logo
  • २० कार्तिक २०८३, बिहीबार | Thu, 05 Nov 2026
  • Dark Mode

          Subscribe

    टोखाको संस्कृति संरक्षणका लागि सपनतीर्थ क्षेत्र विकास समितिद्वारा विभिन्न बाजा खल तथा सञ्चारकर्मी सम्मानित

    टोखाको संस्कृति संरक्षणका लागि सपनतीर्थ क्षेत्र विकास समितिद्वारा विभिन्न बाजा खल तथा सञ्चारकर्मी सम्मानित

    टोखा। टोखाको मौलिक संस्कृति, परम्परा, बाजागाजा तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने विभिन्न बाजा खल तथा सञ्चारकर्मीहरूलाई सपनतीर्थ क्षेत्र विकास समितिले नगदसहित सम्मान गरेको छ।

    कार्यक्रममा सपनतीर्थ धिमे खलःलाई रु. १ लाख ५० हजार, जोर भीमसेन दाफा खलःलाई रु. ५ लाख तथा टोखाका सञ्चारकर्मीहरूलाई समेत नगदसहित सम्मान गरिएको थियो। स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा क्रियाशील समूह तथा सञ्चारकर्मीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।

    कार्यक्रममा वक्ताहरूमा पंचनारायण र रमेस नापितले टोखाको सांस्कृतिक वैभवलाई जीवन्त राख्न परम्परागत गुठी, बाजा खलः तथा नयाँ पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।

    यस्तै टोखा संस्कृति संरक्षणका अध्यक्ष गणेशमान श्रेष्ठले तीन चार दशकअघिको तुलनामा अहिले सांस्कृतिक गतिविधिमा संलग्न समूहहरूको अवस्था र चुनौतीबारे चर्चा गरे। उनका अनुसार, विगतमा आर्थिक अभावका कारण बाजागाजा सञ्चालन गर्नसमेत कठिन हुने गरेको थियो। आफ्नै खर्चमा बाजा चलाउनुपर्ने अवस्था रहेको स्मरण गर्दै उनले अग्रज पुस्ताले अनेक दुःख र संघर्ष गरेर गुठी तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिएको बताए।

    “गुरु ज्ञानी भए शिष्य पनि ज्ञानी हुन्छन्, गुरु अराजक भए शिष्य पनि खराब हुन सक्छन्,” उनले भने। संस्कृतिको संरक्षणमा नेतृत्व र मार्गदर्शनको महत्त्व औँल्याउँदै उनले अहिले विभिन्न समूहभित्र कमी कमजोरी देखिएको र कतिपय समूह आफैँ क्षतविक्षत हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे। नयाँ पुस्ताले परम्परागत संस्कृति र गुठीप्रति पर्याप्त चासो नदेखाएको उनको भनाइ थियो।

    श्री सपनतीर्थ क्षेत्र विकास समितिले भक्तजनहरूबाट प्राप्त दान तथा चन्दाको रकम पारदर्शी रूपमा व्यवस्थापन गर्दै बचत भएको रकमबाट सपनतीर्थ भगवान्सँग सम्बन्धित विभिन्न गुठी खलहरूको अक्षयकोष स्थापना गर्दै आएको छ।

    समितिका अध्यक्ष तथा पदाधिकारीहरूले व्यक्तिगत लोभ नराखी खुला र उदार मनले काम गर्ने हो भने भक्तजनहरूले प्रदान गरेको दान चन्दाबाट पनि रकम बचत गर्न सकिने रहेछ भन्ने उदाहरण प्रस्तुत गर्दै आएको समितिका अध्यक्ष देवराज डंगोलले बताए।

    सपनतीर्थ क्षेत्र समितिका अनुसार हालसम्म प्रत्येक तीन वर्षमा आवश्यकतामा रहेका विभिन्न गुठी खलहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले अक्षयकोष स्थापना गर्दै आइएको छ। आगामी दिनमा पनि दान चन्दाबाट प्राप्त हुने रकम बचत गरी आवश्यकताअनुसार विभिन्न गुठी खलहरूको पहिचान तथा अध्ययन गरेर अक्षयकोष स्थापना गर्दै जाने निर्णय गरिएको जानकारी गराइएको छ।

    त्यसैगरी, टोखा देया नाय हेमराज श्रेष्ठले सपनतीर्थ धिमे खलःलाई टोखाको पुरानो सांस्कृतिक समूहका रूपमा उल्लेख गर्दै विगतमा चार पाँच जनाले मात्रै यसको सञ्चालन गर्दै आएको स्मरण गरे। सीमित स्रोतसाधनका बाबजुद समूहले परम्परालाई निरन्तरता दिँदै आएको उनले बताए।

    विगतमा टोखाको बिस्का: जात्राका क्रममा चण्डेश्वरी र सपनतीर्थका खट सँगसँगै हिँड्ने गरेको स्मरण गर्दै उनले अहिले त्यो परम्परा कमजोर बनेको बताए। वैशाख जात्रामा पहिले देखिने सामूहिक सहभागिता र एकता अहिले पहिलेको जस्तो नरहेको उनको भनाइ थियो।

    “पहिले गुठीको निकै जग्गा थियो। सबैले मिलीजुली बेचेर खाए। अहिले गुठी त छ, तर पैसा छैन,” श्रेष्ठले भने। गुठीको सम्पत्ति संरक्षण हुन नसक्नु र आर्थिक आधार कमजोर बन्नु परम्परागत सांस्कृतिक गतिविधिका लागि ठूलो चुनौती भएको उनले औँल्याए।

    टोखा नगरपालिका वडा नं. २ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले आफ्नो कार्यकालमा फल्चा, पोखरी तथा विद्यालय निर्माणका काम गरिएको जानकारी दिए। स्थानीय सम्पदा र सामुदायिक पूर्वाधारको विकाससँगै सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्ने प्रयास गरिएको उनले बताए। विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई धिमे बाजाको प्रशिक्षण दिइएको उल्लेख गर्दै उनले बालबालिकालाई सानै उमेरदेखि मौलिक बाजा र संस्कृतिसँग परिचित गराउनु आवश्यक रहेको धारणा राखे।

    सपनतीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगोलले समितिले विभिन्न स्रोतबाट संकलन गरेको रकम पारदर्शी रूपमा सांस्कृतिक तथा सामाजिक हितमा खर्च गर्दै आएको बताए। सपनतीर्थ क्षेत्रमा पिकनिकका लागि आउनेहरूबाट रकम संकलन गरी कोषमा जम्मा गरिएको जानकारी दिँदै उनले समितिको आर्थिक कारोबारबारे उठ्ने प्रश्नको जवाफमा आयव्ययको हिसाब सार्वजनिक गरिएको बताए।

    “हामीले पैसा खायौँ भन्ने आरोप पनि लाग्छ। त्यसैले अहिले एक एक हिसाब तपाईंहरूलाई देखाएका छौँ,” उनले भने। धर्म र सामाजिक सेवाका माध्यमबाट संकलित रकम मानव हितका लागि खर्च गर्नुपर्ने उल्लेख गर्दै उनले त्यसलाई व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितमा उपयोग गर्नु आफ्नो दायित्व भएको बताए।

    टोखाका जात्रा तथा पर्वहरूको महत्त्व परम्परागत बाजागाजासँग अभिन्न रूपमा जोडिएको उल्लेख गर्दै देवराज डंगोलले धिमे बाजा र अन्य सांस्कृतिक समूहलाई संरक्षण गर्नु आवश्यक रहेको बताए। यही उद्देश्यले नायः खीं बाजा खलःलाई समेत रु. २ लाख ५० हजार प्रदान गरिएको उनले जानकारी दिए। आर्थिक सहयोगले बाजा खलःका सदस्यहरूलाई थप उत्साह मिल्ने र परम्परालाई निरन्तरता दिन प्रेरणा प्राप्त हुने उनको विश्वास थियो।

    उनका अनुसार, कतिपय बाजा खलःका सदस्य बिरामी पर्दा उपचार खर्च जुटाउनसमेत कठिन हुने अवस्था छ। त्यस्ता सदस्यहरूलाई उपचारमा सहयोग गरिएको जानकारी दिँदै उनले सांस्कृतिक समूहको संरक्षण केवल बाजा बजाउने परम्परालाई निरन्तरता दिनु मात्र नभई त्यसमा आबद्ध व्यक्तिहरूको सुखदुःखमा साथ दिनु पनि भएको बताए।

    टोखा आफ्नै मौलिक जात्रा, पर्व, दाफा, धिमे तथा अन्य परम्परागत बाजागाजाका कारण विशिष्ट सांस्कृतिक पहिचान बोकेको ऐतिहासिक बस्ती हो। तर, समयसँगै गुठीको आर्थिक अवस्था कमजोर हुनु, परम्परागत सम्पत्तिको संरक्षणमा चुनौती देखिनु र नयाँ पुस्ताको सहभागिता घट्दै जानुले सांस्कृतिक निरन्तरतामाथि प्रश्न उठाएको छ।

    यस्तो अवस्थामा बाजा खलःलाई आर्थिक सहयोग र सम्मान प्रदान गर्नु सकारात्मक कदम भए पनि संस्कृतिको दीर्घकालीन संरक्षणका लागि पारदर्शी आर्थिक व्यवस्थापन, गुठीको सम्पत्ति संरक्षण, नियमित प्रशिक्षण तथा युवापुस्ताको सक्रिय सहभागिता सुनिश्चित गर्नु उत्तिकै आवश्यक देखिन्छ। परम्परालाई केवल जात्रा र पर्वका अवसरमा सीमित नराखी दैनिक सामाजिक जीवनसँग जोड्न सके मात्रै टोखाको मौलिक संस्कृति भावी पुस्तासम्म हस्तान्तरण हुन सक्नेछ।



    sancharchautari sancharchautari    
  • २६ आश्विन २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP