काठमाडौं, असोज २६ । दिवंगत पत्रकार पदम श्रेष्ठको व्यक्तित्व, कृतित्व, संघर्ष र सामाजिक योगदानलाई अभिलेखीकरण गरी प्रकाशित स्वर्गीय पदम श्रेष्ठ स्मृतिग्रन्थ आइतबार घटस्थापनाका दिन सार्वजनिक गरिएको छ।
स्वर्गीय पदम श्रेष्ठ स्मृतिग्रन्थ प्रकाशन समूहद्वारा आयोजित कार्यक्रममा काठमाडौंको टेकुस्थित पचली भैरव परिसरमा रहेको नेपाली लोकबाजा संग्रहालयमा स्मृतिग्रन्थ लोकार्पण गरिएको हो। श्रेष्ठको जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा उहाँको परिवारका सदस्य, पत्रकार, साहित्यकार, सामाजिक व्यक्तित्व तथा शुभेच्छुकहरूको उपस्थिति थियो।
८४ वर्षीय ज्येष्ठ पत्रकार प्रेमनाथ जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वर्गीय श्रेष्ठकी माता सीतादेवी श्रेष्ठ, धर्मपत्नी शिवा तामाङ र छोरी उपमा श्रेष्ठलगायत परिवारका सदस्यहरूको सहभागिता थियो।
नेपाली लोकबाजा संग्रहालयका संस्थापक रामप्रसाद कँडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा अतिथि तथा परिवारका सदस्यहरूको उपस्थितिमा स्मृतिग्रन्थ लोकार्पण गरिएको थियो। कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ, कामना प्रतिष्ठान शाखाकी अध्यक्ष भगवती तिमल्सिनाले गर्नुभएको थियो।
कार्यक्रममा पत्रकार एवं घोस्ट राइडर नेपालका संस्थापक कमल ढकालले स्मृतिग्रन्थमा समेटिएका विषयवस्तु, स्वर्गीय श्रेष्ठको व्यक्तित्व र उहाँले समाजमा पुर्याउनुभएको योगदानबारे चर्चा गर्नुभयो। त्यसैगरी पत्रकार कुमार रञ्जित, स्वर्गीय श्रेष्ठकी धर्मपत्नी शिवा तामाङ, सम्पादकमध्येका शम्भू श्रेष्ठ तथा रसिला तामाङले पनि उहाँसँग जोडिएका अनुभव र सम्झनाहरू प्रस्तुत गर्नुभएको थियो।
सूचक प्रकाशनका दीपक भेटवालले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा सभापति प्रेमनाथ जोशीले समापन मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको प्रारम्भमा एक मिनेट मौनधारण गर्नुका साथै राष्ट्रिय गान प्रस्तुत गरिएको थियो।
स्वर्गीय पदम श्रेष्ठको जीवनयात्रा, व्यक्तित्व, सामाजिक सम्बन्ध, संघर्ष र योगदानलाई समेटेर तयार पारिएको स्मृतिग्रन्थमा उहाँलाई नजिकबाट चिन्ने व्यक्तिहरूका लेख, संस्मरण तथा श्रद्धाञ्जली समावेश गरिएका छन्। पुस्तकले उहाँका अनुभव, सम्झना र सिर्जनात्मक योगदानलाई भावी पुस्तासम्म पुर्याउनुका साथै नेपाली पत्रकारिता तथा समाजमा उहाँले पुर्याउनुभएको योगदानको अभिलेख सुरक्षित राख्ने अपेक्षा गरिएको छ।
स्मृतिग्रन्थ प्रकाशनका लागि सहयोग पुर्याउने पाथीभरा प्रतिकृति मन्दिरका कोषाध्यक्ष पूजन बस्नेत, बेखराम बलामौ, भगवती तिमल्सिना, कमल ढकाल, विजय महर्जनलगायत सहयोगी तथा शुभेच्छुकहरूप्रति प्रकाशन समूहले आभार व्यक्त गरेको छ।
स्वर्गीय पदम श्रेष्ठको जीवन र योगदानलाई दस्तावेजीकरण गर्दै नयाँ पुस्तालाई उहाँको व्यक्तित्व र सामाजिक भूमिकाबारे परिचित गराउने उद्देश्यले स्मृतिग्रन्थ प्रकाशन गरिएको प्रकाशन समूहले जनाएको छ।
प्रतिक्रिया