाँ हुनुहुन्छ, त्यहीँ पुगेर सकेसम्म सहज रूपमा सेवा दिनुपर्छ भन्ने उद्देश्यले काठमाडौंमा यो घुम्ती सेवा ल्याएका हौँ,” अध्यक्ष बस्नेतले बताए।

    वडाले काठमाडौंमा रहेका गौरीशंकर–३ का नागरिकलाई मुलपानी पिपलबोटमा भदौ ११ गतेसम्म सञ्चालन हुने घुम्ती सेवामा सहभागी भई आवश्यक सेवा लिन आग्रह गरेको छ।

    गाउँबाट टाढा रहेका नागरिकलाई समेत स्थानीय सरकारको पहुँचमा जोड्ने यो पहलले “स्थानीय सरकार नागरिककै लागि हो” भन्ने भावनालाई व्यवहारमा उतार्ने प्रयास गरेको देखिन्छ।

    रबिन्द्र लामिछाने/दोलखा



    sancharchautari sancharchautari    
  • ९ भाद्र २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP